logo-img

कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो, त्यो दिन सकेको छैन : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुत बनाउन शिक्षक संघको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । 

नेपाल शिक्षक संघको नवौँ संघीय महाधिवेशनको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले पार्टी संगठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताए । 

'पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी संघसँगै शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको थियो,' उनले भने । देउवाले कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेको समेत बताए । 

'पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, कांग्रेसलाई मजबुत बनाउनुपर्छ,' सभापति देउवाले भने । उनले कांग्रेसलाई बहुमत ल्याउने गरी सहयोग गर्न सबैलाई आग्रह समेत गरे । 
 
संघका अध्यक्ष राजेन्द्रराज पौडेलले संविधान निर्माण भएको सात वर्ष पूरा हुँदा पनि संघीय शिक्षा ऐन निर्माण हुन नसक्नु दुःखको कुरा भएको बताए । उनले माओवादी जनयुद्धका क्रममा मारिएका शिक्षकका छोराछोरीलाई सरकारले हेर्न नसकेको गुनासो गरे । 
 
‘गुणस्तरीय शिक्षाको आधार, मर्यादित शिक्षण पेसाको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुरु भएको संघको नवौँ संघीय महाधिवेशनमा देशभरबाट सात सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ ।
 
०४७ वैशाखमा स्थापना भएको नेपाल शिक्षक संघले हाल सातवटै प्रदेश, ७७ वटै जिल्ला, सात सय ५३ वटै स्थानीय तह र छ हजार सात सय ४३ वटै वडामा संगठन विस्तार गरिसकेको छ । नेपाल शिक्षक संघमा हाल देशभर ८० हजारभन्दा बढी शिक्षक सदस्य रहेको अध्यक्ष पौडेलले बताए । 





  • प्रकाशित मिति : चैत २८, २०७९ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया