आचारसंहिताको धज्जी उडाउँदै वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म निर्वाचन प्रचारमा

निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा कडाइ गरिरहँदा मधेस प्रदेशका जिल्लाहरूमा मुख्यमन्त्री, मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत राजनीतिक दल र तिनका उम्मेदवारले आचारसंहिताको धज्जी उडाउँदै निर्वाचन प्रचारप्रसारमा हिँडिरहेको देखिन्छ । 
 
आगामी ४ मंसिरमा हुने निर्वाचनमा यस प्रदेशका मुख्यमन्त्री, मन्त्री, स्थानीय तहका पदाधिकारी तथा विभिन्न राजनीतिक दलहरू आचारसंहिता विपरीत खुलेआम रूपले प्रचारप्रसारमा घुमिरहेका छन् । तर, निर्वाचन आयोग भने टुलुटुलु हेरेर बसेको छ ।

आचारसंहिताबमोजिम स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूले आफू बहाल रहेको स्थानीय तहमा प्रचारप्रसारको काममा संलग्न हुन नपाउने स्पष्ट उल्लेख रहेको अवस्थामा उनीहरू आफू बहाल रहेकै पालिकामा खुलमखुला प्रचारप्रसार गर्नुका साथै उम्मेदवारसँगै घरदैलोमासमेत हिँड्ने गरेका छन् । 

जबकी स्थानीय तहका प्रमुख तथा उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यहरूले आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा मात्र सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् । 

धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो, महोत्तरीको लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्रकुमार यादवलगायतका जनप्रतिनिधिहरू आफ्नै पालिकाभित्र आ–आफ्नो दलबाट प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरूसँग घरदैलो तथा प्रचारप्रसारमा सहभागी भई मत मागिरहेका छन् ।

यसअघि धनुषाको नगराइन नगरपालिका मेयर विनय यादव, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, उपाध्यक्ष वन्दना पाण्डेय, नगराइन नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष सुरज नारायण साह, जनकपुरधाम उपमहानगरपालिकाका कार्यपालिका सदस्य फुलकुमारी साह, वडा नम्बर–१० की वडा सदस्य नितु मल्लिकलगायतका पदाधिकारीहरू पनि आ–आफ्नो पालिकाभित्र उम्मेदवारहरूसँगै घरदैलो तथा प्रचारप्रसारमा सहभागी भई मत मागिरहेको देखिएका थिए । 

त्यस्तै, यस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसमेत आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रबाहेकको मुस्लिम बाहुल्य क्षेत्रमा सभा सम्मेलन तथा घरदैलोमा सहभागी हुँदै आएको देखिएको थियो ।



मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री अथवा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा पालना गर्नुपर्ने आचरणहरूको स्पष्ट व्यवस्था गरेको छ ।

आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको हो । 



संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मुख्यमन्त्री तथा मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा मात्र संलग्न हुन सक्नेछन् ।

  • प्रकाशित मिति : कात्तिक २९, २०७९ मंगलबार २०:१८:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया