अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

चिसो अत्यधिक बढेपछि कालिकोट ,डोल्पा, हुम्ला, मुगुका विद्यालय बन्द गरिएको छ ।  कर्णालीका हिमाली जिल्लामा मंसिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको छ ।

अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी संकलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारणले यो समयमा विद्यालय बन्द हुने गरेका छन् । 

हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले प्रतिकूल मौसमका कारण बालबालिकाले पुरै समय अध्ययन गर्न नपाउने गरेको बताए । मौसम सुहाउँदो विपत् प्रतिकार्य योजना बनाई घुम्ती विद्यालय सञ्चालन नगरे सम्मा चिसो मौसममा विद्यालयमा पढाइ हुने सम्भावना कम रहेको उनले बताए ।

उच्च हिमपातका कारण माथिल्लो डोल्पामा छ महिना विद्यालय पूर्ण रूपमा बन्द हुन्छन्। सञ्चारको पहुँच नहुँदा वैकल्पिक शिक्षा शिक्षणको सम्भावना छैन। भौगोलिक कठिनाइका कारण बालबालिका तीन घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता छ। हिमाली जिल्लाको भौगोलिक अवस्था अध्ययन गरेर विपत् पूर्वतयारी योजना बनाउनुपर्ने शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख दलबहादुर बस्नेतको बताए ।

दक्ष जनशक्ति अभाव हुँदा गुणस्तरीय शिक्षा हासिल गर्न बालबालिकाले पाएका छैनन्। स्थानीय तहले शिक्षालाई प्राथमिकतामा नराख्नु, अत्यधिक हिउँ परेर चिसो हुनु, भौतिक संरचना कमजोर, सबै विद्यालयमा खानेपानीको असुविधा, पातलो बस्ती, स्थानीय शिक्षा योजना निर्माण नहुनु, स्थानीय पाठ्यक्रम निर्माण नहुनु, सूचना तथा सञ्चारको अभावजस्ता समस्याले गर्दा डोल्पामा विद्यालय चिसो मौसममा बन्द भएका हुन् । 

त्यस्तै, कालिकोटको तिलागुफा नगरपालिका भित्रका सबै विद्यालय माघ १५ गतेसम्मका लागि बन्द गरिएको छ । जिल्लाभरि एक शैक्षिक सत्र अर्थात् वर्षातको समयमा मात्र बिदा गर्ने पालिकाहरूले निर्णय गरे पनि चिसोका कारणले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ । नगरपालिका शिक्षा शाखामा विद्यालय निरीक्षक नवीन हमालले जुम्लासँग सीमा जोडिएको र यो समयमा बग्ने पानी समेत जम्न थालेपछि विद्यालय बन्द गर्नुको विकल्प नभएको बताए। 



कालीकोटमा तापक्रम माइनस ५ रहेको छ । अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सचेत हुन सार्वजनिक सूचना गरेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चिसो देशभरि बढिरहेकाले सूचनाअनुसार जिल्लामा पनि सचेत हुन सूचना जारी गरिएको बताए । हिमाली जिल्ला डोल्पामा समेत विद्यालय बन्द गरिएको छ । चिसोका कारण त्यहाँका विद्यालय बन्द गर्नुपरेको बताएको छ । 

त्यस्तै, मध्यपश्चिम विश्वविद्यालय समेत आज एक सूचना प्रकाशित गरेर माघ ११ गते सम्माको लागि जाडो बिदा दिएको बताएको छ । विश्वविद्यालयभित्र रहेका सबै क्याम्पसले सो जाडो बिदा लागू गर्न निर्देशन समेत दिएका छन् । 



अत्यधिक चिसो बढेको भन्दै २१ दिन बिदा दिने निर्णय गरिएको रजिस्टार प्रा. डाक्टर नारायणप्रसाद पौडेलले जानकारी दिए ।

  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार २०:४३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया