मिथिला माध्यमिकी परिक्रमाको आज अन्तिम दिन, हजारौँ श्रद्धालु सहभागी [तस्बिरहरू]

मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज तिर्थालु जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन् । ​पञ्चकोसी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ । अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । 

सोहीअनुरूप अन्तरगृह परिक्रमामा पनि लाखौं भक्तजनले सहभागिता जनाउने गरेका छन् । अन्तरगृह परिक्रमामा लाखौं संख्यामा साधुसन्त, स्थानीयबासी तथा श्रद्धालुको सहभागिता रहेको छ । 

धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारी मठबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरधामको सुन्दर सदनबाट निस्केको किशोरीजीको डोला नेपाल र भारतको विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै सोमबार जनकपुरधाम फर्केर विश्राम गरेको थियो ।

परिक्रमामा सहभागीहरूका लागि यहाँका स्थानीय संघसंस्था एवं युवा क्लबहरूले ठाउँठाउँमा निःशुल्क स्वास्थ्य शिविर, चिया, खाजा लगायतका व्यवस्थापन गरेका छन् । 

अन्तरगृह परिक्रमामा सहभागी श्रद्धालु जनकपुरधामको गंगासागरलगायत यहाँका विभिन्न धार्मिक सरोवरहरूमा स्नान वा सेचन गर्दै राम जानकी मन्दिर एवं विभिन्न देवी देवताको मन्दिरमा दर्शन गरेर कदम चोकमा पुग्दछन् ।



पहिले त्यहाँ विशाल कदमको रुख थियो । हाल त्यहाँ पञ्चमुखी हनुमानजीको मूर्ति स्थापना गरिएको छ । कदम चोकमा पुगेर आफूले राखेको निशानी (पत्थर) हटाएपश्चात् लक्ष्मण सागरमा सेचन गरेर लक्ष्मण अखडामा गदाको दर्शन गर्दै सो स्थानको धुलो उडाएर परिक्रमा समापन गरिन्छ ।



मिथिला परिक्रमाको धार्मिक मान्यता संसारकै सबै तीर्थहरू भन्दामाथि रहेको शास्त्रमा उल्लेख छ । जनकपुरधामको हनुमान नगरस्थित हनुमानगढीबाट विधिवतरूपमा सुरू भएको परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः भारत बिहारको करुणा, विशौल हुँदै जनकपुरधाममा विश्राम गरेर अन्तरगृह परिक्रमा गरेसँगै मिथिलाको महाकुम्भ भनिने १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । 

तस्बिरमा हेरौँ मिथिलामा माध्यमिकी परिक्रमाको उल्लास :

  • प्रकाशित मिति : फागुन २३, २०७९ मंगलबार ८:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया