चरित्र हत्या गरेको भन्दै विमलेन्द्र, अनिल र परमेश्वरविरुद्ध निर्वाचन कार्यालयमा उजुरी

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा धनुषा क्षेत्र नम्बर–३ बाट सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उजुरी परेको छ । नेपाली कांग्रेसका पूर्वउपसभापति तथा समानुपातिक उम्मेदवार विमलेन्द्र निधिलगायतको उम्मेदवारी खारेजीको माग गरिएको हो ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार अनिल कुमार झा र प्रदेश ३ (ख) का उम्मेदवार परमेश्‍वर साहविरुद्ध पनि प्रदेश निर्वाचन कार्यालयमा उजुरी परेको छ । गत आइतबार जनकपुरधामस्थित विद्यापति चोकमा सम्पन्न विद्यापति स्मारक पर्वमा प्रमुख अतिथिको रूपमा कांग्रेस पूर्वउपसभापति निधि, विशिष्ट अतिथिमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार झा र ३ (ख)का प्रदेशसभा सदस्य पदका उम्मेदवार साह सहभागी थिए ।

उनीहरूले निर्वाचनको बेलामा सम्मान गरेर कार्यक्रममा बोलाउँदा पार्टीको नारा लगाएर आचारसंहिता उल्लंघन गरेको भन्दै विद्यापति स्मारक पर्वका संरक्षक चन्द्रमोहन चौधरीले निर्वाचन कार्यालयमा उजुरी दिएका हुन् । 

चौधरीले गठबन्धनका उम्मेदवारहरुले भिडियो क्लिप बनाएर सामाजिक सञ्जालमा शेयर गरी आफ्नो चरित्र हत्या गरेको चौधरीले दर्ता गराएको उजुरीमा उल्लेख छ । चौधरीले उनीहरूको उम्मेदवारी खारेजी हुनुपर्ने मागसमेत गरेका छन् । 

चौधरीले सो कार्यक्रम राजनीतिक उद्देश्य अथवा प्रचारप्रसार गर्ने उद्देश्यले नभएको र सो कार्यक्रममा आफूलाई समितिको पूर्वसंयोजकको हैसियतले आमन्त्रण गरिएको बेलामा कार्यक्रमको दृश्य, तस्बिर लगायतलाई भिडियो रिमिक्स बनाएर आफ्नो पार्टी र गठबन्धनको प्रचारप्रसारमा प्रयोग गरेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए । 

उनले भने, ‘म एउटा स्वतन्त्र व्यक्ति हुँ । त्यो कार्यक्रममा म पनि उपस्थित थिएँ । तर, म सहभागी भएको केही दृश्यहरूलाई उनीहरूले रिमिक्स भिडियो बनाएर मेरो चरित्र हत्या गर्ने प्रयास गरि निर्वाचनको निम्ति प्रचारप्रसार गरियो । यसप्रति म खेद व्यक्त गर्दछु ।’





  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १२:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया