logo-img

सुदूरपश्चिममा पुनः कोरोना संक्रमण
फाइल फाेटाे

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण पुनः देखिन थालेको छ । कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा  सङ्क्रमण देखिन थालेको छ । 

स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घन्टामा छ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । यो तथ्याङ्कमा केही दिन अघिका कोरोना सङ्क्रमितको सङ्ख्यासमेत समेटिएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घन्टमा तीन सय ९१ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएको थियो । कोरोनाको सङ्क्रमण दर केही बढे पनि रोगले हुने मृत्यु दर भने शून्य छ । निर्देशनालयका कोभिड सम्पर्क व्यक्ति हेमराज जोशीले रोगको रोकथामका लागि सबै जिल्लामा कोरोना भाइरसविरुद्धको बुस्टर डोज (खोपको मात्रा) स्वास्थ्य संस्थामार्फत लगाउन थालिएको जानकारी दिए ।

सरकारले कोभिड–१९ विरुद्धको पूर्ण मात्राको खोप लगाएको तीन महिना पूरा भएका र पहिलो बुस्टर खोप लगाउन छुटेका व्यक्तिलाई पहिलो मात्रा बुस्टर खोप र यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको छ महिना पूरा भएका व्यक्तिलाई दोस्रो बुस्टर मात्रा खोप दिन लागिएको छ ।
  
स्वास्थ्यकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका र ५५ वर्षमाथिका सबै नागरिकलाई बुस्टर खोप लगाउन मिल्ने बताइएको छ ।  कोरोनाको सङ्क्रमण भएकाले सङ्क्रमणमुक्त भएको एक महिनापछि यो बुस्टर डोज लगाउन पाइन्छ ।  

कोरोना भाइरसको समस्या देखिएयता हालसम्म सुदूरपश्चिममा छ लाख ३९ हजार चारसय ८८ को नमूना परीक्षण भइसकेको छ । यीमध्ये ६१ हजार आठ सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार ११:२३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया