logo-img

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा खेल सम्मान

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनले खेलकुदमा योगदान पुर्याएका बरिष्ठ खेलाडीलाई सम्मान गर्न कार्यक्रम  आयोजना गरेको छ । यस समारोहमा पुरानो पुस्ता र नयाँ आउने युवालाई सम्मान प्रदान गरिन्छ । यस समारोहलाई शरद चन्द्र शाहा मेमोरियल फाउन्डेसन स्पोर्टस अवार्ड–२०२४ नाम दिएको छ ।  

यसपालि प्रख्यात ओलम्पियन बैकुण्ठ मानन्धरलाई यो सम्मान प्रदान गरिने भएको छ । मानन्धर नेपाली म्याराथन धावक हुन् । उनले सन् १९७६ देखि १९८८ सम्म लगातार चार ओलम्पिक खेलहरूमा प्रतिस्पर्धा गरे ।  उनले दक्षिण एसियाली खेलकुदमा लगातार तीनवटा स्वर्ण पदक जितेर रेकर्ड बनाएका छन् । अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उत्कृष्ट ऐतिहासिक प्रदर्शनका लागि उनी चर्चित छन्।  

फाउण्डेसनको अर्को खेलकुद पुरस्कार खेलकुद क्षेत्रमा उदाउँदो प्रतिभा ओलम्पियन अरिका गुरुङलाई प्रदान गरिने भएको छ ।  उनी एसियाली र अन्तर्राष्ट्रिय खेलकुद–मार्शल आर्ट्स,करातेमा उल्लेखनीय प्रदर्शनकालागि चर्चित छिन । हालै उनले चीनमा भएको १९औ एशियन गेम्समा पनि ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् । पुरस्कार स्वरूप प्रत्येकलाई  दुई लाख पचास हजार रुपियाँ सम्मान स्वरुप प्रदान गरिनेछ ।  

शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसन स्वर्गीय शरद चन्द्र शाहाको सम्झनामा उनका परिवारजनद्वारा  २०२० नोभेम्बर ३० मा स्थापना गरिएको हो ।  शरद चन्द्र शाहा नेपाली खेलकुद इतिहासमा परिवर्तन ल्याउने व्यक्तिका रुपमा प्रख्यात छन । उनी एसियाली ओलम्पिक परिषद्को उपाध्यक्षको रूपमा सेवा गर्ने पहिलो नेपाली थिए ।  नेपालमा राष्ट्रिय खेलकुदको सुरुवात र ओलम्पिक गतिविधि ल्याउने व्यक्ति स्व शाहा नै थिए । उनी २०३४ देखि २०४५ सालसम्म राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटिको अध्यक्ष समेत रहेका थिए । उनी नेपालको राष्ट्रिय प्रतियोगिता तथा दक्षिण एसियाली खेलकुदको योजनाकार पनि हुन् । 

फाउण्डेसनको मुख्य उद्देश्य राष्ट्रको खेलकुद विकास गतिविधिहरूमा निम्नरुपमा सुधारका लागि समर्पित अथवा कुनै पनि किसिमले योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहन, सहायता, र पहिचान तथा सम्मान प्रदान गर्नु हो ।  

विगतका दिनहरुमा शरद चन्द्र शाहा मेमोरियल फाउण्डेसनद्वारा नेपाल स्पोर्टस फर अल कमिसनको सहकार्यमा ‘नेपालको खेलकुदमा नयाँ युगको प्रारम्भ’ र ‘स्पोर्टस’ नामक फोटो प्रदर्शनी आयोजना गरिएको थियो ।  ओलम्पिक डे–२०२२ को अवसरमा उद्घाटन गरिएको यो प्रदर्शनी पाँचदिनसम्म संचालन गरिएको थियो । यस फाउण्डेसनद्वारा २०८० असार २६ मा नवीन अर्यालद्वारा लिखित ‘नेपाली खेलकुदको वृतान्त’ नामक पुस्तक पनि सार्वजनिक गरिएको थियो ।   


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्