महानिरीक्षक अर्याल भन्छन् - सीमा नाका बन्द छन्, निर्वाचनमा बाह्य प्रभाव पर्नेछैन [अन्तर्वार्ता]

यति बेला आसन्न निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोग र सरकारले निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरू बन्द छन् । 

मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ । निर्वाचनमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदै छन् । मुख्य गरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ । 

निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै सबै सुरक्षा निकायले आफ्नो सुरक्षा व्यवस्था कडा बनाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हुने सुरक्षा व्यवस्थाको सम्बन्धमा निर्वाचनको समग्र सुरक्षा व्यवस्थामा सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थाका बारेमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँग गरिएको कुराकानी :

निर्वाचनमा समग्र सुरक्षा व्यवस्थाको कुरा गर्दा सशस्त्र प्रहरी बल, नेपालले पाएको जिम्मेवारीको अवस्था कस्तो छ ?
निर्वाचनको समग्र सुरक्षा व्यवस्थाको सम्बन्धमा भन्दा एकीकृत सुरक्षा योजना जुन तयार भइसकेको छ, नेपाल सरकाले बनाएको, निर्वाचन आयोगले बनाएको । एकीकृत सुरक्षा योजना अनुसार सशस्त्र प्रहरी बलको जिम्मेवारीभित्र जुन जुन कुराहरू हामीले गर्नुपर्ने भन्नेछ, जस्तो: निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा । समग्र रूपमा भन्ने हो भने निर्वाचन अगाडी, निर्वाचनको दिनमा र निर्वाचन पछि मतगणना स्थलसम्मको सम्पूर्ण सुरक्षाको व्यवस्था भइसकेको छ । यसको लागि सुरक्षाको पाटोमा हेर्दा नेपाली सेना, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय र सहकार्यमा सुरक्षा व्यवस्थालाई अन्तिम चरणमा गएर सबै जना फिल्डमा खटिसकेको अवस्था छ । निर्वाचनको सुरक्षा सम्बन्धमा पूर्ण रूपमा तैनाथीको काम सकिसक्यो ।

निर्वाचनका लागि कस्ता खालका चुनौती आकलन गरेका छौँ ? कसरी विश्लेषण गरेका छौँ ?
सुरक्षा चुनौती दिनानुदिन नयाँ–नयाँ हुँदै जाने गर्छन् । भर्खरै स्थानीय चुनाव सकियो । त्यो चुनाव हाम्रै सुरक्षा योजना अनुसार हामीले शान्तिपूर्ण रूपमा भयरहीहत रूपमा सम्पन्न गर्‍यौँ । त्यसको अनुभवका आधारमा यसपालिको सुरक्षा योजना त्यही अनुसार तयार गरेका छौँ । दुई प्रकारको सुरक्षा चुनौतीहरूलाई मैले बनाएको छु । आन्तरिक र बाह्य सुरक्षा चुनौती । सशस्त्र प्रहरी बलले सीमा सुरक्षा गर्ने जिम्मेवारी पाएको कारणले गर्दा खेरी सम्पूर्ण सीमा नाकाहरू निर्वाचनको दिनको ७२ घण्टा अगाडीबाट बन्द गर्नुपर्ने अवस्था छ, जुन हिजो रातिबाट कार्यान्वयनमा आइसकेको छ । 

त्यो अवधिमा सीमा नाकाहरू बन्द गर्नुपर्ने र छिमेकी देशहरूबाट हाम्रो देशमा मान्छेहरू आउने क्रमलाई रोक्नुपर्ने, आवतजावत बन्द गर्नुपर्ने थियो त्यो पूरा गरिसकेका छौँ । त्यो अवस्थामा मान्छेहरू आउँदा खेरी साना हतियारहरू लिएर आउने, आपराधिक मनोवृत्तिका मान्छेहरू भित्र छिर्ने, निर्वाचनलाई प्रभाव पार्न सक्ने, यस्तो क्रियाकलाप नहोस् भनेर हामीले अन्तर्राष्ट्रिय रूपमा छिमेकी देशको सुरक्षाकर्मीहरू सँग समन्वय गरेर । 



उदाहरणका लागि हाम्रो दक्षिणपट्टि २२० वटा बोर्डर आउटपोष्टहरु छन् भने त्यो २२० वटा बोर्डर आउटपोष्टहरु हाम्रो स्थायी चेक पोइन्ट त्यहीँ बसेको छ । कोभिडको बीचमा हामीले १२०० वटासम्म चेक पोइन्टहरु राखेका थियौँ । त्यस्तै हाम्रो चेक पोइन्टले नपुगेको ठाउँ–ठाउँमा, बीचमा ग्यापलाई परिपूर्ति गर्नका लागि भारतको एसएसबीसँग पनि समन्वय गरेर त्यो ग्यापमा उहाँहरुको ड्युटी तैनाथी हुन्छ । र आवतजावत पूर्ण रूपमा बन्द गरी यो निर्वाचनमा बाह्य कुनै प्रभाव नपर्ने व्यवस्था हामीले मिलाएका छौँ । अब आन्तरिक रूपमा भन्नुपर्दा, मतदान स्थलको सुरक्षामा नेपाल प्रहरी, म्यादी प्रहरी खटिएको हुन्छ । 

त्यसभन्दा बाहेक बाहिर हामी हुन्छौँ । नेपाली सेना हुन्छ । मतदाताको घरदेखि मतदान स्थलसम्म पुग्नका लागि त्यो सम्पूर्ण रुटको, बाटोको सुरक्षा गर्ने जिम्मेवारी पनि हामीमा छ । शान्तिपूर्वक रूपमा, भयरहित, निर्धक्क तरिकाले गएर आफ्नो मतदान गरेर फर्किने अवस्था सम्मलाई उहाँहरूलाई सुरक्षितसँग घरबाट मतदान स्थल र मतदान स्थलबाट घरसम्म पुर्‍याउनको लागि सशस्त्र प्रहरी बलले मोबाइल, स्ट्रयाकिङ, चेकपोइन्टहरु राखेर मतदातालाई ढुक्कसाथ निर्वाचन गर्ने वातावरण बनाउनको लागि सुरक्षा तैनाथी भइसकेको छ र यो कुरा सम्पूर्ण फिल्डसम्म निर्देशन जारी भइसकेको छ ।



आन्तरिक चुनौतीको कुरा गर्दा विभिन्न रूपमा निर्वाचनको वातावरण बिथोल्ने प्रयास हुनसक्छ, यसलाई कसरी विश्लेषण गर्नुभएको छ ? कुनै निगरानी छ कि छैन ?
निर्वाचनको दिनमा निर्वाचन कसरी शान्तिपूर्ण सम्पन्न गर्न सकिन्छ भन्ने हिसाबले सबैभन्दा महत्त्वपूर्ण कुरा सूचना हो । सूचनालाई विश्लेषण गर्नका लागि हामीले छुट्टै टिम पनि राखेका छौँ । र स्थानीय स्तरमा पनि सूचनालाई महत्त्व दिएर त्यो सूचनाको विश्लेषण अनुसार कुन ठाउँमा कत्तिको संवेदनशील छ ? कस्ता खालका घटनाहरू हुनसक्छ ? त्यहाँ दुई किसिमको घटनाहरू हुनसक्छ, एउटा निर्वाचन बहिष्कारवादीहरूले गर्न सक्ने घटना हुनसक्छ भने अर्को राजनीतिक दलहरूको आपसी झडपको घटनाहरू पनि हुन सक्छन् । यो दुई वटै घटनाहरूलाई कसरी सकेसम्म हुन नदिने र भइहाल्यो भने पनि निर्वाचनलाई बिथोल्न नदिने, निर्वाचनलाई स्थगित हुन नदिने गरी हामीले योजना बनाएका छौँ । त्यही योजना अनुसार नै यो निर्वाचन सम्पन्न हुन्छ ।

मतदान स्थलमा मत खसेपछि मत गणना स्थलसम्म लैजान कसरी बन्दोबस्त गर्नुभएको छ ? यी कामका लागि चाहिने सामग्रीहरूको बन्दोबस्त कस्तो छ ? कत्तिको पर्याप्त छ ? कसरी व्यवस्थापन गरिएको छ ?
मतदान सकिएपछि मतपेटिकाहरूलाई सुरक्षितसाथ मत गणना स्थलसम्म पुर्‍याउनका लागि निर्वाचन क्षेत्र क्षेत्रमा टोली खटिएको हुन्छ । निर्वाचन क्षेत्रको हिसाबले हाम्रो परिचालन छ । मतपेटिकाहरूलाई सुरक्षितसाथ मतगणना स्थल सम्म लैजान्छौँ । लजिस्टिकको कुरा पर्याप्त छन् कि छैनन् भन्ने कुरामा अहिले जति हामीलाई प्राप्त भइसकेको छ, त्यसको लागि हामीले राम्रोसँग व्यवस्थापन गरेका छौँ र केही कुराहरू अपुग भयो भने पनि स्थानीय सरकार र स्थानीय स्रोत, साधन जुटाएर त्यसको लागि कुनै समस्या नहुने गरी सुरक्षाको वातावरण मिलाएका छौँ ।

अन्त्यमा, सशस्त्र प्रहरी बल, नेपालको प्रमुखको रूपमा यहाँले मतदाताहरूलाई निर्वाचनको सुरक्षाको विषयलाई लिएर भन्नुपर्ने केही छ कि ?
 हाम्रो मुख्य लक्ष्य भनेको यो निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने, यसलाई राज्यले एउटा महाअभियानको रूपमा लिएको छ । यो अभियानलाई पूरा गर्नको लागि सुरक्षाको तर्फबाट कुनै पनि किसिमको कमी कमजोरी हुन्न । मतदाता महानुभावहरू यहाँहरूले कुनै पनि किसिमको डर, धम्की, त्रासको वातावरण पाउनुहुने छैन । ढक्ककासाथ मतदान गर्ने वातावरण हुन्छ । त्यस कारण बढीभन्दा बढी सहभागिता जनाएर मतदान कार्यमा सहभागी हुनका लागि म यहाँहरू सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु । 

  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १५:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया