धनगढी भारतको आलु सस्ताई खाँदा वाँ’का
यति निका सस्ता आलु अब खान्ना काँ’का?
मंगलबार अपराह्नतिर कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकाबहादुर विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेको देउडा गीतको एक लाइन हो यो ।
कोहीपन किन्दाईन भन्ना बझाङका आलु
तम्रो अड्डा घेर्छौं भन्दा बचाउनु छ तालु
प्रमुख विष्टले बझाङका गाउँबस्तीमा उत्पादन भएका आलु बिक्री गर्नका लागि धनगढी पुर्याए पश्चात् देउडा गीतमार्फत मेहनत, निराशासँगै आशा व्यक्त गरेका हुन् ।
दुई वर्ष अघिसम्म बझाङ बासीले वार्षिक करिब एक करोडको आलु उत्पादन गर्ने गरेको तथ्याङ्क भेटिन्छ । संघ र प्रदेश सरकारले बझाङमा आलु उत्पादन गर्नका लागि कार्यक्रम सञ्चालन गरे पनि खासै प्रभावकारी हुन सकेको थिएन । आलु उत्पादनको लागि उपयुक्त भूगोल तथा हावा पानी भएतापनि उत्पादन भने हुन सकेको थिएन । किसानहरूले वर्षेनी आलु रोपे पनि त्यसले राम्रो उत्पादन दिइरहेको थिएन ।
२०७६ को अन्त्यतिर कृषि ज्ञान केन्द्रको प्रमुखमा टेक बहादुर विष्ट सरुवा भएर आएपछि आलु उत्पादन हुने जिल्लामा किन आत्मनिर्भर हुन सकेको छैन? उनले गाउँ गाउँमा किसानहरूसँग अन्तरक्रिया गरे । प्रमुख विष्टले किसानहरूसँग अन्तरक्रिया गर्दा धेरैलाई आलु रोप्ने समय, विधि, गोडमेल तरिका थाहा नभएको भेटियो । आलुमा रोग, प्रकोप आए समाधान गर्ने तरिका किसानहरूसँग थिएन । जसले गर्दा धेरै भूभागमा आलु रोपे पनि उत्पादनमा वृद्धि भएको थिएन ।
विष्टले गाउँ गाउँमा गएर कृषकलाई आलु रोप्ने तौर तरिका सिकाउन थाले । रोग, प्रकोपका विधि बताए । उत्पादन भएको आलुलाई बजारमा खपत गर्ने जिम्मा आफूले लिन्छ भनेर आश्वासन पनि दिए । ‘सरकारले बझाङलाई आलु उत्पादन हुने जिल्लाको सूचीमा राखे पनि उत्पादन नभएको हुनाले यसलाई मैले ‘हिट’ गर्न खोजेकै हो । कृषि ज्ञान केन्द्रले गर्ने सबै काम गर्छ तपाईँहरू उत्पादन गर्नुस् । हामीले मिहिनेत गरे बाहिरबाट आउने आलुलाई एक वर्षमै रोक्न सक्छौँ । तपाईँहरूले उत्पादन गरेको आलुको मूल्य दिने जिम्मा म लिन्छु । ठुलो साहस गरेर भनेको थिएँ,’ विष्ट सुरुवातका दिन सम्झिन्छन् ।
अहिले बझाङका स्थानीय बजारमा गाउँ गाउँको आलुका परिकार पाक्छन् । आयात शून्यमा झरेको छ । वर्षेनी करोडौँको आलु आयात गर्ने बझाङले अहिले आलु निर्यात गर्न सुरु गरेको छ । अहिले प्रमुख विष्ट बझाङका गाउँबस्तीमा उत्पादन भएका आलुको मूल्य खोजी रहेका छन् ।
विष्टले दुर्गाथली, बुंगल, छविसपाथिभेरा लगायतका गाउँमा उत्पादन भएका आलु बजार खोज्दै प्रदेश राजधानी धनगढीसम्म पुर्याएका थिए । तर, बझाङको प्राङ्गारिक मलमा उत्पादन भएका, पौष्टिक तत्त्व र स्वादले भरिपूर्ण आलुले धनगढीमा उपभोक्ता खिच्न सकेनन् । मंगलबार विष्टले सामाजिक सञ्जालमा लेखेका देउडा गीतले आलुको आयातदेखि आत्मनिर्भरता र निर्यातसम्मको मर्म बोकेको छ ।
धनगढीमा बझाङका आलुले उपभोक्ता पाउन केही समय लाग्ने विष्ट बताउँछन् । उनी भन्छन्, ‘उपभोक्ताको फिडिङ् ह्याबिटले पनि प्रभाव पार्छ । अहिलेसम्म उपभोक्ताले भारतबाट आयात गरिएको आलु खाइरहेका छन् । हामीले बजारमा पठाएको आलु उपभोक्ताका लागि नयाँ जस्तै हो । तर, बिस्तारै हाम्रो आलुले बजार लिन्छ ।’
बजारमा लामो समयदेखि व्यावसायिक रूपमा भित्रिएको आलुसँग बझाङका आलुले प्रतिस्पर्धा गर्नको लागि किसानहरूलाई अझै दक्ष बनाउनु पर्ने आवश्यकता रहेको विष्टले औँल्याए । ‘हामी भर्खर आलुको व्यावसायिक बाटोतिर अगाडि बढेका छौँ । बजारमा भएको आलु ग्रेडिङ भएर प्याकेजिङ भएको हुन्छ । बाहिरबाटै हेर्दा सफा र आकर्षक देखिन्छ,’ उनले भने ‘हाम्रा कृषकहरूलाई आलु ग्रेडिङ, प्याकिङ तथा सरसफाइका बारेमा दक्ष बनाउन आवश्यक छ ।’
आलु उत्पादन हुने मौसममा बजारमा धेरै आउने भएकाले जिल्लामा उत्पादन भएको आलुलाई भण्डारण गर्नका लागि चिस्यान गृह ‘कोल्ड स्टोर’ को अति नै खाँचो भएको विष्टले बताए । कोल्ट स्टोरको अभाव हुँदा जिल्लामा उत्पादन हुने आलु, बन्दा, भाङ्गो लगायतको तरकारी खेर गइरहेको उनको गुनासो छ ।
विष्टले सामाजिक सञ्जालमा देउडा गीतमार्फत बझाङका आलुले बजार पाउन नसकेको दर्साएपछि धेरैको ध्यानाकर्षण भएको छ । सोही स्ट्याटसलाई देखेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयका डा. राजेन्द्र मिश्रले बझाङमा कोल्ड स्टोर बनाउनका लागि संघीय सरकारबाट तीन करोड बजेट विनियोजन गर्ने जानकारी गराएको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।