कर्णालीको मतदान ‘प्रिडिक्सन’ : करिब सात लाख मत खस्छन्

२०७४ सालको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन बखत कर्णालीमा कुल आठ लाख ४६ हजार नौ सय ४१ मतदाता थिए । पाँच वर्षको समयमा कर्णालीमा एक लाख ६१ हजार चार सय ६२ मतदाता थपिएका छन् । हाल प्रदेशमा कुल १० लाख आठ हजार चार सय तीन जना मतदाता नामावलीमा समावेश छन् ।

यस अघिको प्रदेश सभा तर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा हेर्ने हो भने कर्णालीमा ६८ दशमलव  ७१  प्रतिशत मत खसेको देखिन्छ । प्रतिशतका आधारमा सबैभन्दा धेरै मत खसेको जिल्ला हुम्ला हो । हुम्लाका ८० प्रतिशत मतदाता मतदानमा सहभागी भए । यहाँ अघिल्लो निर्वाचनमा कुल २७ हजार चार सय ३५ मतदाता थिए, जस मध्य २१ हजार नौ सय ७० मतदाता मतदानमा सहभागी भएका छन् । 

यसै गरी मतदाताको न्यून उपस्थित रहेका जिल्ला सल्यान रह्यो । सल्यानका कुल एक लाख ३४ हजार दुई सय १३ मतदाता मध्य ८३ हजार सात सय ६६ जना मतदाताले मतदान गरेको निर्वाचन आयोगको तथ्याङ्क छ । कर्णालीका अन्य जिल्लाहरूको तुलनामा सल्यानमा ६२ दशमलव  ४१ प्रतिशत मतदाताले मतदान गरेका थिए ।

०७४ को प्रदेश सभाका लागि प्रत्यक्ष तर्फ खसेको मतलाई आधार मान्ने हो भने हालको निर्वाचनमा ६ लाख ९३ हजार एक सय ८८ मत खस्ने सम्भावना देखिन्छ । यस तथ्याङ्कलाई आधार मान्ने हो भने कर्णालीमा ६८ दशमलव  ७४ प्रतिशत मत खस्न सक्ने आकलन गर्न सकिन्छ ।

जिल्लागत रूपमा हेर्दा कालिकोटमा यस अघि ४२ हजार ६ सय ६३ मत खसेको थियो । अहिलेको कालिकोटमा ८० हजार सात सय ३३ मतदाता छन् । अघिल्लो निर्वाचनको तथ्याङ्क आधार मान्ने हो भने यस पालिको निर्वाचनमा कालिकोटमा ५३ हजार २१ मत खस्ने सम्भावना देखिन्छ ।

यसै गरी जाजरकोटमा हाल एक लाख तीन हजार तीन सय ६३ मतदाता छन् । यस अघि जाजरकोटमा ६० हजार नौ सय ९६ मत खसेको थियो । सोही तथ्याङ्कलाई आधार मान्ने हो भने जाजरकोटमा ७४ हजार सात सय ४३ मत खस्न सक्छ । जुम्लामा यसअघि ४१ हजार चार सय ५९ मत खसेको देखिन्छ । अहिले जुम्लामा मतदाताको सङ्ख्या ६८ हजार ६ सय ३८ पुगेको छ । यस आकलनमा जुम्लामा ४८ हजार एक सय ८३ मत खस्न सक्छ ।



सङ्ख्यात्मक रूपमा सबैभन्दा थोरै मतदाता रहेको जिल्ला डोल्पा हो । यस अघिको निर्वाचनमा डोल्पामा कुल १८ हजार सात सय ६८ मतदाता थिए । सो समयमा १५ हजार आठ सय १३ मत खसेको थियो । अहिले यहाँ २२ हजार सात सय ७४ मतदाता छन्, अघिल्लो निर्वाचनको आधारमा यसपालि डोल्पामा १९ हजार एक सय ८८ मत खस्न सक्छ ।

कर्णालीमा धेरै मतदाता रहेको जिल्ला मध्य दैलेख दोस्रोमा पर्छ । यहाँ हाल एक लाख ५८ हजार नौ सय ५८ मतदाता छन् । अघिल्लो निर्वाचनमा दैलेखमा कुल ६५ दशमलव ८२ प्रतिशत मात्र मत खसेको थियो । सोही आधारमा हाल एक लाख चार हजार ६ सय ३३ मत खस्ने आकलन छ । मत बदर हुने जिल्ला मध्य दैलेख धेरै मत बदर रहने जिल्ला पनि हो ।



यस अघिको निर्वाचनमा मुगुमा ७८ दशमलव ८१ प्रतिशत मत खसेको थियो । सो समय मुगुमा ३० हजार १५ जना मतदाता थिए, अहिले ३५ हजार चार सय ८५ जना मतदाता पुगेका छन् । यस आधारमा यहाँ २७ हजार नौ सय ६७ मत खस्ने सम्भावना देखिन्छ ।

रुकुम पश्चिममा अहिले एक लाख चार हजार दुई सय ८० जना मतदाता छन् । यस अघिको निर्वाचनमा यहाँ ८४ हजार ३२ मतदाता मध्य ५५ हजार चार सय ४८ मतदाता निर्वाचनमा सहभागी भएको देखिन्छ । सोही तथ्याङ्कलाई आधार मान्दा यसपालिको निर्वाचनमा रुकुम पश्चिममा ६८ हजार आठ सय नौ मतदाता निर्वाचनमा सहभागी हुन सक्छन् ।

सल्यानमा यसअघि एक लाख ३४ हजार दुई सय १३ मतदाता थिए, अहिले यो सङ्ख्या एक लाख ५७ हजार सात सय एक पुगेको छ । अघिल्लो निर्वाचनमा यहाँ ८३ हजार सात सय ६६ मत खसेको थियो । हालको समयमा भने ९८ हजार चार सय २६ मत खस्ने आकलन गर्न सकिन्छ ।

कर्णाली प्रदेशमा सबैभन्दा धेरै मतदाता रहेको जिल्ला सुर्खेत हो । यस अघि यहाँ दुई लाख चार हजार पाँच सय ५७ मतदाता थिए, अहिले यो सङ्ख्या दुई लाख ४३ हजार ६ सय १४ पुगेको छ । यस अघिको निर्वाचनमा यहाँ ७० दशमलव ५७ प्रतिशत अर्थात् एक लाख ४४ हजार तीन सय ६० मत खसेको थियो । 

सोही आधारमा हालको निर्वाचनमा सुर्खेतमा एक लाख ७१ हजार नौ सय सात मत खस्न सक्छ । यस अघिको प्रदेश सभाको प्रत्यक्ष तर्फ सबैभन्दा धेरै मत खसेको जिल्ला हुम्लामा ८० प्रतिशत बढी मत खसेको थियो । सो समयमा हुम्लाका २७ हजार चार सय ३५ मतदाता मध्यबाट २१ हजार नौ सय ७० मत खसेको थियो । हाल हुम्लामा ३२ हजार आठ सय ५७ मतदाता छन् । यहाँ २६ हजार तीन सय १२ मत खस्न सक्छ ।

कति होलान् बदर मत ?
०७४ को प्रदेशसभा प्रत्यक्ष तर्फ आएका कुल मत मध्य २६ हजार पाँच सय ११ मत बदर भएका थिए । सो समयमा पाँच लाख ८१ हजार नौ सय ४८ मत खसेको थियो । सो मध्य पाँच लाख ५५ हजार चार सय ३७ मत मात्र सदर मत रहेको निर्वाचन आयोगको तथ्याङ्क छ ।

सो समयमा कालिकोटमा दुई हजार चार सय ५७ मत बदर भए । यसै गरी जाजरकोटमा चार हजार ५८, जुम्लामा एक हजार पाँच सय ५२, डोल्पामा तीन सय ६१, दैलेखमा चार हजार चार सय ३७, मुगुमा आठ सय ५६, रुकुम पश्चिममा दुई हजार तीन सय ६६, सल्यानमा पाँच हजार नौ सय, सुर्खेतमा तीन हजार नौ सय १६ र हुम्लामा ६ सय आठ मत बदर भएको आयोगको तथ्याङ्क छ ।

यी तथ्याङ्कलाई आधार मान्ने हो भने कर्णाली भर कुल ३१ हजार ६ सय चार मत बदर हुनसक्ने आकलन गर्न सकिन्छ । सङ्ख्यात्मक रूपमा हेर्दा सल्यानमा सबैभन्दा धेरै ६ हजार नौ सय ३३ मत बदर हुन सक्छ । यसै गरी सबैभन्दा थोरै मत बदर हुने जिल्लाका रूपमा डोल्पा हुन सक्छ । यहाँ चार सय ३८ मत बदर हुने आकलन गर्न सकिन्छ ।

निर्वाचनका दुई महत्त्व हुन्छन्, बढीभन्दा बढी सहभागिता र बदर मतको न्यूनीकरण । आसन्न निर्वाचनमा यी दुई पक्षलाई हेर्ने हो भने अघिल्लो तुलनामा मतदाता सहभागिता सङ्ख्या बढ्दा बदर मतको सङ्ख्या पनि तुलनात्मक रूपमा बढ्न सक्छ ।

बदर मत घटाउने प्रमुख अस्त्र नै मतदाता शिक्षा हो । मतदान प्रक्रियाका विषयमा मतदाताका सामु पर्याप्त सूचना भएमा बदर मत खट्न सक्छ । यस पालिको निर्वाचनमा मतदाता शिक्षाका लागि निर्वाचन आयोगले स्थानीय तहलाई जिम्मेवारी सुम्पिएको थियो । मतदाता शिक्षा सामाग्री उपलब्ध गराएपछि स्थानीय स्तरमै पालिकाले मतदाता शिक्षा थप प्रभावकारी बनाउन सक्ने आयोगको आकलन छ । निर्वाचनले मतदाता शिक्षाको विषयमा समेत नतिजा ल्याउनेछ ।

यता प्रदेश निर्वाचन आयोगको कार्यालय, सुर्खेतका निर्वाचन अधिकृत दुर्गा चालिसे भने अघिल्लो निर्वाचन भन्दा धेरै मत खस्ने आकलन रहेको जनाउँछन् । उनले भने, ‘अघिल्लो निर्वाचन भन्दा धेरै मत खस्ने आकलन गरेका छौँ ।’ 

  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार ८:०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया