शीतलहरका कारण मधेस प्रदेशका सामुदायिक विद्यालयहरु धमाधम बन्द हुन थालेका छन् । अत्यधिक जाडो बढेपछि प्रदेशका आठवटै जिल्लाका स्थानीय तहहरुले सामुदायिक विद्यालयहरुमा धमाधम जाडो बिदा दिन थालेका हुन् ।
मधेस प्रदेशमा अहिलेसम्म धनुषा, महोत्तरी, सिरहा र बारा जिल्लाका सामुदायिक विद्यालयहरु बन्द गरिएका छन् । विद्यालय बन्द गर्नेहरुमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका, सबैला नगरपालिका, हंसपुर नगरपालिका र मिथिला बिहारी नगरपालिका गरी चारवटा पालिकाहरु रहेका छन् ।
त्यस्तै, महोत्तरीको औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनमा गाउँपालिका, जलेश्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका, भंगहा नगरपालिका र मट्टिहानी नगरपालिका गरी ९ पालिकाका सामुदायिक विद्यालयहरु पनि बन्द गरिएका छन् ।
उता, सिरहाको मिर्चैया नगरपालिका र बाराको कलैया उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरु पनि बन्द गरिएका छन् ।
अधिकांश विद्यालयहरुमा पुस २२ गतेसम्म जाडो बिदा दिइएको छ भने महोत्तरीको पिपरा गाउँपालिका र जलेश्वर नगरपालिकामा २६ गतेसम्मका लागि बिदा दिइएको छ ।
बाक्लो हुस्सु लागेर अत्यधिक चिसो बढेपछि अन्य पालिकाहरुले पनि बिदाको तयारी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।