सुदूरपश्चिमका ७६ प्रतिशत मतदानस्थल संवेदनशील, बाजुरा सर्वाधिक जोखिमयुक्त

आइतबार हुने निर्वाचनका लागि सुदूरपश्चिममा सबै तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेशका एक हजार १ सय ६१ मतदान स्थलमा मतदान अधिकृत, कर्मचारी, मत पत्र र पम पेटिका पुगिसकेका प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बताए ।

भट्टका अनुसार सुदूरपश्चिमका एक हजार १ सय ६१ मतदान स्थल मध्य ४ सय ५ मतदान स्थल मात्र भौगोलिक तथा सुरक्षाका दृष्टिले सामान्य स्थितमा राखिएका छन् । तर ७ सय ५६ स्थल भने सुरक्षाका दृष्टिले संवेदनशील  र अति संवेदनशील मतदान स्थलको सूचीमा राखिएका छन् । प्रदेशका ३ सय ५२ मतदान स्थल अति संवेदनशील र ४ सय ४ स्थललाई संवेदनशील मतदान स्थलको सूचीमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार भौगोलिक अवस्था, सुरक्षा चुनौतीलगायतका आधारमा सुरक्षा निकायले मतदान स्थललाई वर्गीकरण गरेको छ । १६ प्रतिनिध तथा ३२ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा दुई हजार १ सय ४६ मतदान केन्द्र निर्धारण गरिएका छन् । तीमध्ये ७ सय १० अति संवेदनशील, ७ सय ७८ संवेदनशील र ६ सय ५८ मतदान केन्द्रलाई सामान्य अवस्थामा राखेर सुरक्षा परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

सोही अनुसार प्रदेशमा साढे १७ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर १७ हजार ८ सय ५९ सुरक्षाकर्मी परिचालन गरिएको हो । 

निर्वाचनको दिन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित म्यादी प्रहरी फरक–फरक ठाउँमा तैनाथ हुनेछन् । मंसिर ४ गते हुने चुनावलाई लक्षित गरेर सुदूरपश्चिम प्रदेशका सुरक्षा प्रमुखले बाजुरामा अनुगमन गरेका छन् ।

गत वैशाखमा भएको स्थानीय चुनावमा बाजुराको बूढीगंगामा पहिलो चरणमा चुनावमा धाँधली भएको भन्दै दोस्रो चरणमा चुनाव भएको थियो । स्थानीय चुनावमा भएका गतिविधि र विगतका क्रियाकलापलाई आधार मानेर बाजुरालाई अतिसंवेदनशील जिल्लाका रुपमा राखिएको छ ।



बाजुरा जिल्लाका ७० मध्ये ४ वटा मतदानस्थल मात्रै सामान्य अवस्थाका छन् । ४३ वटा मतदान केन्द्र अतिसंवेदनशीलको सूचीमा बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले जानकारी दिए । यस्तै २३ वटा मतदानस्थल संवेदनशील रहेका विष्टले बताए ।



  • प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार १९:५८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया