मकवानपुरमा लालकिल्ला जाेगाउन एमालेलाई चुनाैती

मकवानपुर नेकपा एमालेको लालकिल्लाको रुपमा परिचित जिल्ला हो । स्थानीय तहको निर्वाचनदेखि प्रदेश तथा संघीय निर्वाचनमा समेत आफ्नो वर्चस्व बनाउँदै आएको एमाले मकवानपुरको साख गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भने भत्कन पुग्यो । १० स्थानीय तहमध्ये भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका र केही वडामा मात्रै जित निकालेको एमालेलाई आगामी मंसिर ४ को निर्वाचनमा आफ्नो विरासत यथावत् राख्न चुनौती छ । 

१० वटा स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले हात पारे भने भीमफेदी गाउँपालिकाको अध्यक्ष मात्रै एमालेको पोल्टामा पर्यो । १० मध्ये २ गाउँपालिकामा मात्रै जित हासिल गरेको एमालेलाई मकवानपुर आगामी मंसिर ४ को निर्वाचनमा संघ र प्रदेशमा आफ्नो विरासत यथावत् राख्न चुनौती थपिएको छ । 

दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरमा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दुवै क्षेत्रबाट नेकपा एमालेकै जित भएको थियो । क्षेत्र नम्बर १ मा कृष्णप्रसाद दाहाल र २ मा विरोध खतिवडा विजयी भएर संघीय सांसद बनेका थिए । ०७४ सालको निर्वाचनमा राप्रपाका अध्यक्ष कमल थापालाई पराजित गर्दै दाहाल प्रतिनिधिसभा सदस्य बनेका हुन् । 

यता, मकवानपुर–२ मा तत्कालीन एमालेबाट विरोध खतिवडा विजयी भएका थिए । ०७४ को निर्वाचनमा खतिवडाले कांग्रेस नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’लाई ११ हजार ९ सय ६३ मतान्तरले पराजित गरेका थिए । खतिवडाले ४४ हजार ७ सय ४४ मत प्राप्त गर्दा डिनाको पोल्टामा ३२ हजार ६ सय ८१ मत परेको थियो । 

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा मात्रै होइन, विगत ३ दशकभन्दा लामो समयदेखि मकवानपुर एमालेको गढका रुपमा चिनिँदै आएको छ । तर। आगामी मंसिर ४ को निर्वाचनमा भने एमाले मकवानपुरलाई आफ्नो लालकिल्ला भत्कने हो कि भन्ने चिन्ता पनि उत्तिकै छ । कारण हो लोकतान्त्रिक वाम गठबन्धनको साझा उम्मेदवारी । 

जसकारण यसपटक मकवानपुरको दुवै प्रतिनिधिसभा क्षेत्रमा एमालेलाई आफ्नो विरासत जोगाउन चुनौती बनेको छ । यद्यपि, एमालेले मकवानपुरको क्षेत्र नम्बर १ का उम्मेदवार कमल थापा एमाले सबैभन्दा ठूलो दल भएको कारण मंसिर ४ को निर्वाचनमा पनि जित सुनिश्चित रहेको बताउँछन् । उनले भने, ‘विगत ३० वर्षदेखि सधैँ जितिरहेको नेकपा एमालेले योपटक पनि जित हासिल गर्नेछ । एमाले सबैभन्दा धेरै जनमत रहेको पार्टी र हाम्रो राप्रपा नेपाल पार्टीको पनि राम्रै जनमत रहेका कारण आगामी निर्वाचनले विरासत भत्किएला भन्ने सोचिरहनुपर्दैन ।’



यता, क्षेत्र नम्बर २ का उम्मेदवार महेशकुमार बर्तौला एमालेकै जित सुनिश्चित रहेको र लालकिल्ला कायम राख्न आफूहरुले गरेको मिहिनेत खेर नजाने बताउँछन् । ‘हामीले सधँै राम्रा विकासका काम गरेका छौँ । यसलाई नै आधार मानेर पनि गठबन्धनमा रहनुभएका मतदाताहरुले हामीलाई नै मत दिनुहुनेछ । मतदाताहरु नयाँ अनुहारले गर्ने विकास हेर्न आतुर छन् । त्यसैले गठबन्धनले मकवानपुरमा विरासत भत्काउला भन्ने लाग्दैन । जनताले राम्रालाई चुन्नुहुनेछ,’ उनले भने । 

त्यसो त, जिल्लामा नेकपा एमालेको विरासतलाई कायम राख्न पार्टीले ठोस कदमको साथ प्रचारप्रसारमा लागिरहेको बताउँदै आएको छ । गत निर्वाचनमा जस्तै गरी आगामी निर्वाचनमा पनि जिल्लाको दुवै क्षेत्रबाट एमालेकै प्रतिनिधि सांसद सदन पुग्ने नेकपा एमाले जिल्ला सचिव नवीन सिग्देलले बताए । 



निर्वाचन परिचालन कमिटीले प्रदेश र संघीय दुवैतर्फको उम्मेदवारको सम्पूर्ण प्रचारका काम सम्पन्न भइसकेको बताइएको छ । गत स्थानीय तहको निर्वाचनमा जिल्लामा एमालेको विरासतमा खलल आए पनि संघ र प्रदेश निर्वाचनमा जसरी पनि आफ्नो लालकिल्ला भत्कन नदिने गरी प्रचारमा जोड दिइएको निर्वाचन परिचालन कमिटी संयोजक अनन्त पौडेलको दाबी छ । 

एमालेलाई आफ्नो विरासत कायम राख्न प्रतिनिधिसभा क्षेत्र १ मा कमल थापाले सत्ता गठबन्धनकी साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहलाई पराजित गर्नुपर्ने चुनौती छ भने क्षेत्र नम्बर २ का उम्मेदवार बर्तौलाले पूर्वस्वास्थ्य मन्त्री एवं गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडालाई पराजित गर्न चुनौती छ । 

एमालेले मकवानपुरमा विरासत जोगाउन गरेको पहलकदमीले सार्थकता पाउला नपाउला त्यसको प्रतिफल भने मंसिर ४ गतेपछि मात्रै थाहा हुनेछ ।

  • प्रकाशित मिति : कात्तिक ३०, २०७९ बुधबार १७:३०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया