नेकपा एमालेका युवा नेता ठाकुर गैरे पहिलोपटक संसदीय चुनावी मैदानमा होमिएका छन् । उनी पाल्पा क्षेत्र नं २ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेसँग चुनावी प्रतिस्पर्धामा छन् ।
पाण्डे २०५१ सालदेखिका सदाबहार उम्मेदवार हुन् । पाण्डे छैटौँपटक चुनावी मैदानमा छन् । पाल्पा २ मा पाण्डेको पार्टीको संगठन कमजोर मानिन्छ । तर, सत्ता गठबन्धनको बलियो साथ छ ।
सांगठनिक रुपमा यहाँ एमाले बलियो छ । स्थानीय तह निर्वाचनमा एमालेले जिल्लाका १० मध्ये ६ वटा पालिका आफ्नो पक्षमा पारेको थियो । एमालेबाट पहिलोपटक प्रत्यक्ष निर्वाचनमा होमिएका छन् युवा नेता गैरे । स्थानीय निर्वाचनको नतिजाले पनि संसदीय यात्रामा सहज जित निकाल्नेमा विश्वस्त रहेको गैरेको दाबी छ ।
नेकपा एसको लुम्बिनी प्रदेश अध्यक्ष रहेका पाण्डे पार्टी अध्यक्ष माधव नेपालका सम्धी हुन् । माधव नेपालको आफन्त भएकै कारण उनले पटक–पटक अवसर पाउँदै आएको आरोप खेप्दै आएका छन् ।
एमालेमा रहँदा पाण्डे र गैरे एउटै समूहमा थिए । पाण्डेकै कारण युवा–विद्यार्थीमाझ चर्चित गैरे ओझेलमा पर्दै आएको उनका निकटवर्तीहरु बताउँछन् । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य र पोलिटब्युरो सदस्य बनेका गैरेले पार्टीबाट संसदीय यात्रामा पहिलोपटक अवसर पाएका हुन् ।
चितवनमा सम्पन्न एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा गैरे केन्द्रीय सदस्यमा बढी मत ल्याउने दोस्रो सदस्य बनेका थिए । देवी ज्ञवालीले १८७७ मत पाउँदा गैरेले १८३२ मत पाएका थिए । महाधिवेशनको मतले उनको पार्टीभित्रको लोकप्रियतालाई पुष्टि गर्छ ।
स्थानीय तह निर्वाचनको मतलाई आधार मान्ने हो भने पनि एमले यो क्षेत्रको पहिलो संगठन हो । वडा अध्यक्षले पाएको मतअनुसार यहाँ एमालेको ३० हजार ५३६, कांग्रेसको २९ हजार ३९, माओवादीको ४ हजार ३१३, राष्ट्रिय जनमोर्चाको ८८४ र एकीकृत समाजवादीको ४३३ मत रहेको छ ।
सत्तागठबन्धनले ४३३ मत भएको पार्टीलाई उम्मेदवार बनाएका कारण सत्तागठबन्धनका अन्य दल असन्तुष्ट रहेको बताइन्छ । पाण्डेले पटकपटक अवसर पाएर पनि सो क्षेत्रका लागि उल्लेखनीय काम नगरेका कारण आफ्नो जित निश्चित भएको गैरेको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।