बेल्जियमको स्वर्णिम पुस्तालाई कतारमा हुने फिफा विश्वकप अन्तिम मौकाको रूपमा लिइएको छ । मिडफिल्डर केभिन डि ब्रुएनाले कतार विश्वकप आफ्नो लागि अन्तिम हुने सक्ने बताइसकेका छन् । त्यसैले उत्कृष्ट खेलाडी सम्मिलित बेल्जियन टोलीका लागि यो अन्तिम अवसरको रूपमा रहनेछ ।
उत्कृष्ट खेलाडीको साथ पाएर फिफा वरीयतामा शीर्ष स्थानसम्म पुगेको बेल्जियम अहिलेसम्म ठूला अन्तर्राष्ट्रिय उपाधिविहीन रहँदा उसलाई‘अन्डरएचिभर्स’को ट्याग लाग्दै आएको छ ।
डि ब्रुएना,थिबाउट कोर्टुवा, इडेन हाजार्ड र रोमेलु लुकाकु जस्ता स्टार खेलाडीले भरिएको बेल्जियम २० नोभेम्बरबाट कतारमा सुरु हुने फिफा विश्वकपको २२ औं संस्करणको उपाधि दाबेदारमध्ये एक हो । तर, उसले आफ्नो स्तरअनुसारको प्रदर्शन भने गर्न सकेको छैन ।
सन् २०१२ मा नेदरल्यान्ड्सलाई ४–२ ले हराएर अन्तर्राष्ट्रिय मञ्चमा उदाएको यो पुस्ताले करिब एक दशकसँगै खेलिसकेको छ । २०१४ को विश्वकपमा अर्जेन्टिनासँग १–० ले पराजित हुन पुग्दा बेल्जियमको यात्रा क्वार्टरफाइनलबाटै अन्त्य भएको थियो ।
चार वर्षपछि विश्वकपको सेमिफाइनलमा फ्रान्ससँग १–० पराजित भएको बेल्जियमले इंल्याण्डलाई २–० ले हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । योनै रेड डेभिल्सका लागि हालसम्मको उच्च प्रदर्शन हो ।
उपाधि जित्न सक्ने टोली मानिए पनि ऊ २०१६ र २०२० मा युरोकपको क्वार्टरफाइनलबाटै बाहिरियो । दाबेदारको रूपमा स्वाभाविक प्रदर्शन गर्न नसकेपछि बेल्जियम कम उपलब्धि हात पार्ने टोली गनिन्छ ।
बेल्जियमका पूर्वप्रशिक्षक जर्ज लिकेन्सले रोबर्टो मार्टिनेजको टोलीको मानसिकतामाथि नै प्रश्न उठाएका छन् । ‘उपाधिबिनै हामी फिफा वरीयतामा पहिलो स्थानमा पुग्यौँ । तर, यो पहिलो वरीयताको कुनै अर्थ छैन,’लिकेन्सले भने ।
‘जब तपाईँ केही गर्न हिम्मत गर्नुहुन्न, तपाईँसँग केही पनि छैन । यो मानसिकता र यो जित्ने इच्छा मार्टिनेजको समूहमा अवस्थित छैन’, उनले थपे । बेल्जियमका प्रायः खेलाडी अहिले ३० वर्षको आसपासमा छन् त्यसैले यो विश्वकप स्वर्णिम पुस्ताका धेरै खेलाडीका लागि अन्तिम पनि हुसक्छ ।
उदीयमान प्रतिभाहरू लोइस ओपेन्डा, चार्ल्स डे केटेलेर र अमाडो ओनाना बेल्जियमको उज्ज्वल भविष्य हुन् । डि ब्रुएना,हाजार्ड,कोर्टुवा,टोबी एल्डरवाएरल्ड, जान भर्टोनघन,एक्सल विट्सल र ड्राएस मर्टेन्सले २०२६ को विश्वकपसम्म सन्न्यास लिइसकेका हुनेछन् वा उनीहरूको खेल्ने सम्भावना कम भइसक्नेछ ।
बेल्जियमका कप्तान हाजार्ड आफ्नो टोलीका लागि कतार विश्वकप निर्णायक क्षण हुनसक्ने स्विकार्छन् । ‘सधैं सुनौलो पुस्ताको कुरा हुन्छ र यसमा केही सत्यता पनि छ । हामीले लगभग १० वर्षसँगै बितायौँ,’ २०१५ देखि टोलीको कप्तान रहेका हाजार्डले भने ।
‘यसमा कुनै शंका छैन हामीसँग अविश्वसनीय पुस्ताका खेलाडीहरू छन्, तर हामीले अझै पनि केही जित्न सकेका छैनौँ । यदि सुनौलो पुस्ताको उपनामलाई वास्तवमै न्याय गर्ने हो भने, मलाई लाग्छ कि हामीसँग उपाधि जित्नुको कुनै विकल्प छैन’, उनले थपे ।
बेल्जियमको प्रशिक्षकको रूपमा आफ्नो छैटौँ वर्षमा रहेका मार्टिनेजले डि ब्रुएनाले अर्को विश्वकप खेल्न सम्भावना बताउँदै गर्दा टोलीका अन्य खेलाडीमा एकताको भावना थप्ने आशा राखेका छन् ।
म्यानचेस्टर सिटीका यी मिडफिल्डरले आफ्नो परिवारलाई कतार लैजाने छन् । उनले कम्तीमा एकपटक परिवारलाई आफूले विश्वकप खेलेको देखाउने चाहेको बताए ।
‘मेरो परिवार विश्वकप हेर्नका लागि जाँदैछ । अहिले म ३१ वर्षको छु र मलाई थाहा छैन कि चार वर्षमा के हुन्छ । मेरो बच्चाहरूले पहिलोपटक विश्वकपमा मैले खेलेको हेर्नछन्’, ब्रुएनाले भने ।
क्यानडा,मोरक्को र क्रोएसियासँगै विश्वकपको समूह ‘एच’ मा रहेको बेल्जियमले २४ नोभेम्बरमा क्यानडासँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।