कर्णालीका मतदातामा ५४ प्रतिशत युवा प्रतिनिधित्व

प्रतिनिधि सभा तथा प्रदेशसभाका लागि आज देशैभर मतदान हुँदै छ । निर्वाचनका लागि कर्णालीमा कुल नौ सय ३३ मतदान स्थल छन् । यी मतदान स्थलमा कुल एक हजार चार सय तीन मतदान केन्द्र छन् । प्रतिनिधि सभा तर्फ १२ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि २४ निर्वाचन क्षेत्र कर्णालीमा छन् ।

कर्णालीका मतदाताको उमेरगत विवरण हेर्दा यहाँ युवा मतदाताहरूको सङ्ख्या धेरै छ । कुल मतदाता मध्य आधा भन्दा धेरै सङ्ख्या युवाको छ । कर्णालीमा कुल १० लाख आठ हजार चार सय तीन मतदाता छन् । जस मध्य पाँच लाख १० हजार चार सय २० पुरुष, चार लाख ९७ हजार नौ सय ८० महिला र तीन जना अन्य (फरक लिङ्ग) मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

१८ वर्ष देखि ४० वर्षसम्मका मतदाता युवाहरूको सङ्ख्या कर्णालीमा पाँच लाख ५० हजार पाँच सय ९४ जना रहेको छ । कुल मतदाता मध्य यो सङ्ख्या ५४ प्रतिशत भन्दा धेरै हो । निर्वाचन आयोगको तथ्याङ्क अनुसार १८ देखि २५ वर्ष उमेर समूहका युवाहरूको सङ्ख्या कर्णालीमा एक लाख ७६ हजार एक सय ४६ जना रहेको छ । यी मध्य ९९ हजार पाँच सय ५४ जना पुरुष, ७६ हजार पाँच सय ९१ जना महिला र एक जना अन्य लिङ्गका मतदाता छन् । यसै गरी २६ देखि ४० वर्षसम्मको उमेर समूहका तीन लाख ७४ हजार चार सय ४८ जना युवा मतदाता छन् । यो उमेर समूहमा एक लाख ८९ हजार एक सय ८० जना पुरुष, एक लाख ८५ हजार दुई सय ६७ जना महिला र एक जना अन्य लिङ्गका युवा मतदाता रहेको आयोगले जनाएको छ ।

मतदाताको उमेरगत सङ्ख्या हेर्दा युवा मतदाताहरूको मतले उम्मेदवार छनौट अवसर पाएको छ । यसै गरी ४१ वर्षदेखि ५० वर्ष उमेर भएका पुरुष मतदाताको सङ्ख्या ८० हजार पाँच सय ७८ जना, महिला मतदाता ८९ हजार ९० जना र एक जना अन्य लिङ्गका रहेका छन् ।

५१–६० वर्ष उमेर समूहमा ६७ हजार तीन सय ९२ जना पुरुष र ६८ हजार पाँच सय सात जना महिला छन् । ६१–७० वर्षिया उमेर समूहमा ४४ हजार पाँच सय ८६ जना पुरुष र ४४ हजार ६ सय ७६ जना महिला छन् । ७१–८० वर्ष उमेर समूहमा २२ हजार आठ सय ८६ जना पुरुष र २६ हजार तीन सय ५५ जना महिला छन् । यसै गरी ८१ वर्षभन्दा माथि उमेर रहेका मतदाताहरूको सङ्ख्या कर्णालीमा ६ हजार दुई सय ३५ जना पुरुष र सात हजार चार सय ९४ जना महिला रहेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश सभा तर्फ कुल सिट सङ्ख्या ४० वटा छ । २४ जना प्रत्यक्षबाट निर्वाचित भएर आउँछन् भने १६ जना समानुपातिक तर्फबाट चुनिन्छन् । राजनैतिक दल तथा स्वतन्त्र तर्फबाट कर्णालीको कुल ४० सिटका लागि तीन सय १६ जनाको उम्मेदवारी छ । जस मध्य प्रत्यक्ष तर्फ एक सय १६ जना र समानुपातिक तर्फ दुई सय जनाको उम्मेदवारी रहेको निर्वाचन आयोगले जनाएको छ ।



प्रत्यक्ष तर्फको उम्मेदवारमा एक सय १३ जना पुरुष उम्मेदवार र तीन जना महिला उम्मेदवार छन् । निर्वाचनमा प्रत्यक्ष तर्फ १५ वटा दल र समानुपातिक तर्फ २८ वटा दलले निर्वाचनमा सहभागिता जनाएका छन् । प्रतिनिधि सभा तर्फ राष्ट्रिय रूपमै थोरै उम्मेदवार रहेको १० वटा निर्वाचन क्षेत्र मध्य कर्णालीका पाँच निर्वाचन क्षेत्र समेत समावेश छन् । हुम्लाको–१, डोल्पा–१, मुगु–१, जुम्ला–१ र दैलेख–२ निर्वाचन क्षेत्र थोरै उम्मेदवार रहेको निर्वाचन क्षेत्र हुन् । यी निर्वाचन क्षेत्र मध्य हुम्ला–१ मा तीन जना उम्मेदवार छन् । यी सबै उम्मेदवार पुरुष हुन् । अरू निर्वाचन क्षेत्रमा भने पाँच–पाँच जनाको उम्मेदवारी छ । जस मध्य जुम्ला–१ मा मात्रै एक जना महिलाको उम्मेदवारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

कर्णालीमा सुरक्षा संवेदनशीलताका दृष्टिकोणले तीन सय ४५ मतदान केन्द्र अति संवेदनशील मानिएका छन् । यसै गरी चार सय १३ मतदान केन्द्र संवेदनशील र एक सय ४३ मतदान केन्द्र सामान्य रहेका आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।



जिल्लागत रूपमा सबैभन्दा धेरै सङ्ख्यामा कालिकोटमा ७४ मतदान केन्द्र अतिसम्वेदनशिल छन् । जुम्लामा ५३ मतदान केन्द्र सुरक्षा र भौगोलिक हिसाबले अति संवेदनशील रहेका छन् ।
मन्त्रालयका अनुसार निर्वाचनका बेला कुनै घटना घटेमा १५ देखि ३० मिनेट भित्र मतदान केन्द्रमा पुग्ने गरी नेपाली सेनालाई तयारी अवस्थामा राखिएको छ । प्रदेशभर सबैभन्दा धेरै मतदाता सुर्खेतमा रहेका छन् । सुर्खेतमा २ लाख ४३ हजार ६ सय १४ मतदाता छन् भने मतदान केन्द्र दुई सय ९३ रहेका छन् ।

यसै गरी कर्णाली प्रदेशभर १४ हजार आठ सय सात जना सुरक्षाकर्मी परिचालन गरिएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन मतदान स्थलमा पाँच हजार सात सय २९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी सुरक्षाका लागि खटाइएका थिए ।

यस्तै आवश्यकताका आधारमा सशस्त्र प्रहरी र नेपाली सेनाको थप जनशक्ति परिचालन गरिएको प्रदेश प्रहरी प्रवत्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले बताए । प्रहरीले मतदान स्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा सिनियर प्रहरी अधिकृतको कमाण्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाइएको थियो। अहिले देशभर मतदान भइरहेको छ । 

  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १३:३०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया