शुक्रबार त्रिविकाे ४८औँ दीक्षान्त समारोह, १० हजार विद्यार्थी दीक्षित हुँदै

त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मंसिर २३) गते हुने भएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक क्याम्पसको खेल मैदानमा हुने भएको हो ।  दीक्षान्त मूल समारोह समितिका सदस्यसचिव साधुराम अर्यालका अनुसार समारोहमा १० हजार तीन सय ९२ विद्यार्थी दीक्षित हुँदै छन् ।

०७८ असार १ गतेदेखि २०७९ जेठ मसान्तभित्रसम्म ट्रान्सक्रिप्ट लिएका विद्यार्थी दीक्षान्त समारोहमा भाग लिन पाउनेछन् । उनले उक्त समयावधिमा ७० हजार विद्यार्थीले ट्रान्सक्रिप्ट लिए पनि सहभागीका लागि १० हजार तीन सय ९२ जनाले मात्र आवेदन दिएको बताए ।

उनका अनुसार स्नातक तहतर्फ छ हजार छ सय ९१, स्नातकोत्तरतर्फ तीन हजार पाँच ४९, एमफिल ५५ र विद्यावारीधितर्फ ९७ जना दीक्षित हुँदै छन् । समारोहमा दीक्षित हुने विद्यार्थीका एक जना अभिभावक सहभागी हुनेछन् ।  

स्नातकतर्फ रु तीन हजार सात सय, स्नातकोत्तर तह र एमफिलमा दुवैमा रु चार हजार दुई सय तथा विद्यावारिधिमा रु चार हजार सात सय शुल्क लाग्नेछ । समारोहमा त्रिविका कुलपति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, सहकुलपति तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल लगायतको सहभागिता रहनेछ । 

समारोह समितिका सदस्य सचिव साधुराम अर्यालले समारोहको प्रमुख अतिथिका रुपमा भारतको सेन्टर युनिभर्सिटी अफ पञ्जावका पूर्व उपकुलपति राघवेन्द्र पी तिवारीलाई बोलाइएको जानकारी दिए । एमफिल, विद्यावारीधि र सर्वोकृष्ट अंक ल्याउनेलाई पदक वितरण गरिनेछ । त्रिविले समारोहमा दीक्षित हुने विद्यार्थीलाई यही मंसिर १५ देखि २२ गतेसम्म गाउन/स्कार्फ वितरण गरिरहेको छ । 

समारोहमा छात्रले आफूखुसी पोसाकमा कोट, पाइन्ट, टाई र भादगाउँले टोपीसहित त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी तथा छात्राले औपचारिक पोसाक वा साडी, ब्लाउज र त्रिविले उपलब्ध गराएको गाउन/स्कार्फ टोपी लगाउनुपर्ने हुन्छ । त्रिविले हरेक वर्ष दीक्षान्त समारोह गर्दै आइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १५:४९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया