logo-img

‘बालबालिकामा मानसिक समस्या निम्तिन नदिन अभिभावककै भूमिका महत्वपूर्ण’

बालबालिकामा मानसिक स्वास्थ्य समस्या निम्तिन नदिन अभिभावककै भूमिका महत्वपूर्ण हुने मानसिक स्वास्थ्य परामर्श केन्द्र (सीएमसी) नेपाल मधेस प्रदेशका परियोजना संयोजक अनिरुद्ध मुखियाले बताएका छन् । शुक्रबार सञ्चारकर्मीहरूसँग जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक मुखियाले नेपालमा बालबालिकाको मानसिक स्वास्थ्यलाई शारीरिक स्वास्थ्यभन्दा पृथक रुपमा हेरिने गरिएको बताएका हुन् । 

बालबालिकामा डरत्रास बढाउने सन्देश प्रवाह गर्न नहुनेमा उनको जोड छ । बालबालिकाको मानसिक स्वास्थ्यले समग्र राष्ट्रको स्वास्थ्य अवस्था निर्धारण गर्ने भएकोले मानसिक स्वास्थ्यलाई जनस्वास्थ्यको महत्वपूर्ण हिस्साका रूपमा लिई उपयुक्त कार्यविधि, योजना, कार्यक्रम, नीति तथा कानून तयार गर्ने जिम्मेवारी सरकारको रहेको उनले बताए । अभिभावकबाट पर्याप्त समय नपाएका बालबालिकामा मानसिक समस्या बढी देखिएको मुखियाको भनाइ थियो । 

उनले भने्, ‘परिवारमा रहेका ठूला मान्छे पनि मानसिक रूपमा स्वस्थ रहे बालबालिकाको मनोबल उच्च रहन्छ ।’कार्यक्रममा सीएमसी नेपालकी कार्यक्रम अधिकृत संगिता कर्णले बालबालिकाको मानसिक स्वास्थ्यलाई हेर्ने र व्यवहार गर्ने कुरामा स्पष्टता नहुँदा अनेक समस्याहरू देखापरेको बताइन् । उनले बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धी सरकारको स्पष्ट दृष्टिकोण नभएकाले यसलाई नियमन र व्यवस्थापन गर्ने विषयमा अन्योल रहेकोसमेत सुनाइन् । 

उनले आफूहरूसँग बालबालिकाको मानसिक स्वास्थ्य सम्बन्धी उपयुक्त र यथेष्ट तथ्याङ्क नहुँदा सम्बन्धित विषयमा योजना तर्जुमा गर्न समेत अप्ठेरो परिरहेको जिकिर गरिन् । उनले मानसिक स्वास्थ्य क्षेत्रको नियमन र व्यवस्थापनका लागि अविलम्ब उपयुक्त कानून तथा नीतिगत व्यवस्थाको आवश्यकता रहेको बताइन् । 

सीएमसी नेपालले देशभरका ५४ जिल्लाका २५० स्थानीय तहहरूको सामुदायिक विद्यालयमा बाल मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । मधेस प्रदेशका सिरहा र धनुषा जिल्लाका तिनवटा पालिकामा हाल यो कार्यक्रम सञ्चालनमा रहेको छ । जसमध्ये सिरहाको लहान नगरपालिकाका २१, धनगढीमाई नगरपालिकाका २० र धनुषाको धनौजी गाउँपालिकाका ८ वटा सामुदायिक विद्यालयहरूमा बाल मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा रहेको छ । 





  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार २०:७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया