सरकारले राज्यकोष दुरुपयोग गरेर गलत समाचार र गलत तथ्यांकको साहाराले जनतामा भ्रम छरिरहेको छ : विष्णु रिमाल [अन्तर्वार्ता]

नेकपा एमालेका नेता विष्णु रिमालले गठबन्धनका नेताहरुले आफ्नो उम्मेदवारी किन भनेर जनतालाई स्पष्ट पार्न नसकिरहेको बताएका छन् । एमाले सानदार विजयको माहोलमा निर्वाचन प्रचारप्रसार गरिरहेको बताउँदै उनले गठबन्धनले आफू हार्ने देखेर सांघातिक आक्रमणमा उत्रिएको बताएका छन् । 

सरकारले राज्यकोष दुरुपयोग गरेर गलत समाचार र गलत तथ्यांकको साहाराले जनतामा भ्रम छरिरहेको उनको आरोप छ । आसन्न निर्वाचनको सन्दर्भमा  एमालेका नेता विष्णु​रिमालसँग गरिएको कुराकानीको सम्पादित अंश

निर्वाचनमा नेकपा (एमाले)को अवस्था कस्तो छ ? माहोल कस्तो छ देशभरको ?

अहिले हामी निर्वाचनको प्रचार तयारी र यसको उपलब्धिका लागि गरिरहेको कामको अन्तिम चरणमा पुगेका छौँ । देशभरिको माहोल हेर्दा एमालेको परिस्थिति राम्रो छ । राम्रोको अर्थ के हो भने विगतमा गठबन्धनले क्षति पुर्याउँछ र गठबन्धनका अगाडि एमालेले केही पनि गर्न सक्दैन भन्ने शक्तिहरु नै अहिले आफैँ नै एमाले माथि गयो भन्नेमा पुगेका छन् । त्यो हिसाबले हेर्दा हाम्रो पार्टी पंक्तिमा मनोबल एकदम बढेर गएको छ । 

धरातलीय यथार्थ पनि के छ भने गठबन्धनका मानिसहरुले आफ्नो जित्नुपर्ने कारणको न्यायोचित जवाफ दिन सकिरहेका छैनन् । जनताहरुले सोधिरहेका छन्, अब तपाईको नेता को हो ? गन्तव्य के हो ? विषय के हो ? उहाँहरुसँग त्यो एजेण्डा छैन । फरक–फरक पार्टी मिलेर गठबन्धन बनेको कारणले गर्दा उहाँहरुको फरक–फरक जवाफ छन् । कतिपय ठाउँमा ठिक जवाफ दिँदा गठबन्धनमा दरार आउने भएकाले उहाँहरु जवाफ दिनसक्ने तहमा हुनुहुन्न । त्यो स्थितिले हामीलाई लाभ पनि भएको छ । 

एमालेले आफ्नो नेता अगाडि सारेको छ । एमालेले एजेण्डा सारेको छ । अझ सरल भाषामा त हामीले पाँच वर्ष एमालेले गर्छ भनेर २० वटा ग्यारेन्टी नै अगाडि सारेका छौँ । जुन हाम्रो घोषणापत्रको संक्षेपीकरण जस्तै नै हो । त्यो हिसाबले सारमा भन्दा अहिले हामी अगाडि छौँ । र, अगाडि बढी नै रहेका छौँ । यदि बाहिर कसैले सर्वेक्षणकै कुरा गरेर जाने हो भने पनि अहिले गठबन्धनमा रहेको शक्तिहरुको पारो ओरालो लाग्ने र एमालेको पारो उकालो लाग्ने यो हिसाबले गइरहेको मैले देख्छु ।



हामीले विभिन्न विश्लेषणहरु सुनेका छौँ, एमाले कतै पछि पर्दै त छैन ? बाहिर आएको तथ्यांकलाई लिएर तपाईंहरुको विश्लेषण के हो ?

पहिलो कुरा त यो तथ्यांक आफैँमा नक्कली छ । किनभने सर्वेक्षण गर्नै पाइँदैन । सर्वेक्षण गर्ने भरपर्दा संस्थाहरुले पनि सर्वेक्षण गरेका भए पनि उनीहरुले आफ्नो सर्वेक्षणको प्रतिवेदन बाहिर ल्याउन पाउँदैनन् । सेयर गर्न नि पाउँदैनन् । अब सरकारका संयन्त्रले गरेका कुनै त्यस्तो सूचना छन् भने पनि ती संस्थाहरुले बाहिर ल्याउन पाउँदैनन् । 



मैले सुनेँ, गृहमन्त्री स्वयंलेसमेत राष्ट्रिय अनुसन्धानको सर्वेक्षण भनी नक्कली अंकहरु बाहिर ल्याएको मैले सुनेको छु । मेरो आफ्नो बुझाइमा मैले सत्तामा रहँदाखेरि, सरकारमा रहँदा भएका कामको अनुभवको आधारमा त्यस्ता संस्थाका कुनै पनि सूचना सेयरिङ हुँदैनन् । बाहिर सर्कुलर गर्न पनि पाइने होइन । त्यो त आचारसंहिताको कुरो पनि थियो । 

मलाई के लाग्छ भने गठबन्धनका साथीहरु पराजयको मानसिकताबाट आत्तिनुभएको छ । विभिन्न ठाउँमा हिंसा पनि बढिरहेको छ । केही मानिसहरु घाइते भइरहेका छन् विगत केही दिनदेखि र आक्रमणमा उत्रिएको छ, गठबन्धन । अरु कुनै दल उत्रेका छैनन् । व्यक्ति उत्रेका छैनन् । गठबन्धन उत्रिएको छ । अर्को दलको प्रचार टिममाथि आक्रमण गर्ने, अर्काको कार्यक्रममा जान नदिने र नक्कली सूचना बाहिर ल्याउने भनेको स्वतः आफैँमा के बुझ्नुपर्छ हामीले भने यो पराजयको कारणले हतास मनस्थितिले आएको कुराहरु बुझ्नुपर्छ । 

त्यसकारणले जे तथ्य, तथ्यांकहरु बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन् । त्यसमा कुनै पनि संस्थाहरुले सर्वेक्षण गरेका छैनन् र त्यो बाहिर आएको पनि छैन । म चुनौती नै दिनसक्छु, गृहमन्त्रीजीलाई त्यस्तो छ भने त रिपोर्ट नै बाहिर ल्याए भयो नि त । बाहिर ल्याउने हो भने अरु विश्वसनीय संस्थाहरुले गरेका सर्वेक्षणलाई नि बाहिर ल्याउनलाई उहाँले आग्रह गर्नुपर्यो । निर्वाचन आयोगलाई भन्नुपर्यो, हामी कानुन मिच्छौँ । मिच्न अरुलाई पनि दिनु भन्नुपर्यो । उहाँहरु छद्म काम गरिरहनुभएको छ र छद्म कामलाई पुष्टि गर्नका लागि उहाँहरुले अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गर्नुभएको छ । 

मैले थाहा पाएको नेपाल ब्रिटेन यस्तै के नाम गरेको कुनै एउटा वेबसाइटमार्फत एउटा नक्कली सूचना बाहिर आयो त्यसमा एउटा अमूक दल संलग्न छ भन्ने सुनेको छु । त्यो गर्नुको कारण त्यसमार्फत सामाजिक सञ्जालमा यसलाई बढी प्रचारित गर्ने, भाइरल गर्ने र जनतालाई हो क्यारे भनेजस्तो भ्रम दिने काम हुन खोजिरहेको छ । यो स्वच्छ निर्वाचनको लागि निन्दनीय काम हो ।

परिचालन र मतदाता शिक्षाको सम्बन्धमा एमाले पछाडि परेको भन्ने समाचार आइराखेको छ, यसलाई कसरी व्यवस्थित गरिरहनुभएको छ ? पार्टी कमिटीहरु कसरी परिचालित भइरहेका छन् ?    

प्रचार, परिचालनको हिसाबले एमाले पछाडि छैन । किनभने अहिले पहिलेको भन्दा पृथक प्रचार छ । अहिले हामी पोष्टर टाँस्न पाउँदैनौँ । जुलुस निकाल्न पाउँदैनौँ । घरदैलोमा पनि सीमित संख्यामा मात्रै जानुपर्छ । २५ को संख्या तोकेको छ । १० वटाभन्दा बढी झण्डा बोक्न पाइँदैनँ । यो आचारसंहिताको कारणले गर्दा पहिलेको जस्तो ठूलो संख्यामा जाने रौनकचाहिँ देखिँदैन । पहिलाको भौतिक उपस्थितिमा गरिने प्रचार भएन कि भन्ने लाग्नु स्वभाविक नै हो । 

हामीले आमसभाको माध्यमचाहिँ तोकिएको ठाउँमा मात्रै जुन कमिटीहरुले आवश्यक ठान्नुभएको छ, त्यो ठाउँमा मात्रै गरेका छौँ । जहाँ अध्यक्ष पुग्न सक्नुभएन र उहाँहरुलाई ठूलो सभा गर्न मन लाग्यो त्यो ठाउँमा मात्रै हामीले ४० ठाउँ छानेका थियौँ त्यसमध्ये निश्चित ठाउँमा अहिले अध्यक्ष गइरहनुभएको छ । त्यसकारणले जहाँ–जहाँ अध्यक्ष जानुभयो जनसागर उर्लिएको नै हामी पाउँछौँ । त्यो हिसावले राम्रै देखिन्छ । 

बढी हामीले सामाजिक सञ्जाल प्रयोग गरेका छौँ । र वैकल्पिक माध्यमहरु प्रयोग गरेका छौँ । केही अनलाइनमा विज्ञापन गर्यौँ । फेसबुक इत्यादिमा बुस्ट गरेका छैनौँ । सामाजिक सञ्जालमा स्वतःस्फुर्त रुपमा लाखौँ व्यक्तिहरुको बीचमा एमालेको प्रचार यो आठ-दश दिनमा व्यापक नै गइरहेको छ । मतदाताहरुले कसरी मत हाल्ने ? आफ्नो नम्बर कहाँ छ ? लिस्ट पाएको छ कि छैन घरमा ? हामी पहिले प्रत्येक मतदाताको नाम लेख्थ्यौँ र घरघरमा गएर तपाईको यति नम्बरमा छ भन्थ्यौँ । अब तीन-चार दिन बाँकी छ । ती दिनमा पूर्णता आउला । त्यसमा कमी भएको होला जस्तो लाग्छ मलाई । 

सबै भोटहरु जिरो बदरमा जानेगरी, सबै मत सदर, जिरो बदर भन्ने किसिमले जानुपर्ने स्थिति हुन्छ । त्यो हिसावले हाम्रो कमिटीहरुलाई अगाडी बढ्नुस् भनेका छौँ । तर, मुखमा झुन्डिएको छ साथीहरुलाई चार सूर्य चार छाप भन्ने शब्द प्रयोग गर्नुहुन्छ । त्यसले कहिलेकाहीँ गलत अर्थ लगाइदिन सक्छ । किनभने एउटा मतपत्रमा एउटा मात्र सूर्य छ अहिले । सूर्य नभएको मतपत्र कुनै पनि छैन । अधिकांशमा सूर्य नै सूर्य छन् । तर मतपत्र चारवटा फरक–फरक छ । ४ गते चारवटा फरक मतपत्र अनि प्रत्येकमा भएको सूर्यमा छाप लगाऊँ भनेर एमालेले भन्ने हो भने त्यो ठिक हुन्थ्यो । पहिले सात सूर्य सात छाप भन्ने लयमा चारवटा मतपत्र हुने भएकाले चार सूर्य चार छाप भन्नुभएको छ । एउटै मतपत्रमा चारवटा सूर्य खोज्नुभयो र चारवटा छाप लगाइदिनुभयो भने बदर हुनसक्ने खतरा छ । 

यसमा भर्खर हामीले हाम्रो साथीहरुलाई सचेत गराउन खोजिरहेका छौँ । प्राविधिक खालका पक्षहरु र त्यसमा ध्यान दिनुपर्ने विषयमा हामीले भर्खर निर्देशित गरिरहेका छौँ । यो चुनावमा अर्को एउटा पनि निर्देश गर्नुपर्छ, भर्खर कानुन आएको छ । तल सर्कुलर पनि धेरै गइसकेको छैन । जस्तो कि समानुपातिकबाट उम्मेदवार बनाइएका व्यक्तिहरुको मतगणना प्रतिनिधि कसले छान्ने ? भन्ने कुरो नै धेरै स्पष्ट भएको छैन । त्यो कानुन पढ्नुभएको छैन मान्छेहरुले । हामीले आफ्नो पार्टीबाट आफ्नो पार्टी कमिटीमा सूचना पठाउँदै छौँ । अरुलाई पनि लागू हुन्छ यो, भन्दा बिग्रिँदैन । 

प्रत्येक जिल्लाको प्रमुख अध्यक्ष वा सभापतिले त्यही क्षेत्रमा मतदाता नामावलीमा नाम भएको व्यक्तिलाई छान्नुपर्छ । त्यो विधि नै छ । त्यसमा योग्यताहरु नै तोकेको छ । त्यो नहेरी फलानो जान्छ भने त्यो पनि बिग्रिन्छ । पछि मत गणनाको बेलामा झमेला हुन्छ । यि जस्ता कामहरु हामीले मतदातालाई सचेत बनाउने र त्यसमा निर्वाचनको माहोल नयाँ ढंगले लैजाने काम अझ गर्न बाँकी नै छ ।

गठबन्धनले राज्यकोषको अथवा अन्य अवयवहरुको प्रयोग/दुरुपयोगको विषयमा एमालेले चासो दिएको छ कि छैन ? कत्तिको चनाखो छ ?   

हामी के कुरामा सचेत छौँ र हाम्रो पार्टी समर्थकलाई मात्रै होइन आम मतदातालाई के भनिरहेका छौँ भने अहिले गठबन्धन सबैखालको हतकण्डा प्रयोग गर्नपनि उद्यत रहनसक्छ । यसमा सतर्क रहनुस् भनेका छौँ । बिहानीले दिन बताउँछ भनेको जस्तै केही ठाउँमा भएका हिंसाले यो चुनाव हिंसारहित होला कि नहोला भन्ने शंका उत्पन्न भएको छ । हामीले यसमा सतर्क हुनुस् भनेका छौँ । स्रोत, साधनको दुरुपयोग गर्नुहुँदैन । 

सत्तामा रहने बढी सतर्क हुनुपर्छ । कि कानुन, आचारसंहिता नै बनाउनुहुँदैन । बनेको आचारसंहितालाई प्रभावकारी ढंगले पालना गर्नुपर्छ । यो नमिल्दो छ, अव्यावहारिक छ भन्ने कुरो त सत्तालाई फाइदा हुने कुरा न भनेका थियौँ । त्यतिखेर उहाँहरु ध्यान नदिने । अहिले यतिखेर क्रमशः मिच्दै जाने । उहाँहरुलाई बानी के परेको छ भने ७२ घण्टा मौन अवधि रहेको छ मनलाग्दी गर्ने । किनभने अरुलाई बाहिर निस्किन पाइँदैन, बन्द गरिदिने । आफूचाहिँ प्रहरीको गाडी चढेर सुरक्षा निकायहरुलाई दुरुपयोग गर्दै घरघरमा मतलाई प्रभावित गर्ने क्रियाकलाप गर्ने तहमा स्थानीय तहको चुनावमा पनि गर्नुभयो । त्

यो गर्नुहोला भन्ने हामीलाई लागिरहेको छ । त्यसको लागि हामीले हाम्रो मतदाताहरूलाई सचेत गराइरहेका छौँ । हाम्रो बुथ कमिटीहरुलाई पनि यसमा ध्यान दिनुस् भनेका छौँ । यसमा हाम्रो ध्यान गएको छ । पर्याप्त त भइसकेको छैन होला ।

  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १५:५१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया