मधेसी जनतामाथिको विभेद अन्त्य गर्न जसपाको संघर्ष जारी : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकारका लागि पार्टीले संघर्ष जारी राखेको बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा सय वर्षदेखि शोषण, उत्पीडन र विभेदमा परेका मधेसी, मुस्लिम, आदिवासी, जनजाति, महिला, दलित र सीमान्तकृत वर्गका लागि अहिले पनि संघर्ष जारी नै रहेको बताए ।

मुलुकमा सङ्घीय गणतन्त्र स्थापना गर्न जसपा पार्टीको अहम् भूमिका रहेको भन्दै उनले मधेसी जनतमाथि भइरहेको विभेद अन्त्य गर्न अझै जसपाले सङ्घर्ष गरिरहेको बताए ।

सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार तथा जसपा अध्यक्ष यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा समेत जोड दिए । ‘अहिलेको निर्वाचन प्रणाली अति नै खर्चिलो छ, पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता छ,’ यादवले भने ।  

उनले सप्तरीको विकासका लागि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारको विकास आवश्यक रहेको उल्लेख गरे । देशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न भए मधेसी जनतालाई लाभ हुने उनको भनाइ थियो । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार ७:५७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया