logo-img

डिजी स्कुलले सिकाउँछ विद्यालय तहबाटै कम्प्युटर कोडिङ

अब नेपालमा विद्यालय तहबाटै कम्प्युटर कोडिङ क्लासको सैद्धान्तिक ज्ञान र सीप पाइन थालेको छ । सन् २०१९ मा स्थापना भएको डिजी स्कुलमा यस्तो अवसर पाइन थालेको हो । 

यस स्कुलमा बालबालिकालाई सानै उमेरदेखि कोडिङ, कम्युटसनल थिंकिङ र सेफ्टीजस्ता विषयको सैद्धान्तिक ज्ञान र सीप सँगसँगै सिकाइने गरिन्छ । नेपालमा आइटीमा क्रान्ति ल्याउने प्रमुख उद्देश्य र प्रतिबद्धताका साथ डिजी स्कुलको स्थापना गरिएको बताउँछन्, स्कुलका संस्थापक अध्यक्ष विज्ञान श्रेष्ठ ।

‘२१ औं शताब्दी भनेकै आइटीको शताब्दी हो । अहिले संसारभरिकै स्कुलहरुमा सानै उमेरदेखि आइटी कोर्सको पढाइ हुन्छ,’ संस्थापक अध्यक्ष श्रेष्ठ भन्छन्, ‘विश्व बजारको प्रतिस्पर्धा नै अब आइटीमा हुँदै छ र संसारकै जनशक्तिको उत्पादन पनि आइटीमा बढ्दै छ ।’ 

जुन देशमा आइटी जनशक्ति धेरै हुन्छ, त्यही देशले फड्को मार्ने दाबी गर्दै उनी थप्छन्, ‘आइटी यस्तो विषय हो, जो हरेक विधा र क्षेत्रमा प्रयोग हुन्छ ।’ हाम्रा छिमेकी देश भारत, चीन, बंगलादेशलगायतले कम्प्युटर शिक्षालाई जोड दिएकै कारण आइटीमा ठूलो फड्को मारिसकेको  उनको भनाइ छ । 

नेपालको शिक्षामा पनि  अबको प्रमुख आवश्यकता आइटी एजुकेसन नै हो भन्ने महसुस गरेर डिजी स्कुलले २१औँ शताब्दीका लागि आवश्यक पर्ने प्रतिस्पर्धी जनशक्ति विद्यालय तहबाटै नेपालमै तयार पार्न सुरु गरेको हो । 



संसारभर अहिले विद्यालयदेखि नै कोडिङ सिकेर विद्यार्थीहरुले ‘फ्रिलान्सिङ आइटी जब’ गर्न थालिसकेका छन् । अझ कतिपय विद्यार्थीले त कम्पनी नै खोलेर सानैदेखि इन्टरप्रेनर बन्न थालेका छन् । यसले सानैदेखि कमाउने र पढ्ने शैलीको पनि विकास भइरहेको छ । 

नेपालमा पनि यसको ठूलो लाभ लिन पढ्ने र पढाउने तरिका थोरै परिर्वतन गरियो भने साना साना विद्यार्थीले भविष्यमा कोडिङबाट पैसा कमाउँदै पढ्न सक्ने हुनेछन् भन्ने विश्वास डिजी स्कुलले लिएको छ । 



‘अबको जमाना भर्चुअल आइटी जब्सको हो, जसमा एकजनाले नेपालमै बसेर संसारभरिका काम गर्न सकिन्छ, श्रेष्ठ भन्छन्, ‘नेपालमा रोजगार छैन भन्नै पर्दैन, संसारकै उत्कृष्ट र राम्रो आम्दानी हुने आइटी जब्स नेपालमै बसेर गर्न सकिन्छ ।’ 

यसले विद्यार्थीको व्यक्तित्व मात्रै विकास गराउँदैन, रेमिट्यान्समार्फत देशको आम्दानी पनि बढाउँछ । भारतले सफ्टवेयर एक्स्पर्टमार्फत मात्रै हरेक वर्ष १० बिलियन डलर कमाउने गरेको छ । यो आम्दानी भारतको आइटी जनशक्ति कारण सम्भव भएको हो । नेपालले पनि त्यही बाटो लिनुपर्नेमा संस्थापक अध्यक्ष श्रेष्ठको जोड छ । उनी भन्छन्, ‘यो एउटा यस्ता अभियान हो, जसमा सारा देश लाग्नुपर्छ र यो स्कुलबाटै सुरु गर्नुपर्छ, किनकि स्कुल भनेको विद्यार्थीका लागि फाउन्डेसन हो ।’

डिजी स्कुल एनसिसी एजुकेसनसँग आबद्ध छ, जसले संसारभरिका स्कुलहरुको पाठ्यक्रम तयार गर्छ, उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्छ र ग्लोबल एक्सपोसर पनि दिन्छ । डिजी स्कुलले ल्याएको आइटी कोर्स अब नेपालका विभिन्न स्कुलमा पढ्न पाइने भएको छ । यसैगरी प्लस टु र ब्याचलर कलेजका लागि साइबर सेक्युरिटी, डाटा साइन्स, र आर्टिफिसियल इन्टेलिजेन्सजस्ता कोर्स पनि डिजी स्कुलले सुरु गरेको छ । 

‘हाम्रो उद्देश्य नेपालका स्कुलहरुलाई डिजिटल स्कुल बनाउने हो, स्कलुका सिइओ राजु बानियाँ भन्छन्, ‘जहाँ सफ्टवेयर र डिजिटल डिभाइस प्रयोग गरी आइटी क्लास पढाउन सकियोस् ।’ बच्चाहरुले सानैदेखि कम्प्युटर रिपेयर, ग्राफिक्स डिजाइन, वेब डिजाइन, भिडियो इडिटिङ, साउन्ड इडिटिङ, थ्रिडी एनिमेसन, थ्रिडी डिजाइन, मोबाइल एप डेभलपमेन्टजस्ता नवयुगका सीपहरु बेलैमा सिक्न पाएमा उनीहरुले पनि रोजगारीको अवसर पाउने र देशको मुहार पनि फेरिने उनको दाबी छ । 

डिजी स्कुलले साझेदार स्कुलका शिक्षकहरुका लागि क्षमता अभिवृद्धि गर्ने तालिम दिँदै अवश्यक विभिन्न सीप पनि प्रदान गर्छ । साथै, सिकाइसँग सम्बन्धित रहेर विभिन्न परियोजना तयार पार्न विद्यार्थी तहमै पुगेर तालिम प्रदान गर्दछ । यसरी निर्माण भएका परियोजना अभिभावकसमक्ष पुरयाउन पनि अहं भूमिका खेल्दछ ।

अब त अभिभावकहरुले पनि स्कुलहरुमा कम्प्युटर क्लास कत्तिको समय सापेक्ष र सान्दर्भिक छ भनेर हेर्न र बुझ्ने अभ्यासको थालनी भएको देखिन्छ । त्यसैले स्कुलले पनि अभिभावकको मनस्थितिलाई ध्यानमा राखेर डिजी स्कुलको समय सापेक्षिक आइटी कोर्स लागू गर्न थालेको सिइओ बानियाँको भनाइ छ । 

 

  • प्रकाशित मिति : चैत २०, २०७९ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया