राष्ट्रसंघले लेबनानको हैजा नियन्त्रणका लागि करिब ९५ लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ । लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसंघको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो ।
राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले सो सहयोग उपलब्ध गराएको बिहीबार जनाएको छ । आपतकालीन सहयोग अन्तर्गत सो सहयोग उपलब्ध गराइएको राष्ट्रसङ्घीय मानवीय सहायतासम्बन्धी एजेन्सीले जनाएको छ ।
केही हप्तायतादेखि लेबनानमा हैजाको प्रकोप बढ्दै गएको छ । सो प्रकोपको नियन्त्रणका लागि खानेपानीको व्यवस्था, सरसरफाइ एवं औषधि उपचारका लागि लेबनानले आर्थिक सहयोगको याचना गरेको थियो ।
बिहीबार उपलब्ध गराइएको सो सहयोगबाट लेबनानका कम्तीमा पनि १५ लाख मानिसलाई हैजाको प्रकोपबाट जोगाउने काममा प्रयोग गरिने बताइएको छ । लेबनानमा केही हप्तायता देखिएको हैजाबाट चार सय ९० जना विरामी देखिएका छन् ।
साथै, यस प्रकोपबाट यहाँ कम्तीमा पनि १८ जनाको ज्यान गएको बताइएको छ । यहाँ गएको अक्टोबर ६ मा चार जनामा पहिलो पटक हैजाका किटाणु भेटिएका थिए । त्यसयता यहाँ हैजाको सङ्क्रमण फैलिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।