वृद्धाश्रममा रहेका ‘बा-आमा’को छैन मतदानमा चासो

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन, २०७९ ले वीरेन्द्रनगर स्थित प्रशान्ती वृद्धाश्रममा आश्रय लिइरहेका वृद्ध–वृद्धालाई छोएन । यहाँ आश्रित वृद्ध–वृद्धाहरूले निर्वाचनमा मतदान गरेनन् । आश्रममा हालको समयमा २६ जना वृद्ध वृद्धाले आश्रय लिइरहेका छन् । 

जसमध्ये ११ जना महिला र १५ जना पुरुष छन् । उनीहरू मध्य केहीले यस अघि नै मतदाता परिचय पत्र समेत बनाएका थिए । वीरेन्द्रनगरबाटै मतदान गर्न पाउने अधिकार भएकाले समेत यस अघि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा मतदान गरेनन् ।

हालको समयमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आश्रममा कुनै उत्साह समेत छैन । अहिले आफैसँग नागरिकता साथमा राखेका तथा यसअघि मतदान नामावलीमा नाम समावेश भएका मतदाताहरू समेत आश्रममा नभएका होइनन् । कुल २६ जना मध्य ६ जनासँग हाल साथमै नागरिकता छ । यसका साथै मतदाता नामावलीमा समेत उनीहरू समावेश भएका छन् ।

दैलेख स्थायी ठेगाना भएका वृद्ध खड्कप्रसाद आचार्यसँग अहिले आफ्ना कागजपत्र समेत केही छैनन् । ६३ वर्षीय आचार्यले जीवनकालको धेरै समय भारतमा नै बिताए । उनी भन्छन्, ‘भोट हाल्ने कागजपत्र बनाएको थिए । अहिले साथमा छैन । कागजपत्र भेट्टाउन पाएको भए मतदान गर्ने थिए ।’

यसै गरी रामेछाप घर बताउने विष्णु तिवारीसँग पनि मतदानका लागि कागजपत्रको कमी छ । यस अघि उनले रामेछापबाट मतदान गरेको सम्झिन्छिन्, ‘घरमा हुँदा भोट हालेको हो । भूकम्पपछि सबै कागजपत्र कता गए, कता । अहिले आफूसँग नागरिकता नै यहाँ छैन । कसरी भोट हाल्ने ?’

वीरेन्द्रनगर नगरपालिका स्थायी ठेगाना रहेकी र हाल आश्रममा आश्रय लिइरहेकी लक्ष्मी सुनार भन्छिन्, ‘पहिला पहिला भोट त हालियो । अव बुढाबुढी भयौँ । कागज पनि कता हराए कता ।’ लक्ष्मी अहिले ७८ वर्षकी भइन् । 



यसै गरी दैलेख स्थायी ठेगाना रहेका डम्मरबहादुर बुढासँग पनि मतदाता परिचय पत्र छ । ८० वर्षीय बुढाले यसअघिका धेरै निर्वाचन देखे, केहीमा मतदान पनि गरे । तर अहिले भने उनमा मतदान गर्ने उत्साह छ तर उनले सम्भावना भने देखेका छैनन् । उनी भन्छन्, ‘यहीबाट भोट हाल्न पाए हुन्थ्यो । अव कसरी व्यवस्था होला र ?’

प्रशान्ती वृद्धाश्रमकी उपाध्यक्ष शितलसिं राठौर भन्छिन्, ‘आश्रममा रहनुभएका वुवा–आमाहरू सबैसँग मतदाता परिचय पत्र नै छैन । केहीसँग मात्र नागरिकता तथा मतदाता परिचयपत्र छ, भएकाहरूलाई पनि मतदानमा सहभागी गराउन पाएका छैनौँ ।’



यस विषयमा निर्वाचन आयोगसँग छलफल समेत भएको राठौर बताउँछिन् । आयोगको सुर्खेत कार्यालयले आश्रममा धेरै संख्यामा मतदाता रहेको अवस्थामा सोही स्थानमै मतदान गराउने व्यवस्था गरिने सक्ने जनाएको थियो । तर ६ जना मात्र मतदाता रहेकाले आयोगले समेत सहयोग गर्न नसकिने जनाएको उनले बताइन् । उनले भनिन्, ‘हामीले यस अघि उहाँहरूको कागजपत्र खोजीका लागि पनि पहल गरेका थियौँ । विभिन्न जिल्लाहरूका जिल्ला प्रशासन कार्यालयमा नागरिकताको खोजी गर्नु हाम्रा लागि कठिन कार्य भयो । फेला पार्न सकिएन । यसका लागि आवश्यक जनशक्ति तथा आर्थिक पनि हामीसँग भएन ।’

आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा आश्रममा रहेका नागरिकलाई समानुपातिक तर्फको मतदान गर्न पाउने अधिकार रहन्छ । मतदाता नामावली भएकै स्थान भए प्रत्यक्ष, नभए समानुपातिक मत दिने अधिकार छ । तर हाल उनीहरू सबैले मतदानको अधिकार पाएका छैनन् ।

सामाजिक सेवामा जोडिएको आश्रमलाई अर्को समस्या पनि छ, वृद्ध वृद्धालाई मतदान गराउँदा संस्थाप्रति आउन सक्ने आक्षेप । निर्वाचनका समयमा आश्रमका वृद्धवृद्धाहरु मतदानमा सहभागी हुँदा एकै चुनाव चिन्हमा मतदान हुने अथवा उनीहरूको मत प्रभावित हुनसक्ने शंका संस्थाले देखेको छ । राठौरले भनिन्, ‘बुवा–आमाले मतदान गर्दा पनि हामीलाई हेर्ने सामाजिक नजर फरक हुनसक्छ । आरोपहरु खेप्नुपर्ने अवस्था पनि सृजना नहोला भन्न सकिन्न । तर अधिकारका सवालमा भने सबै बुवा–आमाको मतदान अधिकार गुमेको देखिन्छ ।’

यता अनौपचारिक सेवा केन्द्र (इन्सेक), सुर्खेतका कार्यक्रम संयोजक नारायण सुवेदी भने सम्बन्धित पक्षले नागरिकको मतदान अधिकारको संरक्षण गर्नुपर्ने धारणा राख्छन् । कारागारमा रहेका कैदी वन्दी, आश्रममा रहेका नागरिक, बिरामीहरूलगायत सबैले मतदानको अधिकार उपयोग गर्न पाउनुपर्छ । यसका लागि निर्वाचन आयोग जिम्मेवार रहने उनले बताए ।
प्रशान्ती वृद्धाश्रममा आश्रय लिइरहेका वृद्ध वृद्धा सबैको एउटै आह्वान छ, ‘इमानदार नेतालाई भोट देऊ ।’

आश्रममा आश्रय लिइरहेका डम्मरबहादुर बुढाले भने, ‘नेताहरूले काम गरेका छैनन् भनेर निराश हुनुपर्दैन । काम राम्रो भएको छ । भोट दिँदा जनताको दुःख बुझ्नेलाई भोट दिनुपर्छ । हाम्रा पाला भन्दा अहिले धेरै राम्रो भएको छ । अहिलेका केटाकेटी बाठा छन् ।’ 

यसै गरी अर्की वृद्धा लक्ष्मी सुनार भन्छिन्, ‘बिरामी भएका वेला हेर्ने मान्छे चाहियो । र यो जमानामा सबैले पढ्नुपर्छ, सुख सुविधा चाहियो, दुःखी–गरिबलाई हेर्ने नेता चाहिन्छ, नानी । हाम्रा उमेर त घाँस पातमै गए ।’ कुनै प्रलोभनमा नपरी इमानदार उम्मेदवारलाई मतदान गर्न वृद्धवृद्धाहरुको अपिल थियो ।

नामावली भएकालाई मतदानको व्यवस्था
प्रशान्ती वृद्धाश्रममा आश्रय लिइरहेका नागरिक मध्य मतदाता नामावली भएका वृद्ध–वृद्धालाई मतदानमा सहभागी गराइने निर्वाचन आयोगले जनाएको छ । 

आयोगको सुर्खेत स्थित प्रदेश निर्वाचन कार्यालयका प्रदेश निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले भने, ‘मतदाता नामावलीमा नाम भएकाहरूलाई मतदानको व्यवस्था गरेका छौ । उहाँहरूले समानुपातिक तर्फ मतदान गर्न पाउनुहुनेछ ।’आश्रम नजिकैको मतदान केन्द्र मार्फत मतदान गर्न सकिने उनले जानकारी दिए ।

  • प्रकाशित मिति : कात्तिक २३, २०७९ बुधबार १३:५०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया