नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रवक्ता महतले निर्वाचनपछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहोर्याए । मुलुकको समृद्धि, विकास र रोजागारीको आकांक्षालाई सम्बोधन हुने गरी आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्ने आफूहरुको लक्ष्य रहेको उनकाे भनाइ थियो ।
नेकपा (एमाले)ले खुलेआम निर्वाचन आचारसंहिताको उल्लंघन गरेको आरोप लगाउँदै उनले कारबाही गर्न पनि निर्वाचन आयोगसँग माग गरे । पार्टीका प्रवक्ता महतले निर्वाचन आचारसंहिताको खिलाफमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाको दुरुपयोग गर्ने काम गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।
प्रवक्ता महतले नेपाली कांग्रेसले भने निर्वाचन आचारसंहिताको अक्षरशः पालना गरिरहेको जिकिर गरे । एमालेले जारी गरेको चुनावी घोषणा पत्रमा सपना मात्रै बाँडिएको उनकाे भनाइ थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।