logo-img

ए डिभिजन लिग : फ्रेण्ड्सले हिमालयन शेर्पालाई ६–० हरायो, चर्च ब्वाइज र थ्रीस्टारको बराबरी

स्टार खेलाडीले भरिएको चर्च ब्वाइज क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा सोमबार थ्रीस्टार क्लबसँग बराबरी खेल्दै अंक बाँड्दा अर्को खेलमा फ्रेण्ड्स क्लबले हिमालयन शेर्पालाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।

च्यासल मैदानमा सम्पन्न खेलमा चर्च ब्वाइज र थ्री स्टारले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यससँगै चर्च ब्वाइजले शीर्ष स्थानको जावलाखेल युथ क्लबसँग अंक बराबरी गर्ने मौका गुमाएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा राम्रा अवसर पाएका थिए । तर, दुवै टोलीका स्ट्राइकरले अवसरलाई सदुपयोग गर्न सकेनन् । सुरुवात बलमा पकड र आक्रामक खेल पस्किए पनि चर्च ब्वाइज गोल निकाल्न असफल भएको थियो ।

खेलको चौथो मिनेटमा गगनदीप सिंहको लामो प्रहार थ्रीस्टारका गोलकिपर मोहमद ताहाले पन्च गर्दै बाहिर पठाएपछि चर्च ब्वाईजको पहिलो अवसर खेर गएको थियो । खेलको ३६ औं मिनेटमा चर्च ब्वाइजका आशिष चापागाईंले गोलको अवसर गुमाए । थ्री  स्टारका पिटर सेगुनबाट बल खोसेर वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टको नजिकैबाट बाहिरिएको थियो । खेलको ७६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईको सशक्त प्रहार थ्री स्टारका गोलकिपर मोहमद ताहाले बचाए । यस बराबरीसँगै थ्री स्टारले ९ खेलमा १५ अंक जोडेको छ । चर्च ब्वाइजले १५ अंक जोडेको छ ।

लिगअन्तर्गत सोमबार नै भएको अर्को खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाविरुद्ध अप्रत्याशित नतिजा निकालेको छ । ललितपुरस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा फ्रेण्ड्सले हिमालयन शेर्पाविरुद्ध ६–० को एकतर्फी जित निकालेको हो । फ्रेण्ड्सको जितमा राफिक अमिनुले दुई गोल गरे भने अमित तामाङ, उत्तम राई, टोरिक जेब्रिन र अखरबेक उक्तामोभले टोलीका लागि एक÷एक गोल गरे । 

यस जितपछि फ्रेण्ड्सले राजधानीमा जारी लिगमा दोस्रो जित निकालेको छ भने ९ खेलबाट तालिकामा ८ अंक बनाएको छ र रेलिगेसन क्षेत्रभन्दा माथि उक्लिएको छ । उता हिमालयन शेर्पाले समान ९ खेलबाट ९ अंक नै जोडेको छ ।

यससँगै सहिद स्मारक ए डिभिजन लिगमा नवौं चरणका खेल पनि सकिएका छन् । जावलाखेल युथ क्लब १७ अंकका साथ तालिकाको शीर्ष स्थानमा अटाउँदा सातदोबाटो युथ क्लब समान अंक भए पनि गोलअन्तरले पछि पर्दै दोस्रो स्थानमा छ । विभागीय टोली नेपाल पुलिस क्लब रेलिगेसन क्षेत्रको अन्तिम स्थानमा छ ।





  • प्रकाशित मिति : वैशाख ४, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया