चुनढुंगा उत्खननले हेटौँडाकाे मानव बस्ती जोखिममा

हेटौँडा– विभिन्न सिमेन्ट उद्योगलाई केन्द्रीय सरकारले भीमफेदी गाउँपालिका क्षेत्रमा चुनढुंगा उत्खननका लागि दिएको अनुमतिले त्यहाँको मानव बस्ती जोखिममा पर्ने गुनासो गरिएको छ । सिमेन्ट उद्योगका लागि चाहिने ढुंगा उत्खननले भीमफेदीको जनता उठिबास हुने स्थिति भएको भीमफेदी गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् । 

भीमफेदीमा हेटौँडा सिमेन्ट उद्योग, शालिमार सिमेन्ट उद्योग, ऋद्धिसिद्धी सिमेन्ट उद्योग र शिवम् सिमेन्ट उद्योगलगायतका उद्योगलाई ढुंगा खानीका लागि दिएको अनुमति खारेज गर्न ३ नम्बरका मुख्यमन्त्रीलाई ध्यानाकर्षणसमेत गराइएको छ । 

सो गाउँपालिकाकी उपाध्यक्ष पार्वती रानाले यस गाउँपालिका क्षेत्रमा सञ्चालित सिमेन्ट ढुंगा खानी कार्य बन्द गरिनुपर्ने र थप नयाँलाई अनुमतिपत्र दिन नहुने माग गरेकी छन् । त्यसको लागि स्पष्ट मापदण्ड बनाउनुपर्नेमा पनि उनको माग रहेको छ । शालिमार सिमेन्ट उद्योगले सोही गाउँपालिका–२ मा, ऋद्धिसिद्धीले वडा ३ मा र शिवम्ले वडा ५ मा चुनढुंगा उत्खनन निरन्तर गरिरहेकोे बुझिएको छ । 

उक्त चारवटा सिमेन्ट उद्योगले एउटै गाउँपालिकाको विभिन्न वडामा चुनढुंगा उत्खनन गर्दा वडा नं १ देखि ६ सम्मको मानव बस्ती जोखिममा पर्ने स्थानीय जीवन लामाले बताए । गााउँपालिकाका अध्यक्ष हिदम लामाले केन्द्र सरकारबाट यस गाउँपालिकालाई उद्योगको चुनढुंगा उत्खननबारे जानकारी नभएको बताए । उता, सम्बन्धित सिमेन्ट उद्योगका सञ्चालकले सरकारको अनुमतिबाट सो गाउँपालिकामा काम गरिरहेको बताएका छन् ।





  • प्रकाशित मिति : माघ २६, २०७५ शनिबार १५:१०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया