सुकुम्वासी बस्तीमा डोजर चलाउनु हुँदैन : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सुकुम्वासी बस्तीमा डोजर चलाउन नहुने बताएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका नेता सिंहले काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउनु नहुने बताएका हुन् ।

उनले आइतबार थापाथलीस्थित सुकुम्वासी बस्तीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सुकुम्वासी बस्ती हटाउन अमानवीय रूपमा जबरजस्ती गर्न नहुने बताए ।

नेता सिंहले सरकारले सुकुम्वासीहरूको समस्या समाधान गर्नका लागि सरकारले भूमि आयोग गठन गरेको उल्लेख गर्दै सो आयोगको प्रतिवेदन आएपछि सरकारले बनाउने नीति, कार्यक्रम लागू गराउन आफू प्रतिबद्ध रहेको पनि बताए । उनले अव्यवस्थित बसोवास हटाउने हो भने सरकारले निश्चित कार्यक्रम ल्याउनुपर्ने बताए ।   

‘योभन्दा अगाडि पनि मैले भनेको छु, अमानवीय दृष्टिकोणबाट हामी कसैले पनि आफू सत्तामा छ भनेर जबरजस्ती कसैले गर्न मिल्दैन भन्नेकुरा अहिले पनि म भन्छु । भूमि आयोगको प्रतिवेदन आइसकेपछि त्यसमा भूमिहीनहरूलाई नेपाल सरकारले जुन नीति, कार्यक्रम बनाउँछ त्यो कार्यक्रमलाई लागू गराउनको लागि म त्यसमा लाग्नेछु भन्नेकुरा विश्वास दिलाउन चाहन्छु । तपाइँहरूलाई थाहा छँदैछ, योभन्दा अगाडि पनि यहाँ डोजरहरू नल्याएको होइन, ल्याएको छ,’ सिंहले भने, ‘कहिले वागमती सर्वाधिकार सम्पन्नले ल्याउँछ, कहिले कसले ल्याउँछ । तर मेरो भनाइ के हो भने यो बसोवासलाई उठाउने काममा कि सरकारले नीति र निश्चित कार्यक्रम ल्याउनुपर्‍यो । होइन भने कहिले ल्याउने, भत्काउने, फेरि चुप लागेर बस्ने त्यस्तो गर्न मिल्दैन । समस्याको स्थायी समाधान गर्नको लागि नीति, कार्यक्रम बनाएर गर्नुपर्छ भन्नेमा मैले जोड दिइरहेको छु ।’ 

उनले ४ मंसिरको चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने बताए । नेता सिंहले संविधान कार्यान्वयनका लागि सामान्य अवस्था नआउन्जेल गठबन्धनलाई निरन्तरता दिइने पनि उल्लेख गरे ।

‘कांग्रेसको नेतृत्वमा जुन गठबन्धन छ, यो गठबन्धनकै सरकार बन्छ । विधि र प्रक्रिया पूरा गरेर हामी संविधानलाई कार्यान्वयन गर्नका लागि आवश्यक संघीय कानुन बनाएर, तीन वटै तहको सरकारलाई सबैको अधिकारहरू बाँडफाँट गरेर दिने कानुन बनाएर लग्नका लागि, संविधान रक्षाको लागि बनेको यो गठबन्धन हो । संविधान कार्यान्वयन गर्नका लागि र सामान्य अवस्था नआउन्जेलसम्मका लागि यो गठबन्धनलाई निरन्तरता दिएर धेरैपछि आ–आफ्नो बाटोमा, आ–आफ्नो एजेन्डा अनुसार जाला,’ कार्यक्रम सकिएपछि न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सिंहले भने । 
 
उनले निर्वाचनपछिको संसदबाट देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि आवश्यक कानुनको सुधार तथा परिमार्जन गरिने बताए । नेता सिंहले सार्वजनिक सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउनका लागि जोड दिइने पनि बताए ।  





  • प्रकाशित मिति : कात्तिक २७, २०७९ आइतबार १२:३७:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया