रुसले युक्रेनी भौतिक पूर्वाधारमा भीषण हवाई हमला गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ ।
युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चार महिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केहीदिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन् । इस्तानबुलमा टर्कीसहित रुस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौतालाई कार्यान्वयन गराउन राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
महासचिव गुटरेसले अनाज निर्यातका निम्ति समयावधि थपिएको सम्बन्धमा गर्नुभएको घोषण तथा पुरानो सम्झौताको निरन्तरताबारे रुसले तत्काल केही जानकारी दिएको छैन । युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला मस्कोले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर युद्धविभिषिका चर्काएको छ ।
किएभको सैनिक प्रशासनले दुई वटा रुसी क्षेप्यास्त्र तथा इरानमा बनेका पाँच वटा मानवरहित विमान खसालेको बताएको छ । स्थलयुद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बढाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।