कम मत खस्नुका यी हुनसक्छन् चार कारण
फरकधार / ४ मंसिर, २०७९

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आइतबार विहान सुरु भएको मतदानको पूर्वनिर्धारित समय सकिएको छ । आइतबार विहान ७ बजे सुरु भएको मतदान अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा सकिएको सुरक्षा निकाय तथा निर्वाचन आयोगका दाबीहरुले देखाएको छ । 



विभिन्न स्थानमा भएका छिटफूट घटनाका कारण कम्तिमा १५ स्थानमा मतदान स्थगित भएको छ । केही स्थानमा विहान गरिएको मतदानलाई रद्द गरेर फेरि मतदान गरिएको रिपोर्टहरु पनि आएका छन् ।

समग्रमा हेर्दा यसपटकको निर्वाचन शान्तिपूर्णरुपमा सकिएको निष्कर्ष निकाल्न सकिन्छ । 



तर, पछिल्लो समय आएका विभिन्न तथ्यांकमा यसपटक मतदान खासै उत्साहपूर्ण नभएको निष्कर्ष निकाल्न सकिन्छ । निर्वाचन आयोगका कार्यालयहरुले दिएको जानकारीअनुसार अधिकांश स्थानमा ५० देखि ६० प्रतिशतको बीचमा मत खसेको देखिन्छ । निर्वाचन आयोग स्वयंले देशभर झन्डै ६० प्रतिशत जति मत खसेको हुनसक्ने अनुमान गरेको छ । यो तथ्यांक भोलि विहानसम्म अपडेट हुने देखिन्छ । 



यसअघि निर्वाचन आयोगले आजको मतदानमा ७० प्रतिशत मत खस्ने अनुमान गरेको थियो । तर, निर्वाचन आयोगले गरेको अनुमानभन्दा निकै कम मत खसेको छ ।

पाँच वर्षपछि भएको निर्वाचनमा आखिर मतदातामा किन उत्साह देखिएन त ? यसका चार कारण हुनसक्ने अनुमान हामीले लगाएका छौँ ।

पहिलो कारण हो, राजनीतिप्रति जनताको वितृष्णा र निराशा । २०७४ सालमा स्थिर सरकारको परिकल्पना गर्दै बनेको वाम गठबन्धनलाई दुई तिहाई मत दिएर निर्वाचित गरेका नेपालीले सोचेजस्तो नतिजा पाएनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार संविधान विपरित संसद भंग गरे, उनको पार्टी नेकपा छिन्नभिन्न भयो । यसले देशमा थप अस्थिरता ल्यायो ।

यहीबीचमा विश्वव्यापी महामारी कोरोनाभाइरसको समयमा पार्टीको नेतृत्वमा वा सरकारको नेतृत्वमा रहेकाहरुले जनतालाई आशावादी काम गरेर देखाएनन्, बरु नयाँ काण्डहरु बाहिर आउँदै गए । पछिल्लो समय नेपालमा आर्थिक अवस्था निकै कमजोर भइरहेको छ । तर, राजनीति गर्नेहरुले यसबारे सम्बोधन गर्न सकेका छैनन् । यी यावत् कारणहरुले जनतामा राजनीति वा नेताप्रति वितृष्णा बढेको र निराशा बढ्दै गएको प्रष्ट हुन्छ । 

यो वितृष्णा र निराशाबीच मतदान गर्न आम मानिसहरु मतदान केन्द्रसम्म नपुगेका हुनसक्छन् ।

दोस्रो कारण हो, दलहरुले उठाएका उही पुराना अनुहार । निर्वाचनको मिति घोषणा भएपछि र उम्मेदवारहरुको चर्चा चल्न थालेपछि यसपटक सामाजिक सन्जालमा नोनट एगेन अभियान व्यापक चलेको थियो । यो अभियान चल्नुको कारण हो, यसपटक उम्मेदवार भएकाहरुको पुरानो अनुहार । कतिसम्म भने २०४८ सालपछि लगातार चुनावमा प्रतिस्पर्धा गरेका अनुहारहरुलाई यसपटक पार्टीहरुले फेरि टिकट दिए, फेरि उम्मेदवार बनाए । 

नेताले दिएका आश्वासन र गरेका प्रतिबद्धता पूरा नहुने तर बारम्बार उनीहरु नै निर्वाचनको समयमा उम्मेदवार बनेर आउने भएकाले पनि जनताले उनीहरुप्रति सद्भाव नदेखाएर यसपटकको निर्वाचनमा मत हाल्न मतदान केन्द्रसम्म पुगेनन् । बारम्बार एउटै नेतालाई जिताउनुको ककुनै अर्थ नभएको आम बुझाइले यसपटक काम गरेको हुनसक्छ ।

तेस्रो कारण हुनसक्छ, नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरुप्रति विश्वास नहुनु । यसपटक केही नयाँ पार्टी र केही स्वतन्त्र उम्मेदवारहरुले पनि उम्मेदवारी दिएका छन् । तर, स्वतन्त्र उम्मेदवारले संसद भवनमा छिरेर केही गर्न सक्दैन, नेपालको बहुदलीय प्रणालीमा एक्लो मान्छेको केही चल्दैन भन्ने बुझाइका कारण स्वतन्त्र उम्मेदवार भएकै ठाउँमा पनि मतदाताले मत दिन नगएका हुनसक्छन् । पार्टीहरुका पुराना अनुहारप्रति वितृष्णा, स्वतन्त्रले केही गर्न नसक्ने अनुमान र बुझाइका कारण पनि यसपटकको मतदानमा सोचेभन्दा कम मत खसेको हुनसक्छ ।

त्यस्तै, चौथो कारण हुनसक्छ, गठबन्धन । नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले अहिले सत्ता गठबन्धन भन्दै देशभर विभिन्न पाँच पार्टीले तालमेल गरेर चुनावमा होमिएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले यो गठबन्धन आगामी वर्षहरुमा पनि अगाडि बढ्ने बताउँदै आएका छन् । गठबन्धन सत्तामा पुग्नका लागि बनाइएको हो भन्ने आम बुझाइलाई चिर्न यी दलले सकेका छैनन् ।

गठबन्धन भएकै कारण कतिपय मतदाताले आफूले विश्वास गरेको पार्टीको चुनाव चिन्हमा मत दिन पनि यसपटक पाएनन् । आफ्नो पार्टीको उम्मेदवार नभएकोले मत दिन जानेको संख्या पनि यसपटक न्यून भएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १९:३७:५१,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया