logo-img

स्वास्थ्य बिमा : प्रिमियमभन्दा दाबी भुक्तानी बढी

स्वास्थ्य बिमा बोर्डले बिमा प्रिमियमभन्दा बढी दाबी भुक्तानी गरेको देखिएको छ । बोर्डले हालसम्म बिमा योजनामा सहभागीबाट प्राप्त बिमा प्रिमियमभन्दा १५ अर्ब २९ करोड ५४ लाख रूपैयाँ बढी दाबी भुक्तानी गरेको हो । 

स्वास्थ्य बिमा ऐन, २०७४ को दफा ३ मा प्रत्येक नेपाली नागरिक स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुनुपर्ने व्यवस्था छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार रहेकोमा यस कार्यक्रममा यस वर्षसम्म ५९ लाख ८८ हजार (२०.५३ (प्रतिशत) नागरिक मात्र सहभागी भएको र गत वर्षसम्म सहभागी ४५ लाख ७२ हजार ९८९ मध्ये २९ लाख ८६८ जनाले मात्र बीमा नवीकरण गराएको बोर्डले जनाएको छ । 

बिमा योजना कार्यक्रममा गत वर्षसम्म ६ अर्ब ५६ करोड ८० लाख प्रिमियम प्राप्त भएकोमा यस वर्ष २ अर्ब ४५ करोड ३७ लाख थप भई ९ अर्ब २ करोड १७ लाख रूपैयाँ प्राप्त भएको छ ।
 
बिमितले स्वास्थ्य सेवा लिएको बिल भरपाइका आधारमा बोर्डले यस वर्ष ९ अर्ब ९२ करोड ७ लाख समेत हालसम्म २४ अर्ब ३१ करोड ७१ लाख रूपैयाँ शोधभर्ना भुक्तानी दिएको छ । 

हालसम्म बिमा योजनामा सहभागीबाट प्राप्त बिमा प्रिमियमभन्दा १५ अर्ब २९ करोड ५४ लाख बढी दाबी भुक्तानी भएको देखिएकोले दिगो रूपमा कार्यक्रम सञ्चालन गर्न कठिनाइ हुने देखिएको छ ।

उता, गरिब घरपरिवार पहिचान गर्ने कार्य एक दशक बितिसक्दा पनि सम्पन्न नभएकोले विपन्न नागरिक सुविधाबाट वञ्चित हुनुपरेको अवस्था छ ।

विपन्न परिवारलाई आधारभूत सहुलियत र सुविधा प्रदान गरेर जीवनयापन सहज बनाउने उद्देश्यले २०६९ मा गठन भई २०७५ मा खारेज भएको गरिब घरपरिवार सहयोग समन्वय बोर्डले ६ वर्षको अवधिमा २६ जिल्लामा ३ लाख ९२ हजार गरिब घरपरिवार पहिचान गरेको छ ।
 
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सञ्चालित कार्यक्रमबाट २३ जिल्लाका २ लाख २३ हजार गरिब घरपरिवार पहिचान गरेको र बाँकी २८ जिल्लाको तथ्यांक संकलन गरी गरिब घरपरिवार पहिचान गर्ने कार्य भइरहेको देखिएको छ ।
 
उक्त कार्यक्रममा बोर्डले ४ वर्षको अवधिमा १६ करोड ८३ लाख, मन्त्रालयले ३ वर्षमा ११ करोड ९४ लाख र विगत ३ वर्षमा वित्तीय हस्तान्तरण गरी पठाएको १ अर्ब ३३ करोड १५ लाखसमेत १ अर्ब ६१ करोड ९२ लाख रूपैयाँ खर्च भएको छ । 



नेपाल जीवनस्तर मापन सर्वेक्षण ०६६/६७ को आधारमा सुरु भएको गरिब घरपरिवार पहिचान गर्ने कार्य अहिलेसम्म पनि सम्पन्न नभएकोले विपन्न नागरिक सुविधाबाट वञ्चित हुनुपरेको छ ।



  • प्रकाशित मिति : वैशाख ३, २०८० आइतबार १८:३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया