रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा दुईजना मारिए

पोल्याण्डले रुसमा निर्मित क्षेप्यास्त्र देशको पूर्वी भागमा खसेको तथा त्यसबाट आफ्ना दुईजना नागरिक मारिएका बताएको छ । क्षेप्यास्त्र खसेसँगै रुस–पोल्याण्डबीच आरोपप्रत्यारोप पनि सुरु भएको छ । 

उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) को सदस्य पोल्याण्डमाथि नियतवश आफ्नो भूमिमा आक्रमण भएको वार्साले आरोप लगाएको छ भने मस्कोले त्यसको खण्डन गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमर जेलेन्स्कीले घटनाको निन्दा गरेका छन् ।

इण्डोनेसियाको बालीमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर नाटोको आपत्कालीन बैठक भएको छ । बैठकमा राष्ट्रपति बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोेन डेयर उपस्थित थिए । उन्नत अर्थतन्त्र भएका प्रमुख विकसित देश अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, जापान, बेलाइत र इटाली सम्मिलित अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठन जी सेवेनको बैठक पनि भएको छ । 

इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवं उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा पनि उक्त घटनाबारे विश्वनेताले चिन्ता व्यक्त गरेका छन् ।  प्रारम्भिक विवरणअनुसार रुसको नियोजित आक्रमण हो वा होइन भन्नेबारेमा पोल्याण्डले अनुसन्धान थालेको छ ।  

अमेरिकी राष्ट्रपति जो बाइडेनले क्षेप्यास्त्र रुसबाट प्रहार नभएको हुनसक्ने बताएका छन् । अन्नपात सुकाइरहेका गाउँलेमाथि क्षेप्यास्त्र खसेको पोल्याण्डका सुरक्षा अधिकारीहरूले बताएका छन् । 

जी सेभेनले क्षेप्यास्त्र आक्रमाणको निन्दा गरेको छ ।  एक वक्तव्य निकालेर समूहले आक्रमणलाई बर्बर भनेको छ । पोल्याण्डको अनुसन्धानप्रति आफ्नो पूर्ण समर्थन रहेको तथा सहयोग गर्न तत्पर रहेको बताएको छ । 



संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले पनि पोल्याण्डमा क्षेप्यास्त्र खसेको घटनाबाट आफू चिन्तित रहेको बताउँदै त्यसको विस्तृत अनुसन्धानका लागि आह्वान गरेका छन् ।  



  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १३:३३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया