दलका शीर्ष नेता सुदूरपश्चिम केन्द्रित, कसको चुनावीसभा कहिले?

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकएसँगै शीर्ष नेताहरू चुनावी आमसभालाई सम्बोधन गर्न देश दौडाहमा छन् । शीर्ष नेताहरू विशेषगरी सुदूरपश्चिम केन्द्रित भएका छन् । 

प्रधानमन्त्री एवं नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवा एक सातादेखि सुदूरपश्चिममै छन् । उनले १७ गतेदेखि २० गतेसम्म आफ्नो गृह जिल्ला डडेल्धुराका विभिन्न सात ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । 

प्रधानमन्त्री देउवा तीन दिनदेखि धनगढीस्थित निवासमै बसिरहेका छन् । उनले दैनिक नेताकार्यक्रतालाई भेटेर चुनावी माहोलसँगै असन्तुष्टहरूलाई फकाइरहेका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज दार्चुला, बैतडीसँगै कैलालीको सुखडमा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आउँदैछन् । उनी प्रधानमन्त्री देउवासँगै ती चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि बुधबार दार्चुला र बैतडीमा आयोजित गठबन्धनको सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आउने एकीकृत समाजवादी कैलालीका अध्यक्ष भैरव रावलले जानकारी दिए । आज प्रधानमन्त्री देउवाले दार्चुला, बैतडी र कैलालीको सुखडमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही १८ गते दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेका थिए । सोही दिन उनले बैतडी र कञ्चनपुरका आमसभालाई पनि सम्बोधन गरे ।



ओली फेरि २६ कात्तिक सुदूरपश्चिम आउने कार्यक्रम तय भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठकका अनुसार सो दिन ओलीले तीनवटा आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । ओलीले २६ कात्तिक डोटीको दीपायलमा हुने आमसभा, सोही दिन २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । 



  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार ९:१६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया