logo-img

नवनिर्वाचित सांसदको शपथका लागि यसरी तयारी गर्दैछ संसद् सचिवालय

संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउने तयारी थालेको छ । ​नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ ।

ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्राचार गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही १० पुसभित्र प्रधानमन्त्रीका लागि दाबी पेस गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन् ।

हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ । कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको  तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ । 

सचिवालय प्राप्त तथ्यांकअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए । उनीहरूले मैथिली, थारू, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दु, तामाङ भाषामा शपथ लिएका थिए ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई सङ्घीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब ५ हजार आठ सय रुपैयाँको लागतमा तयार भएको हो । शपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।  ​





  • प्रकाशित मिति : पुस ४, २०७९ साेमबार ९:५६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया