चुनावको मौका छोपेर उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा बढीले वृद्धि

चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै बजारमा हरेक उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा बढीले बढेको हो । 

सरकारको सम्पूर्ण ध्यान मंसिर ४ गतेको निर्वाचन केन्द्रित हुँदा उपभोक्ता भने बजारमा अत्यधिक रुपमा बढेकाले मूल्य वृद्धिको मारमा परेका छन् । सरकारका बजार नियमनकारी निकायका कर्मचारीसमेत निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीले आफूखुसी मूल्य तोक्न लागेको उपभोक्ताहरुले गुनासो गरेका छन् । 

नेपाल खुद्रा व्यापार संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले दशैँ–तिहारपछि मात्रै दैनिक उपभोग्यका लागि आवश्यक पर्ने हरेक वस्तुको मूल्य १५ प्रतिशतले बढेको बताए । पछिल्लो  समय खाने तेल, दाल, चामल मात्रै नभएर हरेक खाद्यान्नलगायत अन्य वस्तुको समेत मूल्य बढेर आएको उनले बताए । 

पूर्वअध्यक्ष बज्राचार्यले पछिल्लो एक वर्षमा ३० प्रतिशत भन्दा बढी मूल्य वृद्धि भएको बताए । दशै–तिहारको समयमा २४० रुपैयाँमा पर्ने थालेको खानेतेल अहिले बजारमा २८० रुपैयाँ पुगेको जानकारी दिँदै उनलेसनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर ४० रुपैयाँले मूल्य बढेको बताए । 

भारत सरकारले नेपालमा चामल आयातमा प्रतिबन्ध लगाएपछि मात्रै एक बोरा चामलमा ४०० रुपैयाँसम्म बढेको उनले बताए । भारतले धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत कर १५–२० दिन पहिले नै हटाएर चामलको मूल्य घटेर आए पनि नेपाली चामल मिलवालाले भने अहिलेसम्म पुरानो मौज्दात भन्दै अझै महँगोमा चामल बिक्री गरिरहेको उनले बताए । 

बज्राचार्यले बजारमा उपभोग्य वस्तुको मूल्य बढ्नुको कुनै कारण नभएर ठूला व्यापारीहरुले चुनावमा पार्टीहरुलाई दिएको चन्दा असुल गर्न निर्वाचनकै अवसरमा वस्तुको मूल्य वृद्धि गरेको आरोप लगाए । निर्वाचनको समयमा सरकारी कर्मचारी निर्वाचन केन्द्रित भएको मौकामा बजारमा उपभोग्य वस्तुको मूल्य बढाउनु अस्वाभाविक भएको बताउँदै यनले सरकारले उपभोक्ताको हितमा चासो नराखेको भन्दै चिन्ता व्यक्त गरे । 



बज्राचार्यले उपभोक्ताहरुको हितमा काम गर्ने हो भने बजारमा भएको अत्यधिक मूल्य वृद्धि सरकारले नियन्त्रण गर्ने बताए । अनुगमन गर्ने निकाय उपाभोक्ता हित संरक्षण विभाग बजारमा कुनै वस्तुको मूल्य वृद्धि भए खुद्रा पसलमा गएर अनुगमन गर्ने, तर ठूला व्यापारीकोमा अनुगमन गर्न जान नसक्दा बजारमा मूल्य वृद्धि भइरहने उनले बताए । 

त्यस्तै,कुलेश्वरका खाद्यसामग्री होलसल व्यापारी मनोज श्रेष्ठले खानेतेल, दाल चामलको मूल्य बढेर नै आएको बताए । भारतले नेपालमा धान निर्यातमा यसअघि लगाएको २० प्रतिशत करको कारणले चामलको मूल्य धेरै बढेको उनले बताए । 



डलरको मूल्य बढेकाले बजारमा खानेतेलको मूल्य वृद्धि भएर आएको बताउनु भयो । श्रेष्ठले बाहिरबाट नै वस्तुको मूल्य बढेर आएकाले बजारमा बेच्नलाई समेत समस्या भएको उनको भनाइ छ । 

  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार १६:१४:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया