logo-img

नेपालमा जलस्रोत विकासको सम्भावना
  • गौरव लम्साल 

पृथ्वीको चार भागमा तीन भाग पानी र एक भाग मात्र जमिनले ढाकेको छ । पृथ्वीमा करिब एक सय ५० करोड घन किलोमिटरभन्दा बढी पानी छ । जसमध्ये करिब तीन प्रतिशत मात्र हाम्रो जीवनका लागि उपयुक्त शुद्ध पानी छ । यसमा पनि लगभग ७५ प्रतिशत जति पानी पृथ्वीको ध्रुवीय क्षेत्रमा हिउँको रूपमा जम्मा भएर रहेको हुन्छ । पानीको बाँकी  अंशमध्ये ठूला ताल र भूमिगत रूपमा रहेको पानीलाई कटाउँदा शुद्ध पानी शून्य दशमलव ०२७० प्रतिशत मात्र उपयोगमा आउँछ । प्राचीन सभ्यताको उत्थान र विकास पनि नदीकै किनारमा भएको कुरा हामी मिश्र, मेसोपोटामिया ह्वाङ्गो, सिन्धुघाँटी र नेपालका कोशी, गण्डकी, र कर्णालीका बेसीहरूको इतिहासबाट पनि थाहा पाउन सकिन्छ ।

सृष्टि र विकाससम्बन्धी पानी या नदीको यस्तै देन भएर होला वेदमा ‘आ पो ब्रम्ह’ भनिएको पनि छ । ‘जल’ यस्तो वस्तु हो जसले मानव, पशुपन्छी र वनस्पतिलाई समेत जीवनदान दिन्छ । नेपालको कुल क्षेत्रफलमध्ये १८ प्रतिशत अंश पानी तथा हिउँले ढाकिएको छ । जसमध्ये २ दशमलव ७ प्रतिशतमा पानी रहेको छ भने १५ दशमलव ३ प्रतिशत हिउँले ढाकिएको जमिन पर्दछ । नेपालमा बगिरहेका नदीनालाहरूको सङ्ख्या छ नेपाल समुद्रबाट टाढा छ अर्थात् यो भूपरिवेष्टित छ । समुद्रको किनारमा नभए पनि जल सम्पदाको दृष्टिले ब्राजिलपछिको संसारको दोस्रो धनी मुलुक नेपाल हो ।

सन् १९११ मा १५ सय किलोवाटको फर्पिङ जलविद्युत् गृह निर्माण भएर सुरु भएको नेपालको जलस्रोत विकासको पहिलो पाइलाअन्तर्गत १९२७ मा निर्माण भएका चन्द्र नहर र जुद्ध नहर सिँचाइ आयोजनाहरू हुन् । त्यसपछि सन् १९३५ मा सुन्दरी जल विद्युत् गृह र पछि १३ सय किलोवाटको लेटाङ सिखगस जलविद्युत् गृह उपत्यकाबाहिर मोरङमा निर्माण भएका थिए । पहिलो पञ्चवर्षीय योजना २०१३–२०१८ सुरु हुनुभन्दा अघि नेपालमा जम्मा ६३८० किवा विद्युत् उत्पादन हुन्थ्यो । 

अहिले नेपालमा विभिन्न आयोजनाहरूबाट १ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन हुन्छ । यहीअनुसार आपूर्तिको निर्माण कार्य भइरहेको छ । नेपाललाई चाहिने विद्युत् उत्पादनका लागि निर्माण गर्नुपर्ने योजनाहरू सुप्रगण्डकी आयोजना २ सय २५ मेगावाट, अरुण जलविद्युत् योजना प्रथम चरण २ सय मेगावाट, दोस्रो चरण २ सय मेगावाट, बुढी गण्डकी ६ सय मेगावाट, काली गण्डकी दोस्रो चरण ५ सय मेगावाट । बागमती बहुउद्देश्यीय आयोजनालगायत छन् । 

नेपालमा विद्युत् विकासका दुई वटा पाटा छन् । पहिलो, नेपाललाई चाहिने विद्युत् उत्पादन र अर्को, ठूला जलविद्युत् आयोजना निर्माण गरेर सस्तो बिजुली भारत र बंगलादेशलाई बेच्ने । भारतले चाख लिएका योजनाहरूमध्ये पञ्चेश्वर ७ हजार मेगावाट, कर्णाली १० हजार मेगावाट, कोसी हाइड्याम ७ हजार मेगावाटजस्ता छन् । 

नेपालमा १२ वटा बाँध बनाएर जलभण्डारण गरी हिउँदमा ५ सय क्युसेक पानीबाट १५ सय मेगावाट विद्युत् उत्पादन गरी भारत र बंगलादेशलाई बेच्न सकिन्छ । यो पानी भारत र बंगलादेशलाई सिँचाइ र अरू कामका लागि उपलब्ध गराउन सकिन्छ । नेपालमा सिँचाइयोग्य जमिन ३० लाख हेक्टर छ, जसमध्ये १० लाख हेक्टरमा सिँचाइ भइसकेको छ । हाम्रो देशमा पानी धेरै भएकाले भारतलाई दिन सकिन्छ । भारतले नेपालको जलस्रोत विकासमा आर्थिक व्यवस्थापकीय आदि साझेदारी चाहन्छ र आफ्नो बलियो पकड चाहन्छ । 

नेपालजस्तो कृषिप्रधान देशमा सिँचाइको समुचित विकास गरेर कृषि उत्पादकत्व बढाउन आवश्यक छ । ९० प्रतिशत जनशक्ति निर्भर रहेको कृषिबाट कुल राष्ट्रिय उत्पादनमा करिब ६६ प्रतिशत योगदान छ । उत्पादन बढाउन सिँचाइको समुचित विकास जरुरी हुन्छ । नेपालका अधिकांश खोलानालाहरूबाट सरदर २ सय अर्ब क्युबिक पानी बगेको पाइन्छ । जमिनमुनि तराईमा करिब ६३ अर्ब क्युबिक पानी हुन सक्ने अनुमान छ । अहिले कञ्चनपुर योजनाबाट ६५ सय हेक्टर सिँचाइ भएको छ भने शारदा योजनाबाट धनुषा–सिराहामा २८ सय हेक्टर सिँचाइ भएको छ ।

त्यस्तै, राप्तीबाट बाँकेमा ३८ सय हेक्टरमा, लोथरबाट १२ सय हेक्टरमा, राजापुरबाट १३ सय हेक्टर, बारागंगाबाट ८ हजार हेक्टरमा सिँचाइ हुनेछ भने सुनसरी–मोरङबाट ६६ हजार हेक्टर, कोसीबाट नेपालमा २ लाख हेक्टर, बबई सिँचाइबाट ४३ हजार हेक्टर, गण्डक योजनाबाट ४० हजार हेक्टर, बबई योजनाबाट ४ हजार हेक्टर सिँचाइको व्यवस्था भएको देखिन्छ । अब पश्चिमदेखि पूर्वसम्म पावरजोनको एरियामा सबै नदीनाला त्यो क्यानलसँग जोडिएर तराईको सबै भागमा क्यानल नेटवर्कमार्फत सिँचाइ गर्ने वेला आएको छ । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्