गण्डकी प्रदेश सरकारले केही दिनभित्रैमा पूर्णता पाउने

गण्डकी प्रदेश सरकारले नयाँ मुख्यमन्त्री पाएको ११ दिन बितिसक्दा मन्त्रिपरिषद्ले भने अझै पूर्णता पाउन सकेको छैन । विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका तीन मन्त्रीको जिम्मेवारी बाँडफाँटसमेत भएको छैन ।

मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ कुनै टुंगाे छैन । सरकारका प्रवक्ता एवं मन्त्री सीताकुमारी सुन्दासले केही दिनभित्रैमा सरकारले पूर्णता पाउने बताएकी छिन् । 'मन्त्रालयको संख्या घटाएर मात्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ, मुख्यमन्त्रीज्यूले सुरुदेखि नै यसैमा जोड दिइरहनुभएको छ,' उनले भनिन् ।

सत्तारुढ दलबीच मन्त्रालय घटाउने र मन्त्रीको जिम्मेवारी बाँडफाँटका विषयमा छलफल भइरहेको प्रवक्ता सुन्दासकाे भनाइ छ । दुई–तीन दिनभित्रैमा यो विषय टुंगाेमा पुग्ने उनले बताइन् । हाल रहेका १२ मन्त्रालयलाई घटाएर सातमा पुर्याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तयारी छ ।

यसअघि प्रदेशसभाका उपसभामुखको निर्वाचनलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि त्यसो हुन सकेन । उपसभामुख निर्वाचित भएको पनि चार दिन बितिसकेको छ । मन्त्रालयको जिम्मेवारी नतोकिँदा मन्त्रीहरू कामविहीन स्थितिमा छन् । विभागीय मन्त्री नहुँदा मन्त्रालयका कामकारबाही पनि प्रभावित हुने देखिएको छ ।

गत पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए । विनाविभागीय मन्त्रीको हैसियतामा नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान, नेकपा (एमाले)बाट सीताकुमारी सुन्दास र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चराम गुरुङ रहेका छन् ।





  • प्रकाशित मिति : माघ ५, २०७९ बिहीबार १८:४०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया