नेपाली संगीत
बारम्बार किन लाग्छ नेपाली संगीतकारलाई चोरीको आरोप ?
कालीप्रसाद बास्काेटा । पछिल्लाे समय उनकाे गीत फ्रेन्च गीतबाट चाेरिएकाे हाे भन्ने आराेप लाग्न थालेकाे छ । तस्वीर: बास्काेटाकाे फेसबुकबाट ।

काठमाडौं– जब जब युट्युबमा कालीप्रसाद बास्कोटाको गीत ‘रिलिज’ हुन्छ, उनी चर्चाको शिखरमा पुगिहाल्छन् । मानौँ, भाइरल, चर्चाको पर्याय बनेका छन् उनी ।

यसपटक पनि केही दिनअघि उनको गीत रिलिज भएसँगै उनी चर्चामा आए, युट्युबमा राखिएको उनको गीत ‘इन्स्टाको फोटो’ले छोटो समयमा अत्यन्त धेरै ‘भ्युज’ पायो । 

झन् यसपटक त उनको यो गीत अर्को सामाजिक सन्जाल टिकटकमा पनि चर्चित बन्यो । यसको कारण के भने टिकटकबाट चर्चामा आएकी रेश्मा घिमिरेले गीतको भिडियोमा अभिनय गरेकी छिन् ।

यी सब हुँदाहुँदै यसपटक कालीप्रसादको यो गीत अर्को कारणले पनि चर्चामा छ । त्यो हो– चोरी । 

उनको यो गीतमाथि आरोप लागेको छ– यो फ्रेन्च गायिका कार्ली बर्नीको गीतको डिट्टु कपी हो ।

त्यसो त कालीप्रसादका यसअघिका ‘भाइरल’ गीत पनि चोरी गरिएका हुन् भन्ने आरोप नलागेको होइन । फेरि के पनि बिर्सनु हुँदैन भने यस्तो आरोप कालीप्रसादका गीतमाथि मात्रै लागेका छन् । नेपालमा पछिल्लो समय चर्चामा आएका गीतहरु कतै न कतैबाट कपी गरिएका हुन् भन्नेहरु पनि छन् ।



के साँच्चिकै पछिल्लो समय नेपालमा ‘ओरिजिनल’ गीत नै बन्दैनन् त ? के अहिले नेपालमा चलेका गीत तथा संगीत सबै कतै न कतैबाट चोरिएका हुन् त ?

हामीले यही प्रश्न संगीतकार न्ह्यु बज्रचार्यलाई सोध्यौँ ?



‘हुबहु कपी गर्ने त सरासर गलत हो,’ बज्रचार्य यस कुरामा प्रष्ट छन्, ‘यसरी चोरी गर्नुले न संगीतकारलाई फाइदा हुन्छ, न नेपाली संगीतको प्रतिष्ठा बढ्छ ।’

न्ह्यु बज्रचार्य । तस्वीर : न्ह्युकाे फेसबुकबाट

यसो भन्दाभन्दै पनि न्ह्यु के कुरा मान्छन् भने लागेका सबै चोरीका आरोप स्वीकार्य छैनन् । कहिलेकांही स्रोतहरुले गीतलाई न्याय गर्न नसकेकाले पनि चोरीको आरोप लगाउने गरेको उनी मान्छन् । 

‘कतिसम्म भने गोपाल योञ्जन, नारायण गोपाललगायतलाई पनि चोरीको आरोप लाग्यो,’ उनी भन्छन्, ‘कहिलेकांही गीतको ताल र लय मिल्नुलाई मात्रै पनि मानिसहरु चोरिएको हो भनिदिन्छन् ।’ संसारमा सबै संगीत सात सुरमा रहेर बन्ने र त्यसले गर्दा कोइन्सिडेन्सले केही मिलेको जस्तो प्रतित हुन सक्ने उनको तर्क छ ।

यो तर्कसँगसँगै न्ह्यु बज्रचार्यलाई कहिलेकांही प्रभावले पनि संगीतको स्वाद मिलेको हुनसक्ने तथ्य पनि थाहा छ । ‘कहिलेकांही कसैबाट प्रेरित हुँदा स्वाद र लवज मिलेको हुनसक्छ,’ उनले भने, ‘त्यसलाई ठ्याक्कै चोरिएको हो भन्न मिल्दैन ।’

गायक कमल खत्रीलाई पनि न्ह्यु बज्रचार्यका यी कुराहरु मुनासिब लाग्छन् । यसमा उनी थप्छन्, ‘संसारका सबै संगीतकार कसै न कसैबाट प्रेरित भएका छन् । सात स्वर बाहिर गएर संगीत गर्न नसक्ने र अरुबाट प्रेरित हुनुले केही प्रभाव पर्न सक्छ तर हुबहु कपी गर्नु त गलत नै हो नि ।’

पछिल्लो समय संगीतकारलाई चोरीको आरोप चाहिँ मानिसहरुले नबुझेकाले लगाउने गरेको उनी बताउँछन् । ‘मानिसहरु बुझ्दैनन् अनि त्यस्तो आरोप लगाउँछन्,’ उनी भन्छन् ।

सुरेश गैरे । तस्वीर : गैरेकाे फेसबुकबाट ।

गायक बाबु बोगटी पनि नेपाली संगीतकारले नियोजित रुपमै चोरी गरिरहेका छन् भन्ने मान्दैनन् । ‘केही मात्रा प्रभावित भएको हुन सक्छ,’ उनले भने, ‘चोरी गरेको हो भने त थाहा भइहाल्छ नि, अल्छे गायकहरुले त्यसो गरेका पनि छन् । यसको अर्थ पछिल्लो समय अरुको मिहेनतलाई तोडमोड गरेर क्रेडिट लिन खोज्ने प्रवृति बढेको हो भन्ने बुझिन्छ ।’

संगीतकार सुरेश गैरे भने हाम्रो संगीतको राग भारतवर्षको राग भएकाले यो क्षेत्रमा केही न केही कुरा मिल्नु स्वभाविक भएको मत राख्छन् । ‘तर, अमेरिका युरोप तथा अन्य देशका संगीतबाट चोरी गर्नेहरु नभएका होइनन्,’ सुरेश भन्छन्, ‘त्यो सरासर गलत हो ।’ 

त्यसैले पनि पछिल्लो समय नेपाली संगीतकारमाथि चोरीको आरोप लाग्नुलाई स्वाभाविक मान्छन् उनी । उनी थप्छन्, ‘चोरीको आरोप लाग्यो भने प्रष्ट बुझ्नु पर्छ, केही गढबडी  त पक्कै छ ।’

गायक नवीन के भट्टराई पनि चोरीका आरोप यत्तिकै नलाग्ने र जसले चोरी गर्छ उसलाई सर्जक भन्नै नसकिने बताउँछन् । ‘म चाहिँ सिर्जनशीलतामा विश्वास गर्ने मान्छे हुँ,’ उनी भन्छन्, ‘अरुको सिर्जना चोरेर आफूलाई सर्जक त कसैले पनि भन्न सक्दैन नि ।’ 

  • प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार १४:५५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया