स्वतन्त्र उम्मेदवारी त्यागेर तीन सय समर्थकसहित हिन्दू एजेण्डा बोकेको राप्रपामा प्रवेश गरे नवाब मुसलमान

रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार नवाब मुसलमान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

बिहीबार भैरहवामा आयोजित एक कार्यक्रमकाबीच राप्रपा वरिष्ठ नेता, पूर्वमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपक बोहरा, पूर्व गृहमन्त्री निरञ्जन थापा, राप्रपा रुपन्देहीका जिल्ला अध्यक्ष सागर प्रताप राणाले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ निवासी स्वतन्त्र उम्मेदवार नवाब मुसलमानको नेतृत्वमा उनका तीन सयजना समर्थक राप्रपामा प्रवेश गरेको राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीका अध्यक्ष शंकर खत्रीले बताए ।

सोमबार लोसपा त्याग गरी पूर्वमन्त्री कल्पना पाण्डेले तीन दलीय तालमेलको तर्फबाट साझा उम्मेदवार रहेका राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जसपा नेता महेन्द्र यादव र एमाले नेता तुलसी चौधरीलाई समर्थन गरेकी थिइन् । 

आज स्वतन्त्र उम्मेदवार मुसलमानले पनि दीपक बोहोराको टिमलाई समर्थन गरेका छन् । मुसलमान भैरहवा क्षेत्रका मुस्लिम समुदायमा राम्रो प्रभाव भएका अगुवाको रूपमा परिचित छन् । 

उनले राप्रपा प्रवेश गरी आफ्नो समर्थन बोहोरासहितको तीनदलीय टिमलाई हुने बताए । उनले भने, ‘म पनि चुनावी मैदानमा थिएँ, तर घर दैलोमा जाँदा, बुझ्दै जाँदा दीपक बोहोराजत्तिको राम्रो र विकासप्रेमी नेता कोही छैन भन्ने यकिन गरेँ । सबैले दीपक बोहोरालाई जिताउन लागेको थाहाँ पाए, अनि सोचे जसले जित्दै छ, त्यसलाई सहयोग गर्न यो राप्रपा प्रवेश गरेको हुँ ।’मुसलमानलाई राप्रपाका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा, राप्रपा सल्लाहकार समितिका अध्यक्ष तथा पूर्वगृहमन्त्री निरन्जन थापा, पार्टीका जिल्ला अध्यक्ष सागरप्रताप राणाले माला, टीका लगाएर स्वागत गरेका थिए । ​





  • प्रकाशित मिति : कात्तिक २४, २०७९ बिहीबार २१:४६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया