लुम्बिनी प्रदेशको राजधानी पुनः बुटवल सार्न कांग्रेस र एमाले सांसद एकमत

गृहमन्त्री एवं सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको राजधानी हचुवामा दाङ सारिएको बताएका छन् । 

गृहमन्त्री खाँणले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवल नै उपयुक्त भएको बताएका हुन् । चुनावी घरदैलोका क्रममा उनले रुपन्देही सबै जिल्ला र केन्द्रीय राजधानी तथा मुख्य सहरसँग पनि सहज जोडिएकाले बुटवललाई अस्थायी राजधानी तोकिए पनि कोरोना कालमा देश लकडाउन भएको बेला बुटवलबाट दाङ सारिएकोमा रुपन्देहीका जनतामाथि अन्याय भएको बताए । 

रुपन्देही पूर्वाधारका हिसाबले पनि सुगम भएकाले राजधानीका लागि उपयुक्त स्थान भएकाले उनले बताए । अहिलेको जस्तो सहज समयमा राजधानी सार्न खोजेको भए निर्णय गर्न नै नसक्ने अवस्था सिर्जना हुने उनले बताए । गृहमन्त्री खाँणले दाङमा लुम्बिनी प्रदेशको राजधानी सार्नु उचित नभएकाले राजधानी बुटवलमा नै फिर्ता गर्न जनताको साथ र सहयोगको अपेक्षा राखेको बताए । पूर्ववर्ती सरकारको निर्णयले रुपन्देहीका जनता रुष्ट रहेको उनले बताए । 

यता, नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु पौडेल पनि कांग्रेस नेता खाँणको भनाइमा सहमत छन् । उनले आफूले लुम्बिनी प्रदेशको राजधानी बुटवलमा नै हुनुपर्ने कुरा बारम्बार भनिसकेको बताए । चुनावी घरदैलोका क्रममा उनले आफ्नो निर्णयविपरीत प्रदेशसभाले बुटवलबाट अन्यत्र सारे पनि केन्द्र र प्रदेशको राजधानी हुनका लागि आधारभूत आवश्यकताका दृष्टिकोणले सबैभन्दा उपयुक्त ठाउँ बुटवल नै रहेको उनले बताए । 

उपाध्यक्ष पौडेलले प्रदेश सभाको निर्णय उसको अधिकार भए पनि प्रदेशसभाले चाहेमा पुनः प्रदेशको राजधानी अन्यत्र सार्न सक्ने बताए । 

उपाध्यक्ष पौडेलले रुपन्देहीका जनताले निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न, रुपन्देही जिल्लालाई आर्थिक विकासको केन्द्र बनाउन र  शिक्षा, स्वास्थ्य, रोजगारीमा प्राथमिकता दिन माग गरेको उनले बताए । 



जिल्लाका सुकुम्वासीका समस्या चाँडै समाधान होस् भन्ने अपेक्षा रुपन्देहीका जनताले लिएको बताउँदै उनले आसन्न निर्वाचनपछि नेकपा एमालेको बहुमतको सरकार बन्ने दाबी गरे । 
 



  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १५:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया