विश्वकप खेल्ने र उपाधि जित्ने हरेक खेलाडीको सपना हुन्छ । तर, केहीको मात्र त्यो सपना पूरा हुन्छ । एकै परिवारका दाजुभाइसँगै विश्वकप खेल्नुलाई दुर्लभ मानिन्छ ।
एउटै परिवारका दुई दाजुभाइ फरक देशबाट विश्वकप खेल्दै छन् भन्दा त विश्वास गर्न पनि गाह्रो होला । तर, यो सत्य हो । विलियम्स दाजुभाइ कतार विश्वकपमा दुई फरक देशको प्रतिनिधित्व गर्दैछन् ।
दाजु इनाकी विलियम्स अफ्रिकी राष्ट्र घाना तथा भाइ निको विलियम्स युरोपियन राष्ट्र स्पेनबाट खेल्दैछन् । २८ वर्षीय इनाकी र २० वर्षीय निको दुवै स्पेनको एथ्लेटिक क्लब विल्वाओबाट व्यवसायिक फुटबल खेल्ने गर्छन् ।
अफ्रिकामा भोकमगरी लागेपछि उनीहरूका बुबाआमा राम्रो भविष्य र सुखी जीवनका लागि देश छाडेर स्पेन पुगेका थिए । इनाकी र निको दुवै स्पेनमा जन्मिएका हुन् ।
दुवैले पामप्लोनामा फुटबल खेल्न सुरु गरे । पछि एथ्लेटिक विल्वाओको एकेडेमीमा भर्ना भए । अहिले दुवैजना एउटै टोलीबाट सँगै खेल्छन् ।
विश्वकपमा भने उनीहरू फरक देशबाट खेल्न लागेका हुन् । दाजु इनाकीले सन् २०१६ मै स्पेनका लागि डेब्यू गरे । तर, त्यसपछि उनले स्पेनको टोलीमा अवसर पाउन सकेनन् । उनले विल्वाओका लागि लगातार २०३ खेलमा खेल्दै कीर्तिमान पनि बनाए ।
२०२२ को जुलाईमा उनले घानाबाट खेल्ने निर्णय लिए । गत सेप्टेम्बरमा पहिलोपटक घानाका लागि ब्राजिलविरुद्धको खेलबाट डेब्यू गरेका इनाकीले त्यहाँबाट दुई खेल खेलेका छन् । भाइ इनाकीले पनि २०२२ मै नेसन्स लिगअन्तर्गत स्विट्जरल्याण्डविरुद्धको खेलबाट स्पेनका लागि डेब्यू गरे । उनले स्पेनका लागि दुई खेल खेलेका छन् ।
कतार विश्वकपमा स्पेन र घाना फरक समूहमा छन् । जसले गर्दा यी दुई समूह चरणमा एक आपसमा खेल्न पाउने छैनन् । दुवैको टोली अगाडि बढेमा विलियम्स दाजुभाइको भेट क्वाटरफाइनलमा हुने सम्भावना छ । ‘आशा छ त्यसो होस्, र घानाले जितोस्,’ इनाकीले भनेका छन् ।
‘हामी यसको बारेमा हेर्नेछौं, खेलपछि हामी जर्सी भने अवश्य साट्नेछौँ,’ निकोले भने ।
एकअर्काविरुद्ध विश्वकप खेल्ने दाजुभाइ
विश्वकपमा फरक देशको प्रतिनिधित्व गर्ने विलियम्स दाजुभाइ एक्लो जोडी भने होइनन् । यसअघि सन् २०१० र २०१४ मा बोएटेङ दाजुभाइले पनि फरक देशबाट विश्वकप खेलेका थिए । जेरोमी बोएटेङले जर्मनी र केभिन प्रिन्स बोएटेङले घानाबाट विश्वकप खेलेका थिए ।
दुवै विश्वकपमा जर्मनी र घाना एउटै समूहमा परेका कारण उनीहरुले एक अर्काको सामना गर्नु परेको थियो ।
कतार विश्वकपमा एकै टोलीमा रहेका दाजुभाइ
विलियम्स दाजुभाइ कतार विश्वकपमा फरक देशबाट खेल्दैछन् । तर, यसपटक एउटै टोलीबाट विश्वकपखेल्ने दाजुभाइको तीन जोडी छन् । एडेन हाजार्ड र थोर्गन हाजार्डले बेल्जियमबाट खेल्दैछन् । हाजार्ड दाजुभाइले २०१८ को विश्वपक पनिसँगै खेलेका थिए ।
यस्तै, जोर्डन एयु र आन्द्रे एयुले घानाबाट खेल्दैछन् । एयु दाजुभाइले सन् २०१४ को विश्वकपमा पनि सँगै खेलेका थिए । लुकास हर्नान्डेज र थिएगो हर्नान्डेजले साबिक विजेता फ्रान्सको प्रतिनिधित्व गर्दैछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।