आचारसंहिताविपरीत जनकपुरधामका उपप्रमुख चुनावी सभामा सहभागी

जनकपुरधाम उपमहानगरपालिकाका वडाध्यक्ष र कार्यपालिका सदस्यहरु आफ्नै वडामा उम्मेदवारको घरदैलोमा सहभागी भइरहँदा उपप्रमुख किशोरी साह पनि आचारसंहिताको पालना नै नगरी आफ्नै पालिकाभित्र आयोजित एक चुनावी सभामा सहभागी भएका छन् ।
 
पाँचदलीय गठबन्धनले बिहीबार जनकपुरधामको पेठिया बजारमा आयोजना गरेको चुनावी सभामा उपमेयर साह उम्मेदवारसँगै मञ्चमा सहभागी भएको देखिएका हुन् । 

आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं मितव्ययी ढंगले सम्पन्न गराउन निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार वा प्रदेश सरकारको मन्त्री अथवा स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा पालना गर्नुपर्ने आचरणहरूको व्यवस्था गरेको छ ।

आचारसंहिताको दफा ५ को खण्ड (क) ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको हो । 
संशोधित आचारसंहिताबमोजिम निर्वाचनमा आफैँ उम्मेदवार भएका मन्त्रीले आफू उम्मेदवार भएको क्षेत्रमा निर्वाचन प्रचारप्रसारमा मात्र संलग्न हुन सक्नेछन् । त्यसरी प्रचारप्रसार गर्दा सरकारी साधन स्रोतको प्रयोग गर्न भने आचारसंहिताले रोक लगाएको छ ।

त्यस्तै, आचारसंहिताबमोजिम स्थानीय कार्यपालिकाका पदाधिकारी पनि आफू बहाल रहेको स्थानीय तहमा प्रचारप्रसारको काममा संलग्न हुन नपाउने आचारसंहितामा स्पष्ट उल्लेख छ । 

उनीहरु आफू बहाल रहेको स्थानीय तह बाहेक अन्य स्थानीय तहमा मात्र सम्बन्धित राजनीतिक दलको निर्वाचन प्रचारप्रसारको काममा संलग्न हुन सक्नेछन् । तर, जनकपुरधाममा भने ठिक त्यसको विपरीत देखिएको छ । 

यसअघि, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का वडाध्यक्ष जितबहादुर राउत र कार्यपालिका सदस्य सञ्जुदेवी दास, कार्यपालिका सदस्य फुलकुमारी साह, वडा नम्बर–१० की वडा सदस्य नितु मल्लिकलगायतका पदाधिकारीहरू आफ्नै वडामा उम्मेदवारको घरदैलोमा सहभागी भएका थिए । 



त्यस्तै, धनुषाको मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतो, महोत्तरीको लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्रकुमार यादवलगायतका जनप्रतिनिधिहरू आफ्नै पालिकाभित्र आ–आफ्नो दलबाट प्रतिनिधि तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरूसँग घरदैलो तथा प्रचारप्रसारमा सहभागी भई मत मागिरहेको देखिएका थिए । 

धनुषाको नगराइन नगरपालिका मेयर विनय यादव, महोत्तरीको पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, उपाध्यक्ष वन्दना पाण्डेय, नगराइन नगरपालिका वडा नम्बर–७ का वडाध्यक्ष सुरज नारायण साहलगायतका पदाधिकारीहरू पनि आ–आफ्नो पालिकाभित्र उम्मेदवारहरूसँगै घरदैलो तथा प्रचारप्रसारमा सहभागी भई मत मागिरहेको देखिएका थिए । 



यस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसमेत आचारसंहिता विपरीत आफ्नो निर्वाचन क्षेत्रबाहेकको क्षेत्रमा सभा सम्मेलन तथा घरदैलोमा सहभागी भएका थिए । यस सम्बन्धमा धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले आचारसंहिता अनुसार स्थानीय तहका पदाधिकारीहरु कुनै पनि चुनावी सभामा सहभागी हुँदा दर्शकदिर्घामा बस्न पाउने बताए । उनले स्थानीय तहका पदाधिकारीहरु आफ्नै पालिकाभित्र आयोजना हुने चुनावी कार्यक्रममा मञ्चमै बस्नु आचारसंहिताविपरीतको गतिविधि रहेको जानकारी दिए । 

उपमेयर साह उम्मेदवारसँगै मञ्चमा बसेका थिए ।

  • प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार १९:५५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया