भीमार्जुन आचार्य भन्छन्– संसद सचिवालयका महासचिवले केटाकेटी काम गरे

१ फागुनमा संसदमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै बुधबार संघीय संसद सचिवालयका महासचिवले उनलाई पत्र दिए ।

मंगलबार नै अघिल्लो संसदको कार्यकाल सकिएको र नयाँ निर्वाचन भएको भन्दै आफूमाथि लागेको महाअभियोग निष्प्रभावी भएको विषयमा जानकारी पाउन चोलेन्द्रशम्शेरले संसद सचिवालयमा निवेदन दिएका थिए । 

संसद सचिवालयका महासचिव डा. भरतरात गौतमले उनीविरुद्धको महाअभियोग निष्प्रभावी भएको चिठी दिएपछि देशको राजनीति तरंगित भएको छ । चोलेन्द्रले आजै आफू सर्वोच्च अदालत जाने बताए पछि नेपाल बार एशोसिएसनले आकस्मिक बैठक बसेर उनलाई अदालतमा प्रवेश गर्न नदिने निर्णय गरेको छ । 

कानुन व्यवसायीहरु अहिले सर्वोच्च अदालतको गेटमा धर्नामा बसेका छन् ।

अर्कोतिर, चोलेन्द्रशम्शेर जबरा सर्वोच्च जाने तयारी गरिरहेका छन् ।

यही विषयमा हामीले संविधानविद् भीमार्जुन आचार्यसँग कुराकानी गरेका थियौँ । आचार्यले संघीय संसदका महासचिवले हचुवामा काम गरेको टिप्पणी गरे । उनले यो महासचिवको केटाकेटी काम भएको र यसमा टिप्पणी गर्न लायक कुरा नै नभएको पनि बताए ।



‘चोलेन्द्रशम्शेर जबराले आफूमाथि लागेको महाअभियोग के भयो भनेर सोध्नु सामान्य हो, नयाँ संसद आउने भए पछि अघिल्लो संसदको काम के हुन्छ र आफूमाथिको महाअभियोग निष्प्रभावी भयो भनेर उहाँले दाबी गर्नु एउटा कुरा हो,’ आचार्यले फरकधारसँग भने, ‘तर, संघीय संसदका महासचिवले जे चिठी लेख्नुभयो, त्यो केटाकेटी काम हो, यो टिप्पणी गर्न लायक विषय नै होइन ।’ उनले प्रशासनिक काम गर्ने व्यक्तिले महाअभियोगमाथि प्रष्टिकरण दिन नमिल्ने पनि बताए ।



  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १५:२१:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया