logo-img

मनाङलाई पराजित गर्दै जावलाखेल शीर्ष स्थानमा, मच्छिन्द्र र एनआरटी बराबरीमा रोकिए

बलियो प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै जावलाखेल युथ क्लव राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा साविक विजेता मच्छिन्द्र न्युरोड टिम (एनआरटी)सँग बराबरीमा रोकिएको छ । 

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिँदा मच्छिन्द्र एनआरटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । मच्छिन्द्रले पहिलो हाफमा लिएको अग्रतालाई कायम राख्न नसक्दा बराबरी खेल्दै एनआरटीसँग अंक बाँडेको हो । 

प्रतिस्पर्धात्मक बनेको खेलमा खेलमा मच्छिन्द्रले सुरुवाती अग्रता निकाल्दा ३९औं मिनेटमा ओमालाजा नुरेन करिमले गोल गरेका थिए । सम्मानजनक प्रदर्शन गरेको एनआरटीविरुद्ध मच्छिन्द्रका प्रशान्त अवस्थीको कर्नरमा करिमले गोल गर्न सफल भएका थिए । एनआरटीका डिफेन्डरले क्लियर गरेको बलमा करिमले बक्स बाहिरबाट आकर्षक गोल गरेका थिए । 

तर, खेलको ६७औं मिनेटमा स्टेफन जुनियरले गोल गर्दै एनआरटीलाई १–१ बराबरीमा फर्काउँदा बाँकी समयमा दुवै टोली गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । स्टेफनले निकोलस सङले उपलब्ध गराएको पासलाई जाली चुमाउन सफल भएका थिए । यस बराबरीसँगै  मच्छिन्द्रले ९ खेलबाट १३ अंक जोडेको छ । मछिन्द्र छैटौं स्थानमा रहेको छ ।

लिग अन्तर्गत शनिबार नै भएको अर्को खेलमा जावलाखेल युथविरुद्ध मनाङ मस्र्याङ्दी निरिह बन्यो । एकतर्फी खेल देखाएको जावलाखेललाई जित दिलाउन एनकोटो मासोबीले दुई गोल गर्दा फोडे फोफानाले एक गोल थपे । अनपेक्षित रुपमा नतिजा निकालेको जावलाखेलले लिगको सर्वाधिक ८ पटकको च्याम्पिन मनाङविरुद्ध खेलको चौथो मिनेटमा मासोबीको गोलबाट अग्रता लिएको थियो । 

त्यसपछि निर्धारित ९० मिनेटको खेलमा मनाङ खेलमा फर्किन असफल भएको थियो । तर खेलको इन्जुरी समयमा जावलाखेलले दुई गोल थप्न सफल भयो । दोस्रो मिनेटमा फोफानाले टोलीका लागि दोस्रो गोल गर्दा चौथो मिनेटमा मासोबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई ३–० को जित दिलाएका हुन् । यस जितसँगै जावलाखेलले ९ खेलमा १७ अंक जोडेको छ । मनाङको १५ अंक भएको छ । 





  • प्रकाशित मिति : वैशाख २, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया