आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कर्मचारी खटाउने काम सकिएको छ । प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयले प्रदेशभरका निर्वाचन केन्द्रमा मतदान अधिकृत तथा सहायक कर्मचारी खटाउने काम सकिएको हो ।
प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि सुदूरपश्चिमका निर्वाचन क्षेत्रमा आज (बिहीवार) देखि मतदान अधिकृतहरु खटिइसकेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । सुदूरपश्चिमका सबै मतदान केन्द्रमा मतदान अधिकृतहरु खटिइसकेको प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त कार्यालय प्रमुख प्रेमप्रसाद भट्टले बताए ।
आज राति १२ बजे देखि मौन अवधि लाग्ने भएकाले आजैदेखि मतदान अधिकृतहरु मतदान केन्द्रमा गइसकेको उनले बताए ।
‘आजदेखि मतदान सामग्री लिएर मतदान अधिकृतहरु मतदान केन्द्रमा खटिइसकेका छन्,’ निर्वाचन अधिकृत भट्टले भने, ‘मतदान अधिकृतहरुले भोलि र पर्सि मतदान केन्द्रको निर्माण गर्नुहुन्छ ।’
प्रदेश निर्वाचन कार्यालयले प्रदेशभर २५ हजार कर्मचारी खटाएको जनाएको छ । प्रदेशतर्फ ३२ र प्रतिनिधि सभातर्फ १६ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमको कैलालीमा भने सबैभन्दा बढी प्रतिनिधि सभातर्फ ५ र प्रदेश सभाका लागि १० निर्वाचन क्षेत्र रहेका छन् । यसैगरी कञ्चनपुरमा संघमा ३ र प्रदेशका लागि ६ निर्वाचन क्षेत्र रहेका छन् ।
अछाममा संघतर्फ २ र प्रदेशमा ४ निर्वाचन क्षेत्र रहेका छन् भने अन्य सबै पहाडी जिल्लामा संघतर्फ १ र प्रदेश सभाका लागि २ वटा निर्वाचन क्षेत्र छन् । निर्वाचनका लागि खटिएका सुरक्षाकर्मी र कर्मचारी तोकिएको निर्वाचन केन्द्रमा पुग्नेक्रम जारी रहेका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले बताए ।
सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा साढे सात हजार कर्मचारी खटिएका छन् । निर्वाचन अधिकारीहरूले सार्वजनिक सूचना जारी गर्ने, सर्वदलीय बैठक राख्ने, मतदानका लागि अवश्यक भौतिक संरचना तयारी गर्ने काम ४ गते पूर्व नै गरिनेछ ।
आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सबै निर्वाचन केन्द्रमा मतदान हुनेछ । साँझ ५ बज्नुभन्दा अगाडि मतदानका लागि लाइनमा लागेका सबैले मतदान गरेपछि मात्रै मतदान कार्य रोकिने छ । निर्वाचन क्षेत्रमै मतगणनासमेत हुनेछ ।
सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ मतदाता छन । प्रदेश सभाका लागि प्रत्यक्ष र सामानुपातिक गरी ५३ जना चुनिनेछन् भने प्रतिनिधि सभाका लागि १६ सदस्य निर्वाचित हुनेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।