नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् । मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिस्पर्धी भएको र बुधबार हुने खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताएका हुन् ।
यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र सोही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताएका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रोहित आपूmले कप्तानी पाउँदा खुसी लागेको, तर नेपालको लागि खेल्न पाउनु नै आफ्नो लागि ठूलो कुरा रहेकोसमेत बताए ।
नेपाललाई पाकिस्तानले मैत्रीपूर्ण खेलका लागि प्रस्ताव गरेको हो । नेपालले स्वीकार गरेपछि पाकिस्तान एक मैत्रीपूर्ण खेलको लागि आइतबार नेपाल आएको थियो । नेपाल र पाकिस्तानबीच ८ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो ।
आन्तरिक द्वन्द्व र बाह्यशक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिबन्ध गरेको थियो । फिफाको प्रतिबन्धपछि पाकिस्तान फुटबलमा फर्किएको हो ।
कार्यवाहक प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानी टोलीविरुद्ध आफ्नो टोली घरेलु मैदानमा सुखद् नतिजाका लागि खेल्ने बताए । कटुवालले पाकिस्तानका खेलाडी विदेशमा खेलिरहेको कारण व्यक्तिगत रुपमा राम्रो भएको भए पनि लामो समय एउटै टोली बनेर नखेलेको कारण टिमवर्क राम्रो नभएको र सोहीअनुसार आफूले रणनीति बनाएको बताए ।
यस्तै, नेपाल भ्रमणमा रहेको पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालविरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहोर्याउनका लागि खेल्ने बताए । उनले पाकिस्तान टोलीलाई यसअघि पनि कठिनाई पर्दै आएको बताए ।
हसनले आफ्नो टोलीले अन्तिम समयमा मौका पाएर खेल्ने गरेको भन्दै व्यक्तिगत हिसाबमा आफू डेनमार्कमा खेल्दै आएकोले लयमा रहेको बताए । दुई महिनादेखि टोलीले तयारी गरेकाले नेपाली टोलीविरुद्ध राम्रो खेल्ने कप्तान वासिरले बताए ।
नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्लोपटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।
बुधबार हुने खेलमा पाकिस्तानले आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ । त्यस्तै, नेपालले पाकिस्तानलाई हराउँदै दशरथ रंगशालामा आयोजना हुन लागेको ५०औं अन्तर्राष्ट्रिय खेलमा सुखद् नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।