न्याय सम्पादनमा देखिएका समस्या क्रमशः समाधानउन्मुख : कामु प्रधानन्यायाधीश कार्की
फरकधार / २८ मंसिर, २०७९

सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्याय सम्पादनमा देखिएका समस्या क्रमशः समाधान उन्मुख भएको बताएका छन् । उनले सामूहिक प्रयासमा न्याय सम्पादनलाई प्रभावकारी बनाउँदै पाँच वर्ष नाघेका मुद्दालाई छुट्टै व्यवस्थापन गरी फर्छ्यौट गर्न थालिएको बताए । 



आज उच्च अदालत पोखरा बागलुङ इजलास भवनको यहाँ आयोजित शिलान्यास कार्यक्रममा उनले सर्वोच्च अदालतले गोलाप्रथाद्वारा न्याय सम्पादन गर्ने, पाँच वर्ष नाघेका मुद्दाको छुट्टै व्यवस्थापन गर्ने र न्यायालयमा विचलन आउन नदिन न्यायालय सुधारका धेरै योजना अहिले कार्यान्वयनको चरणमा रहेको बताए ।

'न्यायालयमा केही समस्या नभएका होइनन्, छन्, त्यसलाई बिस्तारै सुधार गर्न लागिएको छ, अहिले गोलाप्रथाद्वारा न्याय सम्पादन भइरहेको छ, पाँच वर्ष बढीका मुद्दालाई तीव्र रुपमा फर्छ्यौट गर्ने कार्य भइरहेको छ,'कार्कीले भने, 'अल्पकालीन अन्तरिम आदेश लिएर लामो समय अल्झाउने कार्यलाई अहिले एक हप्ताभित्रै ल्याएका छौँ, सामूहिक प्रयासमा मात्रै न्याय सम्पादन सहज बनाउन सकिन्छ ।'



उनले अदालतका पूर्वाधार गुणस्तरीय हुनुपर्नेमा जोड दिए । विसं २०७२ को भूकम्पले क्षति पुगेको भवन सात वर्षपछि पुनः निर्माण थालिएको र ३० महिनाभित्र अदालतको मुख्य भवन तथा आवास निर्माण सक्नेगरी रु ५७ करोड ४२ लाखमा श्यामसुन्दर पशुपति जेभी काठमाडौंले ठेक्कामार्फत काम सुरु गरेको उनले बताए । अहिले उच्च अदालतको पुरानो भवन भत्काउने कार्यले तीव्रता पाएको छ । 



  • प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार १७:५६:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया