मिटरब्याज पीडितहरूले आज काठमाडौंमा विरोध प्रदर्शन गर्ने भएका छन् । पीडितहरूले आज बिहानैदेखि काठमाडौंको टंगालमा विरोध प्रदर्शन गरेका हुन् ।
तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरूले सोमबार खुलामञ्चअघि प्रदर्शन गरेका थिए । तर, प्रहरीले त्यहाँबाट अघि बढ्न नदिएपछि उनीहरू सडकमै धर्नामा बसेका छन् ।
पीडितहरूले महानगरपालिकाले खुलामञ्च प्रवेशमा रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन शाहविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
गएराति खुलामञ्चमा बस्न नपाएर उनीहरू सडकपेटीमा बसे । आज भने त्यहाँबाट हिँड्दै मिटरब्याज पीडितहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले मिटरब्याजीलाई ‘कारबाही गर’, ‘पीडितलाई न्याय दे’, ‘तमसुक व्यवस्था खारेज गर’ लगायतका नारा लगाएर तथा प्लेकार्ड बोकेर विरोध गरिरहेका छन् । यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याजी पीडितहरूलाई भेटेका छन् ।
उनले प्रदर्शनस्थलममै पुगेर पीडितहरूलाई भेटेका हुन् । भेटमा लामिछानेले सरकारले तत्काल मिटरब्याज पीडितहरूको समस्या समाधान गर्नुपर्ने बताए ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफू सरकारमा हुँदा मिटरब्याजको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम थालेको र यसलाई समाधान गर्न कुनै ठूलो समस्या नरहेको बताए ।
उनले आफ्नो पार्टी पीडितहरूको साथमा सदैव रहेको पनि बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।