निर्वाचनका लागि मधेस प्रदेशमा ३३ हजार कर्मचारी र ३७ हजार प्रहरी खटिए

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश निर्वाचन कार्यालयले मधेस प्रदेशमा ३३ हजार ८८० जना कर्मचारी खटाएको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार प्रदेशका ४ हजार २३५ मतदान केन्द्रमा ८ जनाको हिसाबले कर्मचारी खटाइएको हो । 

८ जनामध्ये प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ५ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन् । मतदाता संख्याको आधारमा प्रत्येक मतदान केन्द्रका मतदान अधिकृतले ३ देखि ४ जनासम्म स्वयंसेवकसमेत खटाउन पाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधर पन्थीले जानकारी दिए । 

जिल्लागत हिसाबले सप्तरीका ५३६ मतदान केन्द्रमा ४ हजार २८८ कर्मचारी तोकिएका छन् । जिल्लामा २ लाख १७ हजार २८२ पुरुष, २ लाख १ हजार ७१ महिला र अन्य २१ गरी जम्मा ४ लाख १८ हजार ३७४ मतदाता रहेका छन् । 

त्यस्तै, सिरहाका ५०५ मतदान केन्द्रका लागि ४ हजार ४० कर्मचारी तोकिएका छन् । सिरहामा २ लाख २४ हजार ९९ पुरुष, १ लाख ९८ हजार ६११ महिला र अन्य २ गरी जम्मा ४ लाख २२ हजार ७१२ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 
धनुषामा ६०५ मतदान केन्द्रमा ४ हजार ८४० कर्मचारी खटाइएका छन् । यस जिल्लामा २ लाख ५२ हजार ९१५ पुरुष, २ लाख २१ हजार ६६५ महिला र अन्य ७ गरी कूल ४ लाख ७४ हजार ५८७ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका हुन् ।
 
महोत्तरीका ४९९ मतदान केन्द्रमा ३ हजार ९९२ कर्मचारी खटेका छन् । जिल्लामा २ लाख १५ हजार १३१ पुरुष, १ लाख ८१ हजार ८९८ महिला र अन्य एक जना गरी कूल ३ लाख ९७ हजार ३० मतदाता कायम भएका छन् । 

उता, सर्लाहीमा भने ६०० मतदान केन्द्रमा ४ हजार ८०० कर्मचारी खटिएका छन् । जहाँ २ लाख ५९ हजार ४१४ पुरुष, २ लाख १९ हजार ६१४ महिला र १० जना अन्य गरी जम्मा ४ लाख ९७ हजार ३८ मतदाता रहेका छन् । 

त्यस्तै, रौतहटका ५२३ मतदान केन्द्रमा ४ हजार १८४ कर्मचारी खटिएका छन् । जिल्लामा २ लाख २७ हजार २२९ पुरुष, १ लाख ८८ हजार २५५ महिला र एक जना अन्य गरी जम्मा ४ लाख १५ हजार ४५५ जनाले आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् । 



बारा जिल्लामा भने ५५५ मतदान केन्द्रमा ४ हजार ४४० कर्मचारी खटेका छन् । यस जिल्लामा २ लाख ३६ हजार ८८० पुरुष, १ लाख ९६ हजार ६१२ महिला र १२ जना अन्य गरी कूल ४ लाख ३३ हजार ५०४ जनाले मतदान गर्ने भएका छन् । 

त्यस्तै, पर्सा जिल्लामा भने ४१२ मतदान केन्द्रमा ३ हजार २९६ कर्मचारी मार्फत १ लाख ९४ हजार ९०४ पुरुष, १ लाख ५१ हजार ८ महिला र १६ अन्य मतदाता गरी कूल ३ लाख ४५ हजार ९२८ जनाले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने भएका छन् ।



यस प्रदेशमा जम्मा ३३ लाख ८६ हजार ६२८ मतदाता रहेका छन् । प्रदेशका ३२ प्रतिनिधिसभा तथा ६४ प्रदेशसभा निर्वाचन क्षेत्रका लागि मंसिर ४ गते हुन लागेको निर्वाचनमा १८ लाख २७ हजार ८५४ पुरुष, १५ लाख ५८ हजार ७०४ महिला र ७० जना अन्य मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको हो । 

आसन्न निर्वाचनका लागि यस प्रदेशमा २ हजार १५६ मतदान स्थल र ४ हजार २३५ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख पन्थीले जानकारी दिए । ​


मुख्य निर्वाचन र निर्वाचन अधिकृतहरू को कहाँ ?

आसन्न निर्वाचनका लागि मधेस प्रदेशका आठवटै जिल्लाका ३२ निर्वाचन क्षेत्रमा ८ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृत र उपसचिव तथा उपरजिष्ट्रारहरूलाई निर्वाचन अधिकृत तोकिएको छ । 

सप्तरीमा जिल्ला अदालतका जिल्ला न्यायाधीश हेमन्त रावललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर–२ मा बस्नेछन् । त्यस्तै, निर्वाचन अधिकृतहरूमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का लागि प्रशासकीय अदालतका उपरजिष्ट्रार धनेन्द्र अधिकारी, क्षेत्र नम्बर–३ का लागि सर्वोच्च अदालतका इजलास अधिकृत मदनप्रसाद पराजुली र क्षेत्र नम्बर–४ का लागि राष्ट्रिय सूचना आयोगका उपसचिव विश्वबन्धु पौडेललाई तोकिएको छ । 

सिरहामा जिल्ला अदालतका जिल्ला न्यायाधीश काजीबहादुर राईलाई मुख्य निर्वाचन अधिकृत बनाइएको छ । उनी क्षेत्र नम्बर–३ मा रहनेछन् भने क्षेत्र नम्बर–१ का लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव लोकहरी बस्याल, क्षेत्र नम्बर–२ मा सर्वोच्च अदालतका उपरजिष्ट्रार कृष्णप्रसाद अधिकारी र क्षेत्र नम्बर–४ मा विशेष अदालतका उपसचिव दीपेन्द्रनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
 
धनुषामा भने धनुषा जिल्ला अदालतका जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर–३ को प्रतिनिधित्व गर्नेछन् । क्षेत्र नम्बर–१ मा कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयका उपसचिव उत्तमप्रसाद खरेल, क्षेत्र नम्बर–२ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला र क्षेत्र नम्बर–४ मा मुख्य न्यायाधिवक्ता कार्यालयका उपसचिव सुदिप कुमार दंगाललाई निर्वाचन अधिकृत बनाइएको छ । 

त्यस्तै, महोत्तरीमा जिल्ला अदालतका जिल्ला न्यायाधीश हेम बहादुर सेन मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । उनी क्षेत्र नम्बर–३ को प्रतिनिधित्व गर्नेछन् । क्षेत्र नम्बर–१ मा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव गुणराज श्रेष्ठ, क्षेत्र नम्बर–२ मा न्याय सेवा तालिम केन्द्रका उप तालिम प्रमुख अरुणकुमार झा र क्षेत्र नम्बर–४ मा विशेष सरकारी वकिल कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता दशरथ गौतमलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ ।

सर्लाही जिल्लामा जिल्ला अदालतका जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । उनी क्षेत्र नम्बर–२ मा उपलब्ध हुनेछन् । क्षेत्र नम्बर–१ मा सर्वोच्च अदालतका इजलास अधिकृत प्रदीपकुमार उपाध्याय, क्षेत्र नम्बर–३ मा जिल्ला सरकारी वकिल कार्यालय ताप्लेजुङका जिल्ला न्यायाधिवक्ता मोना सिंह र क्षेत्र नम्बर–४ मा सर्वोच्च अदालतका इजलास अधिकृत शम्भुप्रसाद बराललाई निर्वाचन अधिकृत तोकिएको छ । 

उता, रौतहटमा भने रौतहट जिल्ला अदालतका जिल्ला न्यायाधीश मातृका मरासिनीलाई मुख्य निर्वाचन अधिकृतको रुपमा खटाइएको छ । उनी क्षेत्र नम्बर–१ म उपलब्ध हुनेछन् ।

त्यस्तै, क्षेत्र नम्बर–२ मा नेपाल कानून आयोगका उपसचिव राजन नेपाल, क्षेत्र नम्बर–३ मा न्याय परिषद् सचिवालयका उपसचिव मेघनाथ चापागाईँ र क्षेत्र नम्बर–४ मा सर्वोच्च अदालतका इजलास अधिकृत गुणराज पराजुलीलाई निर्वाचन अधिकृतको जिम्मेवारीमा खटाइएको छ ।

बारा जिल्लामा भने जिल्ला अदालत बाराका जिल्ला न्यायाधीश पूर्णेश्वर प्रसाद उपाध्यायलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । उनी क्षेत्र नम्बर–३ को प्रतिनिधित्व गर्नेछन् । क्षेत्र नम्बर–१ का लागि जिल्ला सरकारी वकिल कार्यालय बाराका जिल्ला न्यायाधिवक्ता कैलाश खत्री क्षत्री, क्षेत्र नम्बर–२ का लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बागमती प्रदेशका उपसचिव सुदर्शन ढकाल र क्षेत्र नम्बर–४ का लागि सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ । 

मधेस प्रदेशको पर्सामा जिल्ला अदालत पर्साका जिल्ला न्यायाधिश विनोदकुमार पोखरेललाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । उनी क्षेत्र नम्बर–१ मा उपलब्ध हुनेछन् । त्यस्तै, क्षेत्र नम्बर–२ मा जिल्ला सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता सुशिल देवकोटा, क्षेत्र नम्बर–३ मा जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता योगनाथ ढकाल र क्षेत्र नम्बर–४ मा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका उपरजिष्ट्रार रमेश श्रेष्ठलाई निर्वाचन अधिकृतको रुपमा खटाइएको हो ।

निर्वाचनको सुरक्षाका लागि कति जनशक्ति खटिए ?

यता, मंसिर ४ गते हुने निर्वाचनको सुरक्षाका लागि मधेस प्रदेशमा १२ हजार ९६५ जनपद् प्रहरी खटिएका छन् भने २४ हजारभन्दा बढी म्यादी प्रहरीलाई खटाइएको छ । यो संख्या आवश्यकता हेरेर बढाउन सकिने मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेशका आठवटै जिल्लामा २४ हजार ४३ म्यादी प्रहरी खटाइएको छ । जसमध्ये सबैभन्दा बढी धनुषामा ३ हजार ८८६ र सबभन्दा कम पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएका छन् ।

त्यस्तै, सप्तरीमा ३ हजार २७८, सिरहामा २ हजार ८०९, महोत्तरीमा २ हजार ८०१, सर्लाहीमा ३ हजार ३०७, रौतहटमा २ हजार ९३९, बारामा ३ हजार १४४ र पर्सामा २ हजार ७ जना म्यादी प्रहरी खटाइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सुमनकुमार तिमसिनाले जानकारी दिए ।

  • प्रकाशित मिति : कात्तिक २८, २०७९ साेमबार २०:३९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया