logo-img

विराटनगर र जनकपुरमा लिटिल एञ्जल्स् एजुकेसन ग्रुपको कार्यशाला

काठमाडौंको लिटिल एञ्जल्स् एजुकेसन ग्रुपले ‘शिक्षा क्षेत्रमा उत्कृष्ट शिक्षण सिकाइको पद्धति के हुन सक्छ ?’ भन्ने जिज्ञासाको जवाफ खोज्ने उदेश्यले विराटनगर तथा जनकपुरमा एक–एक दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।

मंगलबार काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिटिल एञ्जल्स् कलेज अफ म्यानेजमेन्टले सामाजिक दायित्व अन्तर्गत शिक्षण सिकाइको उत्कृष्ट पद्धतिको खोजी गर्ने अभिप्रायले विराटनगरमा कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । त्यस्तै यही गोष्ठी गत शनिबार जनकपुरधाममा पनि आयोजना गरिएको थियो ।

विराटनगरका मेरिल्याण्ड कलेज, अरनिको कलेज, नेशनल एकेडेमी, विराट मोडल कलेज, शिक्षादीप कलेज तथा ग्रीनल्याण्ड कलेजका शिक्षकहरुलाई समावेश गर्दै शिक्षण सिकाइको उत्कृष्ट पद्धतिका विषयमा गोष्ठीकै माध्यमबाट छलफल गरिएको थियो । शनिबारको गोष्ठिमा भने जनकपुरधामका विभिन्न कलेज, स्कुल तथा विश्वविद्यालयका शिक्षकहरूले सहभागिता जनाएका थिए ।

दुवै कार्यशाला गोष्ठीको सञ्चालन लिटिल एन्सजल्स कलेज अफ म्यानेजमेन्टका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेल तथा डा. स्मृति कला पन्तले गरेका थिए ।

डा. मित्रबन्धु पौडेलद्वारा सञ्चालित विराटनगरको गोष्टीमा कलेजमा उद्यमशीलता वातावरण सिर्जना र पालनपोषण, कलेज तथा विश्वविद्यालयमा इन्क्युबेशन सेन्टर वा व्यावसायिक क्लिनिक स्थापना गर्ने, विद्यार्थीहरूको नेतृत्वमा हाट बजार व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो भने शिक्षण सिकाउन भावनात्मक बुद्धिको भूमिका, कक्षा कोठा र बाहिर गोलम्यान मोडेलको व्यावहारिकताका विषयमा छलफल गरिएको थियो ।

डा. स्मृती कला पन्तद्वारा सञ्चालित गोष्ठीको दोस्रो सत्रमा वास्तविक संसार र सिकाइका बारेमा छलफल गरिएको थियो । यो सत्रमा मल्टिपल इन्टेलिजेन्स (विद्यार्थीहरूको विविध सीप तथा प्रतिभालाई प्रोत्साहन र प्रशंसा गर्ने), प्रयोगात्मक सिकाइ (नेपालमा सबैभन्दा राम्रो अभ्यास के हो ?), नयाँ सिकाइमा केएसए कि आस्क ? कोभिड महामारीपछि शिक्षण सिकाइ कसरी विकसित भएको छ ? आदि विषयमा छलफल गरिएको थियो ।

आयोजक संस्थाले विराटनगरको गोष्ठीमा सक्रियतापूर्वक सहभागिता जनाउँदै महत्त्वपूर्ण टिप्पणीका साथ प्रतिबद्धता व्यक्त गर्ने हिसानका उपाध्यक्ष भेषराज पोखरेलप्रति धन्यवाद ज्ञापन गरेको छ ।

जनकपुरको गोष्ठीमा शिक्षण सिकाइमा देखिएका चुनौती, विश्वमै रहेको उत्कृष्ट शिक्षण सिकाइका पद्धतिहरूको विषयमा चर्चा गरिएको प्रधानाध्यापक पौडेलले बताए । पौडेलले कुनै पनि क्षेत्रको विकासका लागि त्यहाँको मौलिकताका विषयमा विद्यालय स्तरबाटै विद्यार्थीहरूमा ज्ञान हुनु आवश्यक रहेको धारणा व्यक्त गरे ।

जनकपुरधामको गोष्ठीमा पौडेलले भने, ‘जनकपुरधाम धार्मिक पर्यटनको हब बन्न सक्छ । यहाँ रामायण सर्किटको काम हुँदै छ, जनकपुरधामको मत्स्य पालन, मिथिला चित्रकला लगायतका थुप्रै विषयमा केस स्टडीको माध्यमले शिक्षण सिकाइमा सामिल गर्न सकिने छ ।’

यी विषयहरूले समेत व्यावसायिक रूपमा विकास गर्न मद्दत पुर्‍याउने पोडेलको भनाइ थियो । यसका साथै जनकपुरधाममा शिक्षण सिकाइको क्षेत्रमा थुप्रै काम गर्न बाँकी रहेको उनले बताए । अहिले पनि यहाँका विद्यालयहरू विद्यार्थीको सर्वाङ्गिण विकासको दिशामा काम गर्नुको साटो परीक्षा केन्द्रित शिक्षामै लागेकोमा गुनासो गरेका थिए ।  


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्