घरेलु टाेली नेपालले युएईविरुद्धकाे एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेकाे छ । नेपालले आज सम्पन्न तेस्रो तथा अन्तिम खेलमा ६ विकेटकाे जित हात पार्दै तीन खेलकाे सिरिज २-१ ले आफ्नाे पक्षमा पारेकाे हाे ।
नेपालले घरेलु मैदानमा जितेकाे याे पहिलाे एकदिवसीय सिरिज हाे । यसअघि नेपालले पपुवा न्युगिनीसँगकाे दुई खेलकाे सिरिज २-० ले हारेकाे थियाे ।
१७७ रनकाे लक्ष्य नेपालले ४०.१ ओभरमा चार विकेट गुमाउँदै भेट्टायाे । नेपालका लागि आरिफ शेख र ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले ।
८८ रनमा अविजित रहेका शेखले ११९ बलकाे सामना गर्दै १२ चाैका प्रहार गरे । मल्लले ७३ बलमा सात चाैका र तीन छक्कासहित ६४ तथा कप्तान राेहितकुमार पाैडेलले १० रन जाेडे ।
मल्ल र शेखले दोस्रो विकेटका लागि १२२ रनकाे उत्कृष्ट साझेदारी गरेका थिए । युएईका लागि हजरत बिलाल र आयन खानले समान एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयाे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १७६ रन बनाएकाे थियाे ।
उसका लागि आयन खानले अविजित रहँदै ६३ बलमा सात चाैका र एक छक्कासहित ५४ रनकाे अर्धशतकीय पारी खेले । अलिसान सराफुले ३३, राेहन मुस्ताफाले २४, हजरत बिलालले अविजित २० र माेहम्मद वासिमले ११ रन जाेडे l
अन्तिम विकेटका लागि खान र बिलालले अविजित ८३ रनकाे साझेदारी गर्दै युएईकाे पारी उकासेका थिए ।नेपालका लागि कुशल भर्तेल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुई / दुई तथा साेमपाल कामी र ललितनारायण राजवंशीले एक/एक विकेट लिँदा एक विकेट रन आउटका रूपमा प्राप्त गरे ।
सिरिजकाे पहिलाे खेलमा युएई ८४ रन तथा दोस्रो खेलमा नेपाल तीन विकेट विजयी भएका थिए।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।